मेरा न्यूनतम मानवीय गुण

चाईनाबाट काठमाडौंसम्म रेलमार्ग जोडिने भो रे , काठमाडौं–हेटौंडा सुरुङ्ग मार्ग बन्ने भो रे, रत्नपार्कमा भयङ्कर स्तम्भ ठडिने भो रे, ७५ जिल्लाकै सदरमुकाममा पिचबाटो जोडिने भो रे, देशका सम्पूर्ण गाउँपालिकाहरुमा सुविधायुक्त स्वास्थ्य संस्था बन्ने भो रे, हाईड्रो पावर निर्माण र जलविद्युत उत्पादनको काम भटाभट सुरु भई अब १÷२ बर्षमै लोडसेडिङ्गको समस्या पूरै हट्ने भो रे, सबै गाउँ झलमल्ल हुने भए रे, चाईनाले बाहिरी रिङ्गरोड बनाईदिने रे, अमेरिकाले निर्माण क्षेत्रमा मात्र खै कति करोड डलर सहयोग गर्ने रे जस्ता ठूला ठूला योजना र आयोजनाका कुराहरु धेरै धेरै भए यहाँ ।

laxmi-pd-ghimire

– लक्ष्मीप्रसाद घिमिरे

विकास हुनका लागि र देश बन्नका लागि ठूला योजनाहरु बन्नुपर्छ भन्ने कुरामा कसैको बिमति रहन्न । तर यो नै मात्र देश विकास हो या देश विकासको आधार हो भन्ने तर्क गरिनुहुन्न । जबसम्म कुनैपनि देशका नागरिकमा न्यूनतम मानवीय गुणले प्रवेश गर्दैन तबसम्म यहाँ करोडौं र अरबौं डलरका जस्तासुकै योजनाहरु बनेपनि न त विकास नै हुन्छ न त भएका विकासे कामहरु दीगो नै हुनसक्छन् ।

हाम्रो समाजमा यस्तै न्यूनतम मानवीय गुणमा कमि छ र यसले नै देशलाई विकासक्रममा दशकौं पछाडि पारिसकेको छ । हैनभनें नेपालजस्तो प्राकृतिक सम्पदाले सम्पन्न राष्ट्र गरीब हुनुपर्ने थिएन र मरुभूमियुक्त खाडी मूलुकका मालिकको ढोकामा निरिह नोकर बनी ङिच्च पर्न जानुपर्ने थिएन ।

तातो घामको राप र बिछोडको पीडा अनि कामको शिलशिलामा हुने अनेकौं दूर्घटना आदिका कारण हुनजाने असहज मृत्युपश्चात् दिनहुँ त्रिभुवन विमानस्थलमा आईपुग्ने लासको समाचारले पीडा खप्नुपर्ने थिएन । गरिबीका कारण कुनै नेपाली परिवारले यस्तो दूर्दसा भोग्नुपर्ने थिएन ।

दिगो विकासको पहिलो आधार भन्नु नै प्रत्येक नागरिकमा हुनुपर्ने न्यूनतम मानवीय गुण हो भन्ने कुरा ध्रुवसत्य भएकाले गर्दा अरु कुनैपनि तर्कमा सहमत हुन सकिन्न ।

अब प्रसङ्ग उठ्छ के हुन् त मानवीय गुण र कसरी अभाव छ हाम्रो समाजमा त्यसको भन्नेबारे । म मेरै कुरा गर्छु । यो लेखाईले मलाई कसैले आफ्नै कुरा गर्ने घमण्डी रहेछ भनेमा पनि मलाई दुःख लाग्नेछैन ।

अहारिसले नै भएपनि मेरो व्यवहार कसैले अनुसरण गरेमा म आफूलाई सफल मान्नेछु । म कसैलाई दुःख दिन्न । म मान्छेमात्र हैन कि प्रकृतिउपर पनि सकभर अन्याय गर्दिन । म कसैले गरेको राम्रो कामको सधैं स¥हाना गर्छु ।

आफू समेतले गरेको राम्रो कामको जस आफैमात्र लिनखोज्ने जस्तो निकृष्ठ व्यवहार गर्दिन । म समूहमा विश्वास गर्छु । आफ्नोमात्र उन्नति होस् भन्ने साँगुरो सोचाईबाट म ग्रस्त छैन । म सबैलाई माया गर्छु र आफ्नो जस्तै अरुको दुःखमा पनि दुःखबोध गर्छु ।

म बालबच्चाको पढाईको सन्दर्भमा परीक्षामा प्राप्त गर्ने अधिक अङ्कमा भन्दापनि उसले सिक्ने संस्कार र भोलि समाजको लागि कामलाग्ने बानीको विकासमा विश्वास गर्छु ।

म चकलेटको खोलसम्म पनि कुनै खुल्ला स्थान या बाटोछेउ वा कुनै एकान्त जङ्गलमै पनि फाल्न सक्दिन । म गाडीको सिटमा बसेर केरा खाएपछि केराको बोक्रा वा पानी पिएपछिको खाली बोतल बाहिर हुत्याउन पटक्कै सक्दिन । म कर्ममा विश्वास गर्छु अनि सधैं असल कर्म गरी राम्रो परिणामका लागि आसाबादी बन्छु तर कसैसँग हात फैलाएर आस गर्दिन ।

म धेरै सम्पत्ति कमाएर थुप्रो लगाएपछि मान्छे धनी र ठूलो बन्छ अनि सामान्य झुपडीमा बसेर कर्मगरी सरल जीवनयापन गर्ने मान्छे सानो र गरिब बन्छ भन्ने कुरामा कत्तिपनि विश्वास गर्दिन ।

विश्वविद्यालयमा पढेर माथिल्लो भनिने डिग्री हाँसिल गर्ने मान्छे चाहिँ ज्ञानी नै बन्छ र सामान्य पढाईको मान्छे अज्ञानी नै हुन्छ भन्ने कुरामा म मत दिन्न । म आफ्नो शरिर र आफ्नो घरभित्रको सुन्दरता र सफाईमा मात्र मख्ख पर्दिन ।

म काम बिगार्ने अरुलाई सत्तोसराप गर्नाले काम सप्रिन्छ भन्ने ठान्दिन बरु आफुले सहि काम गरेमा बिस्तारै अरुले मनन गर्छन् र सिक्छन् भन्ने कुरालाई आदर्श मान्छु । यस्तै यस्तै गुणलाई मानवीय गुण भनिन्छ ।

यस्तै गुणको कमिले हामी पछि परेका हौं । सबैमा यस कुराको हेक्का आउन जरुरी छ । सधैं उज्यालो भविश्यको कुरा गर्ने तर अँध्यारो उन्मुख सोच र व्यवहार गर्ने संस्कारले निकै जकडेको छ हामीलाई ।

हाम्रो जीवन आँपको गेडो जस्तै हो जसमा चेतनालाई गुदी र शरिरलाई बोक्रो मान्न सकिन्छ । दुईमध्ये एक कुहेमा अर्को पनि कुहिन्छ । कुहेर झर्नु र पाकेर स्वादिलो बनी अरु कसैका लागि काम लाग्नुमा धेरै अन्तर छ ।

जीवन मात्र व्यतित गर्ने हो भनें त पशुपंक्षीले पनि गरेकै छन् । त्यतिमात्र हैन अझ राम्ररी गरेका छन् । किनभनें उनिहरु रिसराग पाल्दैनन्, यो भूमिलाई कुरुप र अस्वस्थ बनाउँदैनन् । सम्पत्ति जम्मा पार्ने नाममा अरुको शोषण गर्दैनन् । जङ्गलमा थुप्रै पशुहरु बस्छन् तर जङ्गल फोहर गर्दैनन् । नदीनालालाई दूर्गन्धित बनाउँदैनन् ।

पुर्खाको संस्कारलाई अलिकति पनि भुल्दैनन् । यस्ता कुराहरु सम्झिँदा त मानिस कसैको कल्याणका खातिर हैन कि यो संसारको विनासका खातिर जन्मिएको जस्तो लाग्छ । सर्वश्रेष्ठ प्राणीका रुपमा मान्छेले आफूलाई परिभाषित गर्न पनि बेकार लाग्छ ।

जो संसारलाई बिगार्ने र प्रकृतिको संरचनालाई ध्वस्त पार्ने उहि कसरी सर्वश्रेष्ठ हुनसक्छ ? संसारको वातावरण विग्रिएको मान्छेले गर्दा नै हो । हावा, पानी, माटो जस्ता प्राकृतिक तत्वहरुमा भौतिक, रासायनिक तथा जैविक गुण परिवर्तन भई प्राकृतिक सृष्टिका प्राणी तथा वनस्पति जगतमा पर्ने नकारात्मक असरलाई वातावरणीय प्रदूषण भनिन्छ ।

प्राकृतिक नियमले वातावरण प्रदूषण हुँदैन । अर्थात् जतिपनि प्रदूषणको मात्रा छ प्राय सबैको कारक मान्छे हो । यस धरतिमा मानिसले जीवन जिउने क्रममा विचार नपु¥याएका कारण माटो, पानी, हावा तथा विविध प्रदूषणले हामीलाई चाप्दै लगेको छ ।

जहाँ मान्छे बढि छ त्यहिँ वातावरण विग्रिएको छ । त्यसैले फोहरमैलाको कारणले उत्पन्न प्रदूषणले सहरी जनजीवन आक्रान्त छ । हरेक मानिसले केहि न केहि फोहरको मात्रा दिनहुँ निकाल्दछ तर त्यसको व्यवस्थापन निज उत्पादकले गर्दैन मात्र हैन गर्नुपर्छ भन्ने सोचसमेत राख्दैन ।

चकलेटको खोल, चुरोटका ठुटा, तरकारी÷फलफूलका बोक्रा, चाउचाउका खोल, कुखुराका भुत्ला, अण्डाका बोक्रा, चियाका छोक्रा, उब्रिएको खाना, औषधीका खोल, कागज, प्लाष्टिक, कपडा, टिन, शिशा, रबर, मृतजिव, माटोका भाँडाका टुक्राहरु, सामान बाँध्ने डोरीहरु, बगैंचाको झारपात आदि जस्ता अति धेरै किसिमका फाल्तु वस्तुहरुलाई हामीले फोहर भन्छौं र फाल्छौंैं । तर त्यसले पु¥याउने असर बारे सोच्दैनौं ।

त्यो त नगरपालिकाको वा अन्य कुनै संस्थाको काम हो भन्छौं । यो कुरादेखि मलाई दुःख लाग्छ । काउली चाहिँ आफ्नो तरकारी, तर डाँक्लो कसरी हुन्छ सरकारी ? यसरी जिम्मेवारीबाट पन्छिन मिल्छ र ?

यो धरती फोहरग्रस्त बनाइनु अति दुर्भाग्यपूर्ण कुरा हो । पैसा कमाउने, घरबस्ति बसाउने, बालबच्चा पढाउने, मिठो खाने र महंगो लाउने आदि जस्ता काममा मानिस कुन तवरले हुन्छ अरुलाई उछिन्न खोज्छ तर यीनै काम गर्दा अरुमा पर्ने असरको वास्ता नगर्ने व्यवहारले प्राय सबैलाई जकडेको छ ।

त्यसैले त हाम्रा नदीहरु फोहरको लेदो सहित दूर्गन्धित भएर बगिरहेका छन् । हाम्रा बाटाहरुमा फोहरको डंगुर लागेर नाक थुन्नुपर्ने अवस्था छ । यो सबै मानवीय क्रियाकलापको प्रतिफल हो ।

आजको सुविधाभोगी समाज भविष्यको अप्ठ्यारोलाई नसोची काम गर्दछ । सबैभन्दा ठूलो विडम्बना त यो छ कि पढेलेखेको र अगुवा भनिने मानिसबाट नै अझ बढी हेल्चेक्र्यार्इँ भएको पाईन्छ ।

आफ्नो घर र कोठा मात्र सफा राखेपछि बाहिर जे सुकै होस् भन्ने प्रवृत्तिले सबैभन्दा बढी जकडेको छ । घरभित्रबाट उत्पादन हुने फोहर बाहिर लगेर फ्याकेपछि आफ्नो काम पूराभयो भन्ठान्नु ठिक हो त ? व्यक्तिगत प्रयोजनका लागि पालेको कुकुर डोहो¥याउँदै लगेर बाटोमा दिसा गराई सामाजिक क्षति पु¥याउने कथित सम्पन्न र शिक्षित मान्छे सहरमा थुप्रै देख्छौं हामी ।

अब यस्ता मान्छेको चिनारीलाई भिन्न ढङ्गले बुझी अज्ञानी र असामाजिक भन्ने कि नभन्ने?

सत्यकुरा उल्लेख गर्ने हो भने हाम्रो इतिहास नै बिग्रिएको छ । यस अर्थमा कि हामी अरुको मुख मात्र ताक्न बानी परेका छौं । “फोहर फाल्ने काम त नगरपालिकाको पो हो त हामीलाई के चासो ?” भन्ने हाम्रो चलन छ ।

यसैले सजिलै समाधान हुनसक्ने कुरापनि यहाँ जटिल भएको छ । अफूले उत्पादन गर्ने मात्रै फोहर हरेक मान्छेले व्यवस्थापन गर्ने हो भने हाम्रा शहरहरु सुन्दर हुन्छन् । हाम्रा बाबु बाजेले भन्ने गरेको एउटा उखान छ “कि आफँु जान्नु, कि भनेको मान्नु” । तर यहाँ मानिसले आफुँपनि जान्दैन वा गर्दैन अनि भनेको पनि मान्दैन ।

भन्नैपर्दा यहाँ उचित संस्कारको विकास भएको छैन । चेतनाको अभाव छ र भएको चेतनाको व्यवहारिक प्रयोग भएको छैन । त्यसैले मानवीय गुणलाई चिनेर आफूभित्र त्यसको विकास गर्दै लानुपर्छ । घमण्ड र रिस मानवीय गुण हैनन् ।

यस्ता गुणले आफू र अरु कसैको कल्याण गर्दैन । तसर्थ यस्ता गुणलाई आफूभित्र बास दिनुहुन्न । हाम्रो समाजमा भन्ने गरिएको ठूलोमान्छेको परिभाषालाई आफ्नै मनबाट फेर्नुपर्दछ । असल काममा आफूलाई हिँडाउनु पर्दछ । ठूलो आँफै बनिन्छ ।

परोपकारलाई परम मानवीय कर्तव्य ठान्नु पर्दछ । कल्याणले मात्र विकास सम्भव छ । प्रतिकूल परिस्थितिमा पनि मुस्कुराउन सक्नुपर्छ जसले स्थितिलाई चाँडै अनुकूल बनाउँछ ।

मृत्यु अवश्यम्भावी छ तर थाहा दिएर आउँदैन त्यसैले बाँचुञ्जेल दम्भलाई परित्याग गर्नुपर्दछ । आफ्नो मूल्याङ्कन अरुको आँखाबाट होस् भन्ने चाहना राख्नुपर्दछ ।
८८

प्रतिक्रियाहरु