Home » साहित्य » कथा : समय चक्र

कथा : समय चक्र

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

दिलिप बान्तवा

पानी जम्ने तापक्रममा चिसो स्याँठ जिउमा ठोक्किँदा छालाले थाहा पाउनु अगाडि नै मुटुले चिनिसकेको हुन्छ। कुनै यादहरु त्यसरी नै मस्तिष्कमा क्लिक हुनु पहिला नै हृदयमा तरंगित भई सक्दा रहेछन् । लामो समय कट्यो।

धनकुटाबाट छुटेर घर अनि भोलिपल्टै घर छाडेर काठमाडौ भासिएको म, लामो समयसम्म त्यतै अल्मलिनुपर्‍यो, अलिकती बाध्यता अनि अलिकती निर्धारित उद्देश्यका लागि। काठमाडौ छिरेको दुई बर्षमा पहिलो चोटि घर फर्किएँ, २०६३ सालको दशैँमा ।

गाउँले दाईको चिनजान र सहयोगको भरमा एउटा हार्डवेयर दोकानको सहयोगी भएर दिनभर काम गर्‍यो, बेलुकी कलेजको नोट साथिहरुसंग मागेर पढ्न थालेँ। केही समय पछि निश्चित समय मिल्यो कलेजको लागि। म घर फर्किँदा स्नातक पहिलो बर्षको परीक्षा दिएर गएको थिएँ।

घर पुग्दा गाउँ पुरै हर्षित थियो। लामो समय चलेको आन्तरिक द्धन्द्धले मान्छेहरुले हाँस्नै बिर्सेका थिए। बोल्दा पनि हरेक शब्द तौलेर बोल्थे। आफ्नै घरको मान्छेसंग पनि ससंकित आँखा बनाएर हेराहेर गर्थे।

लाग्थ्यो त्यहाँ जीवन होईन सम्भावित अनिष्टको पर्खाईमा छन मान्छेहरु। सकेसम्म कोहिसंग नबोल्न पाए हुन्थ्यो, कोहिसंग भेट नभए हुन्थ्यो अर्थात कसैले नदेख्ने ठाउँमा जान पाए हुन्थ्यो….. यस्तै यस्तै परिबन्धित सोँचसंग मान्छेहरु आफ्ना दैनिकी चलाईरहेका थिए।

तत्कालिन संसदिय पार्टिहरु र युद्धरत पार्टिहरुको संयुक्त सफल आन्दोलनले मान्छेहरुको दशक लामो त्यो दैनिकिमा “यू टर्न” ल्याईदिएको थियो। त्यहिँ बेला म पनि घरमा टुप्लुकिएँ। घर पुगेको भोलिपल्ट बहिनिले मेरो नाममा आएका रजिष्ट्री, सादा गरेर निक्कै ठूलो चिट्ठिको मुठो अगाडि थुपारिदिई ।

सबै खोलिएका थिए। भन्दैथिई, “तेरो साथिहरुले निक्कै चिन्ता गरेका थे तेरो बारेमा। मै रिप्लाई पठाम कि भनेको फेरि बाले गाली गर्नुभयो अनि पठाईनँ।” म चुपचाप खोतल्दै हेर्न थालेँ। निक्कै पहिला नै आएका रहेछन सबै, मिति हेर्दा थाहा भयो।

सबैले तत्कालिन अवश्थाको दैनिकी, ससस्त्र बिद्रोह र त्यसले उत्पन्न गरेका विभिन्न समस्याहरुको बारेमा लेखिएका थिए ।  ती चिट्ठिहरुको चाङ्गभित्र सुधाको पनि दुईटा चिट्ठी थियो। पहिलो चिट्ठी हामी छुटेको बर्षको दशैँ शुभकामनावाला थियो भने दोस्रोमा अर्को वर्षको नयाँ बर्षको शुभकामनावाला थियो ।

अरु सबैले त्यो समयको चिन्ता र भबिस्यप्रतिको गहिरो दुबिधाहरु लेखेका थिए। अन्योलग्रस्त समय अनि अनिश्चित भोलिका सम्भावित दुर्घट्नाहरु ईत्यादिका कुराहरु थिए । तर सुधाले त्यस्तो केही लेखेकी थिईनन्, मानौँ उनी यी सबसंग बेखवर छिन् । उनले हाम्रो समाज, यसको चरित्र, यसमा हामिले निभाउनुपर्ने हाम्रो दायित्व, समाज परिबर्तनका निक्कै गहकिला प्रसंगहरु लेखेकी थिईन्।

दोस्रो चिट्ठिमा भने उनले गुनासो गरेकी थिईन् लेखेकी थिईन्, “समय नै यस्तो शक्तिशाली सागर हो, जसले मान्छेलाई नचाहँदा नचाँहदै पनि घरी वल्लो किनार र पल्लो किनार छाल बनाएर ठोक्काईराख्छ घरी ताल बनाएर जमाईदिन्छ अनि घरी बगाईरहन्छ निरन्तर…, सायद तिमी पनि त्यसरी नै बगिराखेको छौ होला आफ्नो लक्ष्यका लागि। शुभकामना। म भने किनारामा ठोक्किदै र कहिले जम्दै निरन्तर प्रयास गर्दैछु स्वच्छन्द बग्नलाई।”

दशैँको समय त्यो पनि दुई बर्षपछी घर आ’को म केही दिन त गाउँघर घुमफिर, साथिभाई भेटघाट मै बित्यो। चिट्ठिमा सुधाले आफ्नो ठेगाना पनि लेखेकी थिईनन्, त्यसैले मैले पनि अटोबुकमा खोजेर एक पटक चिट्ठी पठाएँ काठमाडौमा आफू पढ्ने कलेजको ठेगाना दिएर। अनि तिहारपछी काठमाडौ फर्किएँ।

सुधाको कुनै चिट्ठी या खवर आएन। सम्झेँ सायद बिर्सिसकिन् होला। हुन त त्यो भन्दा अगाडि म नै बेखवर थिएँ। त्यो समय मस्तिष्कलाई समेत सोँच्न नदिन पाए हुन्थ्यो, मनमा आउने कुराहरुलाई समेत परै तँगारो हाल्दिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। समय हिँडेको होईन एक ढिक्का भएर जमेको छ र त्यसभित्र मान्छेहरु कक्रीएर बाँचेका छन जस्तो अवस्था थियो। त्यसैले आफ्नो ज्यानलाई सुरक्षा दिनुभन्दा अरु कुरा प्राथमिकता मै परेनन्।

 

साहित्यकार

त्यो अत्यासलाग्दो एक रात घरमा बिताएर बिहानको अँध्यारैमा घर छाडेर काठमाडौ छिरेको पनि डेढ दसक बित्न लागेछ। अस्ति घरमा त्यो अटोबुक भेटिएपछी अनौठो तरिकाले बिगतहरु स्वेटर फुके जस्तै अबिराम फुक्दै आईरहेका छन् आजकल।

लगातार दुई दिनसम्म झमझम पानी परिसकेर पुरै खुलेको आकाश मुनि कलेजको खुल्ला चउरमा घाम ताप्दा ताप्दै ब्रेकको समय भयो । साथिहरुले क्यान्टिनतिर जान प्रस्ताब गरे तर म नजाने भन्दै स्टाफ रूमतिर लागेँ। अप्लाईड लिङ्ग्विस्टिक को कक्षा थियो तत्कालै। त्यसैले ल्याप्टपमा त्यस सम्बन्धी केही स्लाईडहरु बनाउनु थियो, म त्यसका लागि भित्र आएको थिएँ। बीस मिनेट जतिमा काम सकियो।

लगातारको बर्षाले अवरुद्ध भएको ईन्टरनेट सेवा अघि भर्खरैबाट सुचारु भएको कुरा गर्दैथिए साथिहरुले। त्यसले मैले पनि ब्राउजर खोलेर फेसबुक, जिमेल र यूट्यूब एकै चोटि सरासर खोल्न थालेँ। अरु घुमिरहे, फेसबूक भने दुखले खुल्यो। नोटिफिकेशन र म्यासेजहरु हेरिसकेर फ्रेन्ड रिक्वेस्ट हेर्न थालेँ।

तीन वटा रहेछन्, एउटा केटा र दुईटा केटिबाट आएको। सबैलाई खोलेर हेरेँ, प्रोफाईलमा चिनेको फोटो थिएन। तैपनी सबैलाई साथी बनाएँ। एकैछिनमा म्यासेज बक्समा रातो संकेत देखियो, अर्थात म्यासेज आएको जनाउ आयो। “किरण, म कलेजको सुधा” कुनै औपचारिकता बिनाको यो म्यासेजले मलाई घाँटिमा निमोठे झैँ लाग्यो।

नाम थियो “अजनवी” । अनि फोटो हेरेँ, समुन्द्रको तटतिर, ठुला ठुला शहरतिर देखिने झिलिमिली र सपिङ्ग सेन्टरतिरका दृष्यहरुमा खिचिएको मझौला कदको महिलाको तस्विर। कुनैमा चस्मा आँखामा त कुनैमा टाउकोमा सिउरिएको कतै टिसर्टमा झुण्ड्याएको।

आश्चर्य मिश्रित हालखवरको आदानप्रदान पछि बेलुकी कुर गर्ने सर्तमा छुट्यौँ। त्यतिञ्जेलमा ब्रेक सकिएर क्लास शुरु हुन लागेको थियो।
छोटो कुराकानिमा थाहा भयो, उनी ईजरायलको तेल अभिभ भन्ने ठाउँमा डोमेस्टिक हेल्परको काम गर्दै रैछिन्। तर कसरी, कहिले किन जस्ता प्रश्नहरु निरुत्तर थिए।

“बेलुकी मेरो एउटा पुरानो साथिसंग कुरा गर्नुछ” कलेजबाट फर्किएर खाजा खाँदै गर्दा श्रीमतिलाई सुनाएँ।
“त्यसो भए खाना छिटो खाएर बाबुलाई म होमवर्क गराउँछु नि त।” श्रीमतिले भनिन। मैले सुधाको बारेमा उनलाई कहिल्यै केही भनिनँ। अर्थात भन्नपर्छ भन्ने ख्याल नै आएन अझ भनौँ सुधा मेरो मस्तिष्कबाट एक प्रकारले पटाक्षेप भईसकेकी थिईन् तर त्यो अटोबुक, अनि आजको फेसबूक….! अनौठो संयोग थियो।

अटोबूक हेरिसकेपछी श्रीमतिलाई नि देखाएको थिएँ। “तपाईको त सुरक्षित नै र’छ बरु, आफ्नो त कहाँ पुग्यो पत्तै छैन तर आज यो हेर्दा जोगाईराख्नुपर्ने रहेछ जस्तो लाग्यो। त्यो बेलाको कुराहरु पढ्दा आनन्द लाग्दो र’छ।” उनको प्रतिकृया थियो।

खाना खाएर फेसबूक खोलेँ। सुधालाई म्यासेज गरेँ। आधा घन्टा जतिमा फुर्सद हुने प्रत्यूत्तर आयो। त्यतिञ्जेल केही अपडेटहरु हेरेर बसेँ। पछि कुरा गर्न थालियो। “बाउन्नढोका अगाडि अन्तिम चटपटे खाँदै गरेको गफ याद छ तिम्लाई?” उनको पहिलो सोधाई थियो। “किन याद नहुनु, एक्कासी घर गईहाल्यौ नत्र भोलिपल्ट नि खान पुगिन्थ्यो।”

मैले अलि जिस्किएर उत्तर दिएँ। “तिमी सद्देको लाटो मान्छे” उनको कुर्ले अनौठो लाग्यो मलाई। उनको कुरा अनुसार उनी तत्कालिन बिद्रोही माओबादिको विद्यार्थी संगठनमा आबद्ध थिईन्। युद्ध चरम अवस्थामा पुगेको थियो। उनको दाइ पनि सर्कारी कर्मचारी भए पनि डिभिजन स्तरको नेता थिए। हामी छुट्ने समयमा उनको दाइ भुमिगत भैसकेका थिए र उनलाई पनि भुमिगत हुने निर्देशन थियो। तर उनले केही दिन समय मागेकी थिइन भुमिगत हुने कि नहुने निर्णयका लागि।

उनलाई थाहा थियो म उनलाई मन पराउँछु भनेर तर मलाई उनले कस्तो ठान्थिन थाहा थिएन। त्यसैले अन्तिममा मैले मन पराउने कुरा भन्छु कि भन्ने आशा थियो उनलाई त्यसैले घर गईहाल्नुपर्ने बहाना बनाईन्। तर मैले उनको अपेक्षा जस्तै प्रस्ताब राख्न सकिन। बाउन्नढोकादेखी कोठासम्ममा केही कुरा हुन्छ कि भन्ने आशा पनि आशामै बित्यो । त्यसपछि उनले बिकल्पमा राखेको मलाई हटाएर निर्बिकल्प भुमिगत भईन्।

उनी भुमिगत भएको आठ महिनामा उनको दाइलाई बेपत्ता बनाईयो। आज पर्यन्त पनि दाईको अवस्था थाहा छैन। त्यहिँ बिचमा मलाई उनले चिट्ठी लेख्न भ्याएकी थिइन्। मेरो चिट्ठी आयो कि भनेर घर जाँदा झण्डै पुलिसको घेरामा परेकी थिईन्। पुर्ब-पश्चिम साटिएर युद्ध गर्ने नीति अनुसार विभिन्न ठाउँको लडाइँमा सहभागी भईन उनी।

अन्ततः एउटा राजनैतिक सहमतिमा युद्ध रोकियो। शान्ती प्रकृयाको थालनी भयो। त्यतिञ्जेलमा कैयौँ मान्छेहरु मरिसकेका थिए, बेपत्ता थिए भने कैयौँ अंगभंग भएर जिउनु न मर्नुको अवस्थामा पुगेका थिए। र सुधासंग चुपचाप संयुक्त राष्ट्रसंघले तोकिदिएको क्यान्टोन्मेन्टमा जानुको बिकल्प थिएन।

युद्ध लड्दा सांग्रीला जस्तो सपना थियो, “मुक्ती या मृत्यू” को । तर क्यान्टोन्मेन्टमा हारेर लुसुक्क भागेको सिपाही जस्तो अनुभूत भयो उनलाई। तैपनी अरु बिकल्प थिएन, त्यसैले त्यत्रो झमझम पानी परिरहेको सिजनमा घना जंगल र पाखाहरु फाँड्दै क्याम्पहरु बनाए। तोकिएको मापदन्ड अनुसार बस्न थाले।

क्याम्पभित्र अनेकौँ समस्याहरु, बिकृतिहरु र सिनियर, जुनियरको भिन्नताले देखाउने द्धन्द्ध, मानसिक बिचलन लगायतका समस्याहरुसंग जुझ्दै लामो प्रयासपछी लडाकु प्रमाणिकरणको चरण आईपुग्यो। जसमा असंख्य युद्ध लडेर, आफ्नो प्राण भन्दा पनि प्रीय गरेर निर्माण गरेको पार्टिले अयोग्यको छाप निधारमा ठोकेर घर फर्काईदियो।

त्यो बेला उनिसित न त सपना थिए, न त यथार्थतामा जिउने कुनै सामर्थ्य नै। अर्कातिर बेपत्ता दाईको पिडामा छट्पटाईरहेका परिवारमा उनी अझ बोझ बन्न पुगिन्। अयोग्यहरुलाई घर फर्किदा राज्यले दिएको खर्च बोकेर काठमाडौ हिडिन, बिना उद्देस्य।केही सीप सिक्ने ठाउँहरु खोजिन् र अन्तिममा घरेलु कामदारका लागि सिकाईने सीप केन्द्रमा पुगिन्।

मरुभुमिमा पानीको बुँद भेटे जसरी भयो उनका लागि। छ महिनासम्म तालिम गरिन् र पासपोर्ट बनाईन्। कहाँ जान सकिन्छ, कसरी जाने कुनै आईडिया थिएन उनिसंग। भौँतारिँदै बर्षदिन बित्यो।

बल्ल एक जना साथिसंग ईजरायल जाने तरिका बुझिन र उनिसंगै ईजरायल पुगेको आठ बर्ष बितिसकेछ। त्यसबिचमा उनी एक पटक नेपाल आईन्, बाबा आमालाई काठमाडौ घुमाईन्, बिर्तामोडमा जग्गा किनिन् अब दुई बर्षपछी आएर घर बनाउँदैछिन्। र अन्तिममा भनिन् “क्रान्तिले थुप्रैको सपना लुट्यो, केहिको पुरा गर्‍यो।

केही उपलब्धी पनि दियो राष्ट्रलाई तर पारिवारिक पीडा र बिचलन जो राज्यले देख्दैन त्यो कहिल्यै नपुरिने घाउ बनेर बसेको छ। र त्यो युद्धको घाउ बल्झिरहन्छ हरेक कालखण्डमा।”

कुराकानी सकियो। उता आमाछोरा अघि नै सपनामा घुम्न निस्किसकेका थिए। म भने अमिलो बिगतको रसलाई जबर्जस्ती चुसेर मन अमिलो बनाउँदै निदाउने प्रयासमा लागेँ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया