Home » विचार/ब्लग » पर्वतबासी मतदातालाई खुला पत्र

पर्वतबासी मतदातालाई खुला पत्र

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

मनहरि तिमिल्सिना
आदरणीय पर्वतबासी जनसमुदाय,
झट्ट हेर्दा नियमित प्रक्रियाजस्तो देखिने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसीर २१ गते एकपटक फेरी तपाई हाम्रो घर–आँगनमा आउँदै छ । तर, यो नियमित निर्वाचन भने होइन ।

देशमा ७ प्रदेश र ७५३ स्थानीय तह निर्माण भएर सिंहदरबारको अधिकार तल्लो तहमा प्रत्यायोजन भएपछि पहिलोपटक प्रदेश सरकार बन्दैछ भने स्थानीय सरकार बनिसकेको छ । यस्तो परिस्थितिमा हुने चुनाव हेर्दा पुरानै देखिए पनि सारतत्वमा बिल्कूलै फरक छ ।

यो निर्वाचन नै यस्तो कडी हो, जसले संघीयता अभिसाप कि अवसर ? भन्ने प्रश्नको मुलभूत जवाफ दिनेछ ।

नेपाल यतिबेला संविधान कार्यान्वयनको असाध्यै महत्वपूर्ण चरणमा छ । नेपाली जनताले आफ्नो मुक्ति र देशको समृद्धिका लागि पटकपटक सङ्घर्ष गरे । तर, राजनीतिक अस्थिरताका कारण सधैंजसो जनताका सपनामा तुषारापात भइरह्यो ।

२००७ सालमा प्राप्त प्रजातन्त्र २०१७ सालमै ढल्यो । तपाई–हाम्रा पूर्खाहरु खोसिएको प्रजातन्त्रको प्राप्तिका लागि फेरि सङ्घर्षको मोर्चामा होमिए । २०३६–२०४६ सालको आन्दोलनले एकदलीय पञ्चायत त फेर्यो । तर, तपाई–हाम्रो जिन्दगी फेर्न सकेन । राजनीतिको नयाँ पुस्ताले २०५२ सालमा फेरि सङ्घर्षको झण्डा उठायो ।

११ वर्षको कठोर सङ्घर्षपछि राजतन्त्र ढल्यो, जनताका छोराछोरीले राज्यको बागडोर सम्हाले, देशमा सङ्घीयता आयो । जङ्गे पर्खालभित्र कैद भएको सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा आयो, राज्यद्धारा उपेक्षित जाति, लिङ्ग र समुदाय नीति निर्माणको पर्खाल चढे । तर, पनि अझै हाम्रो मुहारमा चमक आउन सकेको छैन ।

तपाई–हाम्रो आशा थियो, ‘दलहरु मिलुन्, देशको विकास होस्, जनताले राज्यको महशुस गर्न सकुन्, चुनावका बेला नमस्कार गर्दै जनताको दैलोमा आउने नेताहरु हाम्रा दुख–सुखका सारथी बनुन् । देशमा स्थीर सरकार होस्, विकासका काममा हानथाप नहोस् ।

लेखक

राम्रो कामको समर्थन र गलतको विरोध गर्ने संस्कार स्थापित होस् ।’ तर, बिडम्बना त्यसो हुन सकेन । हामीले ठान्यौं, ‘गणतन्त्रपछि पक्कै राजनीतिक स्थीरता हुनेछ, विकासका कामहरु अविछिन्न रुपमा अघि बढ्नेछन्, मोजा परेका तपाई–हाम्रा मुहारमा कान्ति आउनेछ ।’ तर, वर्षैपिच्छे सरकार फेरिने र विकासका कामहरु अलपत्र पर्ने पीडा हामीले बेहोरिरह्यौं ।

पहिलो संविधान सभा संविधान नबनाई ढल्यो । दोस्रोपटक संविधान त बन्यो । तर, संविधान बनेको ३ वर्षमा हामीले ४ वटा सरकार बेहोर्याैं । विकासका ठूला आयोजनाहरु सधैं रछ्यानमा मिल्किए ।

विकासका निम्ति प्रतिस्पर्धा गर्नुपर्ने पार्टी र नेताहरु सरकार बनाउने र ढलाउने प्रतिस्पर्धातिर लाग्ने परिस्थिति आयो । युवा पलायन बिकराल समस्याका रुपमा आयो । २००७ सालको आन्दोलनदेखि २०५२ सम्मको जनयुद्धले चाहेको समृद्धि, विकास र हाम्रो दैनिक जीवनमा परिवर्तन थियो । तर, राजनीतिक अस्थीरताका कारण हाम्रा सपना अधुरै रहे ।

पर्वतबासी जनसमुदाय,

गणतन्त्रले पनि जनताको मुहारमा कान्ति ल्याउन नसकेकोमा कम्युनिष्ट नेताहरु चिन्तित थिए । देशको राजनीतिक स्थीरता, आर्थिक विकास र जनताको जीवनमा परिवर्तनको सुत्र के हुन सक्ला ? नेताहरु धेरै दिन घोत्लिए ।

जहिले पनि सत्ताकै लागि लुछाचुडीको रोग कहिले निको होला ? नेताहरु मथ्थिए । अन्ततः माओवादी केन्द्र र एमालेका नेताहरुले निष्कर्ष निकाले, ‘नेपालमा ७२% कम्युनिष्टहरु छन् ।

जनताको चाहना कम्युनिष्टहरु एक होउन्, देशले राजनीतिक स्थीरता पाओस् भन्ने छ । तसर्थ, माओवादी–एमाले एकतावद्ध भएर मात्रै राजनीतिक स्थीरता हुन्छ, देशको मुहार फेरिन्छ र नागरिकको चेहरामा चमक आउँछ ।’ त्यही सुत्र नै माओवादी–एमाले गठबन्धनको आधार बन्यो ।

अहिले जिल्लामा एमाले र माओवादीका नेताहरु बाम गठबन्धनका साझा उम्मेद्वारका रुपमा तपाई–हाम्रो घरआँगनमा छन् ।

२०१५ सालको पहिलो चुनावदेखि आजसम्म भोट हालेको पुस्ता तपाई हामीसँग छ । पर्वत जिल्लामा पनि हामीले कांग्रेस–कम्युनिष्टलाई पटकपटक भोट हाल्यौं ।

हाम्रो आकाङ्क्षा थियो, ‘नेताहरुले जितेपछि गाउँ फर्कनेछन्, गाउँका अध्याँरा बस्तीमा बिजुली पुग्नेछ, सडकहरु कालोपत्रे हुनेछन्, लाखौं खर्चेर शिक्षा दिएका हाम्रा सन्तानहरु बेरोजगार बस्नुपर्ने छैन । विकासका लागि नेताहरु मिल्नेछन् ।

जनतासँग सहकार्य गर्नेछन् ।’ तर, त्यसो हुन सकेन । हाम्रो अमूल्य मत हाम्रै लागि आत्मघाती सावित भयो, आशाको नजर लिएर मतदान केन्द्र पुग्ने तपाई–हामी भोटको बाकस सदरमुकाम पुगेसँगै टुहुरा बनिरह्यौं । सङ्घारमा चुनाव आएको बेला विगतका चित्रहरु तपाई–हाम्रो दिमागमा चलचित्रको रिलझैं पक्कै घुमेका होलान् ।

यसपटक पनि चुनाव तपाई–हाम्रो सामुन्ने छ । नेताहरु गाउँ पसेका छन् । यसपटक गाउँमा धेरै पार्टीका नेताहरु पसेका छैनन्, केवल कम्युनिष्ट र कांग्रेस ध्रुवमा बाँडिएर नेताहरु भोट मागिरहेका छन् । हेर्दा उस्तै–उस्तै लाग्ने नेताहरु आँगनमा देख्दा मन दोधारमा पनि पर्ला । तर, यसपटक सोच्नैपर्ने भएको छ ।

हामीले कस्तो नेता छान्ने ? कस्तो पार्टी छान्ने ? हामीले जिताएका नेताहरुले विगतमा गरेका बाचा के थिए ? कति पुरा गरे वा गरेनन् ? नगरेको भए के कारण गरेनन् ? उनीहरुको विगत र वर्तमान कस्तो छ ?

अनि कुन पार्टी र नेताले जित्दा देशमा राजनीतिक स्थीरता हुन्छ ? विकासले कसरी गति लिन सक्छ ? यस्ता गम्भीर विषयमा सोचेनौं भने चुनावको भोलिपल्टबाट फेरि आफ्नै पुर्पुरोलाई धिक्कार्नुपर्ने नियति दोहोरिन सक्छ । यसतर्फ यहाँहरुको ध्यान जाने नै छ ।

पर्वतबासी जनसमुदाय,

देशमा राजनीतिक स्थीरता कायम गर्ने, विकास र समृद्धिलाई नयाँ उचाईमा लैजाने संकल्पसहित बाम गठबन्धनले पर्वत जिल्लामा आफ्ना उम्मेद्वारहरुलाई अघि सारेको छ ।

यसपटकको निर्वाचनमा प्रतिनिधि सभाका लागि नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा युवा नेता पदम गिरी चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभाका लागि १ नम्वर प्रदेशबाट नेकपा (माओवादी केन्द्र) का पोलिट्व्यूरो सदस्य तथा पर्वत जिल्ला ईन्चार्ज नेत्रनाथ अधिकारी ‘हिमाल’ र २ नम्वर प्रदेशबाट नेकपा (एमाले) का नेता एवं पूर्वसांसद विकास लम्साल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि सभाका लागि उम्मेद्वार रहेका नेता पदम गिरी राजनीतिमा राम्रो सम्भावना बोकेका युवा नेता हुन् । पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति र एमालेको जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका गिरी निष्कलङ्कित नेता हुन् ।

उमेरका दृष्टिले सबै उम्मेद्वारभन्दा कान्छा रहेका उनी सधैं सबैसँग सहकार्य गर्न रुचाउँछन् । राजनीतिलाई पेसाबाट माथि उठाएर सेवा भावका रुपमा प्रस्तुत गरिरहेका गिरीले जित्दा चमत्कार नै त नहोला । तर, पर्वतको विकास र समृद्धिमा उल्लेखनीय योगदान हुन सक्दछ ।

छोटो अवधिमा उनले गरेको प्रगतिले गिरी भूमिका पाउँदा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दछन् भन्नेमा कुनै शङ्का छैन । पर्वत जिल्लाका उज्ज्वल प्रतिभा उनलाई ‘गिरी पदम ! प्रगतिकै कदम !!’ मान्नु अन्यथा नहोला ।

अत्यन्तै सरल स्वाभाव, मृदुभाषी, समन्वयकारी नेता नेत्रनाथ अधिकारी प्रदेश नं.–१ को चुनावी दौडमा छन् । राजनीतिक जीवनका ४० बसन्त पार गरेका अधिकारी पर्वत जिल्लाकै सदाचारी नेता हुन् ।

जनयुद्धको दौरानमा निकै जोखिमपूर्ण जिम्मेवारी सम्हालेका अधिकारी चुनाव हार्दा पनि सधैं जनताको साथमा छन् । माओवादी पार्टीको जनमत ओरालो लाग्दासमेत २०७० सालको निर्वाचनमा लोकप्रिय मत हासिल गरेका अधिकारीको विजय पर्वत जिल्लाकै लागि एउटा आदर्श बन्न सक्छ ।

तिनै ‘अधिकारी नेत्र ! सदाचारी नक्षेत्र !!’ अहिले प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धामा छन् । विकास लम्साल पर्वत जिल्लाका लागि परिचय दिइरहनुपर्ने नाम होइन । जीवनका ३ दशक बाम आन्दोलनमा व्यतित गरेका नेता लम्साल प्रखर वक्ता र विकासप्रेमी नेता हुन् ।

कांग्रेसको किल्ला मानिने पर्वतको क्षेत्र नं.–२ मा २०७० को निर्वाचनमा उनी निर्वाचित भए । २०७० देखि २०७४ सम्म आइपुग्दा आफ्नो क्षेत्रमा उनले अघिल्ला सांसदहरुभन्दा महत्वपूर्ण कामहरु गरे ।

निर्वाचनपछि पनि आफ्नै क्षेत्रमा रमाउने, विकासका काममा प्रतिस्पर्धा गर्ने र लोकतन्त्रलाई मुठ्ठी लिन खोज्नेहरु विरुद्ध सतिसाल भएर उभिने उनको स्वाभावले जिल्लामा बाम राजनीति र विकासमा काममा महत्वपूर्ण योगदान भएको छ ।

पर्वत जिल्लालाई बामपन्थीको किल्ला बनाउन अहिले विकास अग्रभागमा छन् । क्षेत्र नं.–२ मा लम्सालको उम्मेद्वारीलाई ‘लम्साल विकास ! पर्वतको निकास !!’ का रुपमा परिभाषित गर्न सकिन्छ ।

आदरणीय जनसमुदाय,

नेपाली कांग्रेस लगायत अन्य केही पार्टीका उम्मेद्वारहरु पनि चुनावी दौडमा छन् । तर, बाम गठबन्धनका उम्मेद्वारहरुका अगाडि उनीहरुको भविष्य धुमिल र प्रतिवद्धता निकै कमजोर देखिन्छ ।

जनविश्वास, जनसम्बन्ध, सामाजिक लोकप्रियताका बलमा होइन, पैसा र बाहुबलका भरमा चुनाव जितेका नेताहरु पनि यसपटकको निर्वाचनमा छन् । निर्वाचन जितेको ४ वर्षपछि फेरि एकपल्ट भोट माग्न तपाई–हाम्रो दैलो पसेका नेताहरुबाट हामीले के आशा गर्न सक्छौं ? जिल्लाको मुहार कसरी फेरिन सक्छ ? हामीले सोच्नैपर्दछ ।

निर्वाचनको घोषणासँगै विकृतिको बाढी पनि सँगै भित्रिएको छ । हाम्रो र हाम्रा सन्ततिहरुको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचनलाई केही हजारमा खरिद गर्ने मनोविज्ञान फेरि पनि सल्बलाएको छ ।

निर्वाचन जितेपछि सिन्को नभाँच्ने तर निर्वाचनका बेला असम्भव आश्वासन बाँड्ने, २÷४ हजार रुपैयाँ पैसा र केही बोत्तल रक्सीमा हाम्रो मत किन्न सकिन्छ भन्ने गलत मनसाय अझै पनि इतिहासको चिहान भइसकेको छैन ।

यस्तो बेला छातिमा हात राखेर हाम्रो र हाम्रा सन्ततिको भविष्य र देशको समृद्धिका लागि सोच्न सकेनौं भने भावी पुस्ताले धिक्कार्ने नै छ ।

हामी विकास चाहन्छौं, समृद्धि चाहन्छौं, भ्रष्टाचारमुक्त सुशासित नेपाल चाहन्छौं, समृद्ध पर्वत चाहन्छौं । तर, नेता र उम्मेद्वारहरुबाट सहयोग लिने नाममा कतै हामीले भ्रष्टाचारको बिज रोपिरहेका त छैनौं ? कुनै नेताले ५÷७ करोड खर्च गरेर चुनाव जित्छ भने त्यसको मूख्य काम जनताको सेवा हुँदैन, जिल्ला र आफ्नो क्षेत्रको विकास हुँदैन ।

बरु, चुनावका बेला खर्चिएको आफ्नो लगानी उठाउनु हुन्छ । अनि, जब हामी २÷४ हजारमा बिक्री हुन्छौं, नेताहरुले गलत गर्दा औंला ठड्याउने नैतिक हैसियत गुमाउँछौं ।

जनता किन्ने नेता हामीप्रति उत्तरदायी हुनुपर्ने कुनै जरुरी पर्दैन । हो, यही बिडम्वना फेरि पनि नदोहोरियोस्, मान्छेलाई पशुसरह खरिद गर्ने सोंच इतिहासको रछ्यानमा मिल्कियोस् ।

यसका लागि हामीले राजनीतिक स्थिरता छानौं, आर्थिक विकास र समृद्धि छानौं । अनि, तपाई–हाम्रो मुहारमा कान्ति ल्याउन एकपटक कम्युनिष्टहरुको स्थीर सरकार रोजौं । यसले मात्रै देशको दिशा र दशा बदलिन सम्भव छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया