Home » देश » राजधानीमा दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी

राजधानीमा दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौँ, पुस ५

नेपाल प्रज्ञा–प्रतिष्ठान हिरक जयन्तीमा प्रवेश गरेको छ । यस अवसरमा सोमबार माल्टा विश्वविद्यालयसँग मिलेर प्रतिष्ठानले राजधानीमा दर्शनसम्बन्धी एक दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको आयोजना गरेको छ ।

उक्त सङ्गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थापनाकालदेखि नै प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र, विज्ञान तथा दर्शनको क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिलो पटक नेपाली र अन्तर्राष्ट्रिय विद्वानहरूले एकै थलोमा यतिधेरै कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ । यो ऐतिहासिक कार्य हो । यस्ता प्राज्ञिक कार्यले अन्तर्राष्ट्रिय जगतमा वैचारिक दूरी कम गर्न सहयोग पुग्छ ।’

प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले पूर्वीय दर्शनको पावनभूमि नेपालमा दर्शनसम्बन्धी सङ्गोष्ठी आयोजना हुनु अभूतपूर्व कार्य भएको बताउनुभयो । प्रतिष्ठानका दर्शन विभाग प्रमुख प्रा. दिनेशराज पन्तले ‘विश्वका विद्वान–विदुषीहरूको सहभागिता रहेको दर्शन सङ्गोष्ठी ए्तिहासिक र उपलब्धिमूलक रहेको बताउनुभयो ।

माल्टा विश्वविद्यालयका दर्शन विभाग प्रमुख प्रा.डा. क्लाउड म्यानजोनले नेपाल प्रज्ञा–प्रतिष्ठानले दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी सङ्युक्त रुपमा आयोजना गरेकोप्रति आभार प्रकट गर्दै भन्नुभयो, ‘साँच्चै नै यो कार्यक्रम स्मरणीय बनेको छ ।

आगामी दिनमा पनि यस्ता सहकार्यका लागि माल्टा विश्वविद्यालय साद तत्पर छ ।’ उहाँले कार्यक्रममा ‘ईश्वरीय अस्तित्व’बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सङ्गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक डा. वीरेन्द्रप्रसाद मिश्रले विशेष मन्तव्य दिँदै भन्नुभयो, ‘पूर्वी तथा पाश्चात्य जीवनलाई दर्शनले नै मार्गदर्शन गरिरहेको पाइन्छ ।’

उक्त सङ्गोष्ठीमा नेपालका तर्फबाट नेपालका डा. चैतन्य सुब्बा, विष्णु प्रभात, निर्मलमणि अधिकारी र दिनेश भुजूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, माल्टा विश्वविद्यालयका क्लिभ जामिट, ग्रिसकी डालिला होनोराटो, अमेरिकाका ग्रेगोरी बर्जिन, इन्डोनेसियाका लेस्टारी नुर्हाजटी, चीनका ली माओसेन, स्पेनका मिग्वेल एन्जल क्विनटाना पाज, क्यानडाका नेब कुजुडिज, युक्रेनका ओभी हैडामाचुक र भारतकी पूर्णिमा अग्रवालले पनि पूर्वी र पश्चिमी दर्शनका यावत् विषयमाथि कार्यपत्र प्रस्तुत गर्नुभयो ।

राष्ट्रिय विश्वविद्यालय बंगलादेशका अब्दुल अवालले ‘रवीन्द्रनाथ टैगोरको शिक्षा दर्शनको अवधारणा’बारे कार्यपत्र पेस गरे भने अमेरिकाको सेन्ट लियो विश्वविद्यालयका एस्ट्रिड भिकासले ‘एजेन्सी इन एभ्रिहेयर टेक’ शीर्षकमा प्रविधि दर्शन र कार्य दर्शनका बारेमा व्याख्या गर्नुभयो । कार्यक्रममा १६ जना विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालका दर्शनशास्त्री विष्णु प्रभातले पौरस्त्य तथा पाश्चात्य दर्शनका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘पूर्व र पश्चिमलाई भूगोलको सगोलमा हेर्न सजिलो भए पनि महादेशीय धारणामा, राज्यराज्यका पृथकतामा र सभ्यताहरूको विशिष्टतामा दर्शनशास्त्रलाई केलाउन निकै अप्ठयारो,’ रहेको उल्लेख गर्दै भन्नुभयो, ‘पौरस्त्य चिन्तन या पूर्वीय दर्शनको कुरा गर्दा दक्षिण एसिया मात्र हेर्नु भूल हो ।’

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया