Home » विचार/ब्लग » यसकारण गरिब छ नेपाल

यसकारण गरिब छ नेपाल

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0
laxmi-subedi

लक्ष्मीकिशोर सुवेदी

हाम्रो अविकास र पछौटेपनका पछि मुख्य दुई कारण छन् । पहिलो– हामी पटकपटकका आन्दोलन र परिवर्तनपछि पनि हाम्रो देश सञ्चालनको पद्धतिका सम्बन्धमा एकमत छैैनौँ । अर्को– अन्तर्राष्ट्रिय कूटनीतिमा हामी अस्थिर, अल्पदृष्टि, अयोग्य र अक्षम भएका छौँ ।

अरू मुलुकको यात्रा अविकसित, अल्पविकसित, विकासशील हुँदै विकसित मुलुकतिर रहन्छ तर हाम्रो देशले त्यो कोर्स समात्न सकेको छैन । एकबेला हाम्रो मुलुकको प्रतिव्यक्ति आय चीन र दक्षिण कोरियाभन्दा बढी थियो भन्दा अहिले हामीलाई विश्वास गर्न कठिन हुन्छ तर यो सत्य र धेरै टाढाको कुरो होइन ।

विगतका दुई चार दशकमा संसारका थुप्रै देशले ठूलो प्रगति गरेका छन्, अपत्यारिलो फड्को मारेका छन् । तिनको त्यो प्रगति उनीहरूकै आन्तरिक प्रयत्न, आत्मविश्वास र मिहिनेतबाट भएको छ । बाहिरी सहयोग र संलग्नताबाट मात्र विकास र समृद्धिमा दुनियाँमा कुनै मुलुकले फड्को मारेका छैनन् । यो यथार्थ हाम्रा नेताहरूले बुझिरहेका छैनन् ।

हामी समग्रमा निरन्तर अधोगतिमा छौँ । समयसँगै केही भौतिक र प्राविधिक उपभोगमा हामी अघि आयौँ होला, हाम्रा खानपान र लवाइखुवाइ बदलिए होलान्, केही आन्दोलन र परिवर्तन पनि ग¥यौँ होला तर नेपाललाई विकास र समृद्धिमा अघि लैजान हामीले किमार्थ सकेका छैनौँ । हामी एउटा अविकसित, गरीब र पछौटे मुलुकको पहिचान बोकेर विश्वसामु हिँडिरहेका छौँ । हाम्रो अविकास र पछौटेपनका पछि मुख्य दुई कारण छन् ।

पहिलो– हामी पटकपटकका आन्दोलन र परिवर्तनपछि पनि हाम्रो देश सञ्चालनको पद्धतिका सम्बन्धमा एकमत छैैनौँ । अर्को– अन्तर्राष्ट्रिय कूटनीतिमा हामी अस्थिर, अल्पदृष्टि, अयोग्य र अक्षम भएका छौँ । आफ्ना आन्तरिक अयोग्यता र बेमेलका कारणबाट सिर्जित समस्यामाथि नजर नलगाई हामी सधैँ आग्रह, आवेश र लहडमा बशीभूत भएर अर्कामाथि धारे हात लगाउँछौँ । आफ्ना कमजोरीका परिणामहरू स्वीकार गर्न हामी डराउँछौ र ती परिणामका कारण अन्यत्र देखाएर आफू क्रान्तिकारी र राष्ट्रवादी देखिन खोज्छौँ । यस्ता कामबाट कुनै लाभ छैन ।

जबसम्म देश सञ्चालनको पद्धतिका सवालमा हामी एकमत हुँदैनौँ, नेपाली विशिष्टता तर नेपाली राष्ट्रियता निश्चित आधारमा एकमत हुँदैनौँ, विभिन्नरूपमा हाम्रा अघि समस्या ढेर लागिरहन्छ । रूप र सन्दर्भ बदलिँदै तिनै समस्याहरू हाम्रा अघि आइरहन्छन् । दलगतरूपमा जो–जो व्यक्ति वा समूह शासनमा आए पनि जबसम्म देशका आधारभूत आन्तरिक नीतिमा हामी एकमत र स्थिर हुँदैनौँ तबसम्म आन्तरिक तनाव र राजनीतिक छिनाझपटीबाट माथि आउन कहिल्यै सक्दैनौँ ।

जबसम्म कूटनीतिका सवालमा सत्तामा रहँदा र सत्ताबाहिर रहँदा आफ्ना दृष्टिकोणमा देखिने अन्तरबाट हामी माथि उठ्दैनौँ तबसम्म हामीले अन्तर्राष्ट्रिय भूमिका र कूटनीतिक सम्बन्धमा, हाम्रा छिमेकीसँगको सहकार्य र विश्वासमा आफूलाई परिपक्व गराउन सक्दैनौँ ।

निःसन्देह, हाम्रा कठिनाइको जरो आफ्ना आन्तरिक कारणहरूमा रहेको छ तर उपचार हामी बाहिरबाट खोजिरेहका छौँ । हामीले के बुझ्न जरुरी छ भने रोगको सही पहिचान गरी ठीक खालको औषधि ठीक मात्रामा, ठीक बेलामा र ठीक ठाउँमा प्रयोग नगरेसम्म रोगबाट मुक्ति सुखद् कल्पना हुनसक्ला तर यथार्थ हुन सक्दैन ।

कूटनीतिक अयोग्यता

यो पङ्क्तिकारले पुष्पकमल दाहाल प्रचण्डको र उनको सरकारको आलोचना गरेको वा गर्न खोजेको होइन । व्यक्तिगतरूपमा कमरेड प्रचण्ड आफैँ सोचाइको अस्थिरता, आवेश र लहडमा आउने तीब्र प्रतिक्रियाको कमजोरीबाट पीडित छन् । उनका कतिपय अभिव्यक्ति उनको पद, परिस्थिति र राजनीतिक कायासँग अमिल्दा र नसुहाउँदा हुने गर्छन् । यसले प्रचण्ड स्वयम्, उनको दल र देश सबैलाई नोक्सानी पु¥याउँछ । यो एउटा पाटो हो तर अहिले यो कुरा यस लेखाइको विषय होइन ।

नेपालको अहिले र केही समयदेखिको निरन्तरको कूटनीतिक विफलताको अवस्था प्रचण्ड, उनको सरकार उनको दल वा उनका सत्ता सहकर्मी कसैको एकल कमजोरीको उपज होइन । अहिले हामी जुन राजनीतिक र कूटनीतिक सङ्कटमा छौँ यो हाम्रा विगतदेखिका कमजोरीहरूको निन्तरताको परिणाम हो । अझै हामीले हाम्रा अभ्यास र व्यवहारको कोर्स परिवर्तन गरेनौँ भने हामी झन् अप्ठेरो अवस्था र दुर्गति भोग्नु पर्नेछ । यही अवस्था रहेमा आउने दिनमा हाम्रा कमजारीहरूका अझ घातक परिणामहरू आउनेछन् ।

अहिले नेपाललाई विश्व शक्तिराष्ट्र र दूई ठूला छिमेकीले विश्वास गर्न छोडेका छन् । कूटनीतिमा विश्वासको खडेरी धेरै ठूलो असजिलो हो । प्रत्यक्ष झगडाभन्दा पनि असजिलो अवस्था हो अविश्वास । सोझो झगडामा देखिएको मुद्दा समाधान भएपछि सकिन्छ तर अविश्वासको अन्त्य सजिलो हुँदैन ।

छिमेकीहरूबाट नेपाललाई अविश्वास गर्ने यो अवस्था कसरी आयो, यो अहिले घोत्लिने र विमर्श गर्नुपर्ने सवाल हो । आफ्ना छिमेकीहरूले आफूलाई मानून् र आफ्नो हित प्रतिकूल नहुन् भन्ने भारत र चीन दुबै चाहन्छन् । के कुरा सत्य हो भने आफूलाई अन्तर्राष्ट्रिय भूमिकामा बलियो र निर्णायक बनाउन चाहने हाम्रा दुबै छिमेकी हामी र अरू साना छिमेकीसँगको किचकिचमा अलमलिन चाहँदैनन् ।

अविश्वासमा रहिरहन चाहँदैनन् तर पनि भारत र चीन दुबैतिर हामीले विश्वास आर्जन गर्न सकेका छैनौँ । यो विषयमा अब नेपाली घोत्लिनु पर्छ र मौजुदा अवस्था सच्याउन नयाँ बाटो पहिल्याउनै पर्छ ।

भारत र चीन दुबैका लागि नेपालसँग जोडिएका चासोहरू सिमित छन् । पहिलो चासो हो– नेपालभित्र रहेर पश्चिमाशक्तिले गर्ने क्रियाकलाप । भारत र चीन दुबै देशको नेपालमाथिको समान चासो भनेको नेपाल भित्रबाट हुनसक्ने सम्भावित पश्चिमा संलग्नता र पश्चिमा संरक्षित क्रियाकलाप हो ।

पश्चिमाशक्ति नेपाललाई यो क्षेत्रको रखवारीको गढीको रूपमा उपयोग गर्न खोजिरहेका छन् । आफ्ना छिमेकका मुलुकमा पश्चिमाशक्तिको अधिक संलग्नता र निर्णायक भूमिका भारत र चीन दुबैको टाउको दुखाइको विषय हुन्छ । यो अस्वाभाविक पनि होइन । यो विषयमा हामी कति सतर्क छौँ र यी दुई देशलाई उनीहरूको यो चासोमा कति विश्वस्त गराउन सकेका छौँ, त्यो मुख्य कु्रा हो ।

यो पङ्क्तिकारको विश्वास छ हामी यहीँनेर चुकेका छौँ । अहिले नेपालको आन्तरिक नीति निर्धारणमा पश्चिमाहरूको निर्णायक भूमिका छ भन्ने समान बुझाइ भारत र चीनको छ । यो बुझाइ वा कोर्स करेक्सन नगरेसम्म हामीले तिनको विश्वास जित्न सक्दैनौँ ।

अब दोस्रो विषय हो– नेपालको उत्तर दक्षिण टिल्टिङको विषय । पश्चिमा संलग्नताको निषेधमा समान इच्छा र धारणा राख्ने भारत र चीनको नेपाल–भारत र नेपाल–चीन सम्बन्ध र दूरीको विषयमा भने एकरूपता छैन ।

उनीहरू नेपाललाई पहिलो त आफूतिर टिल्ट भएको र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो अनुकूल देख्न चाहन्छन् । त्यति नभए कम्तिमा अर्कोतिर टिल्ट नभएको देख्न चाहन्छन् । यस सवालमा हामीले उनीहरूलाई आश्वस्त गर्न नसकेको अवस्थाबाट अहिले हामी गुज्रिरहेका छौँ । काठमाडौंले मेरो हितको विपक्षमा कतै दिल्लीको पक्षपोषण त गर्दै छैन भनी बेइजिङले शङ्का गर्ने र काठमाडौंले कतै मेरो हित विरुद्ध बेइजिङको पक्षपोषण त गर्दै छैन भनी दिल्ली शङ्का गर्ने अत्यासलाग्दो अवस्था सिर्जना हुने लक्षणहरू अहिले देखिएका छन् ।

योभन्दा ठूलो दुर्भाग्यपूर्ण र अहितको अवस्था नेपालको लागि केही हुँदैन । यो अवस्था आउन नदिन भारत र चीनले होइन, हामीले अर्थात् नेपालले काम गर्नुपर्छ ।

अहिलेको संसारमा कुनै पनि मुलुकमा अर्को मुलुकको चासो र हस्तक्षेपबाट शत प्रतिशत मुक्त छैन, हुनै सक्दैन । महाशक्ति अमेरिका पनि यो वाहृय हस्तक्षेप र प्रतिक्रियाको असरबाट मुक्त छैन । के भारत र चीन वैदेशिक प्रभाव, चासो हस्तक्षेप र संलग्नताबाट मुक्त छन् ? छैनन् उनीहरू पनि । त्यसैले महाशक्ति तथा छिमेकी चासोबाट काल्पनिक मुक्त अवस्था नेपालले प्राप्त गर्न सक्दैन ।

हामीले त्यसलाई उपयोग गर्न जान्नुपर्छ । हामीले गर्नुपर्ने चाँहि हाम्रा छिमेकीको हामीप्रतिको चासोलाई हाम्रो हितको पक्षमा उपयोग हो । यसो गर्न हामी सकिरेहका छैनौँ । त्यो कूटनीतिक कौशल र क्षमता हामीमा देखिएको छैन । यस सवालमा हामीभन्दा बङ्गलादेश, भुटान र श्रीलङ्का परिपक्व देखिएका छन् । यसले हामी कूटनीतिकरूपमा अस्थिर, अयोग्य र अक्षम छौँ भन्ने प्रमाणित हुन्छ ।

तथापि आन्तरिक मामिलामा छिमेकीहरूको चासो र आन्तरिक सवालमा उनीहरूको ठाउँ कति हो भन्ने सवालमा हाम्रो राष्ट्रिय सोच र मापो बन्न जरुरी छ ताकि राजनीतिक दल र तिनका नेताले एक अर्कालाई कोही कसैको दलाल र एजेन्ट भन्ने परिस्थिति नरहोस् ।

भ्रमित राजनीतिक प्रस्थान

थुप्रै आन्दोलन र क्रान्ति अनि उपलब्धिपछि पनि हामी नेपालको राजनीतिक पद्धति र प्रस्थानप्रति सन्तुष्ट र विश्वस्त हुन सकेका छैनौं । विकास र समृद्धिका सवालमा पद्धति आफैंमा केही होइन भन्ने विश्व उदाहरणले प्रस्तुत र प्रमाणित गरिसकेको छ । प्राप्त उपलब्धिप्रति सन्तुष्ट रहेर यसको परिस्कार र उन्नयनमा लाग्ने फराकिलो सामाजिक राजनीतिक चिन्तनको हामीमा अहिलेसम्म खडेरी छ ।

मौजुदा पद्धतिको समर्थन गर्दा परिवर्तनविरोधी वा प्रतिगामी हुने र भएको पद्धति भत्काउने तर त्यसमा कुनै नयाँ स्वीकार्य प्रस्थान नबनाउनेहरू क्रान्तिकारी ठहरिने अपसंस्कृतिमा जकडिएका छौँ हामी । हरेक परिवर्तनपछि हामीमा तीनवटा प्रवृत्ति देखिने गरेका छन् । पहिलो– प्राप्त परिवर्तनलाई पछाडि फर्काउने र उपलब्धि नामेट गराउन खोज्ने ।

दोस्रो– परिवर्तन टिकाउन खोज्ने र यसैबाट अघि बढ्ने । तेस्रो– भएको पद्धति र उपलब्धि भत्काउने खोज्ने र कुनै असम्भव अदृश्य सपनाको खेती गर्ने । यी तीन प्रवृत्ति बीचको द्वन्द्वको कारण नै नेपालको राजनीतिक अस्थिरता र पद्धति परीक्षण खेती वा प्रयोगशाला बन्ने बाटोमा छ । यस्तो भ्रमको बीच हामीले उन्नति र प्रगति गर्न सक्दैनौँ । सवल, समुद्ध, शान्त र विकसित नेपाल बनाउन सक्दैनौँ ।

फेरि पनि कुरो त उही हो– नेपालमाथि छिमेकी र शक्ति राष्ट्रको चासोलाई नेपालको पक्षमा उपयोग गर्दै नेपालप्रति ती सबै ढुक्क रहने कूटनीतिक कौशल प्राप्त गर्न हामीले सक्छौँ कि सक्दैनौ अनि देशको पद्धतिगत प्रस्थानका बारे हामी एकमत हुन्छौँ कि हुँदैनौ । नेपालको प्रस्थान, भविष्य, भाग्य, समृद्धि र विकास यसैमा निहित छ । आगे यो भूमिकाका खेलाडीहरूको मर्जी ।

lksubedi2023@hotmail.com

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया