Home » साहित्य » कथा : एकतर्फी बाटो

कथा : एकतर्फी बाटो

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

दिलिप बान्तवा

झमझम पानी परेको हिँजै बिहानदेखी हो। अहिलेसम्म रोकिने छाँटै देखाउँदैन । आज शुक्रबार, त्यो पनि पाँच हप्ता लामो “लेसन प्लान” र “मेटरियल” बनाईहिँड्ने झन्झटबाट बल्ल हिँजै मुक्त भएको।

बाहिर खल्याङ्मल्याङ सबेरै सुरु हुन्छ । तराईको बर्खायाम, सडकभन्दा अलि परको बसाई भए नि लमतन्नै तेर्सिएको महेन्द्र राजमार्गमा आधा रातदेखी नै हुइँकिने नाईट बस र मालबाहक ट्रकहरुले बजार जागै बनाउँछन् ।

दुई जना साथिहरु घुरिराखेकै छन् म भने उक्खुम गर्मी हुँदा हुँदाको बल्ल पानी पराईले सित्तल थपेपछी सिरकभित्रै बसे पनि ध्यान भने बाहिर पुर्‍याईसकेको थिएँ।

हामी धनकुटा बहुमुखी क्याम्पसबाट टिचिङ्ग प्राक्टिसको लागि तराई झरेका थियौँ पाँच हप्ता पहिला। जम्मा जम्मी १६ जना। आई एड का ९ जना अनि बि एड का ७ जना, त्यसमा पनि हामी आई एड वाला ५ जना त एउटै घरमा बसेका थियौँ। केटाहरु ३ जना र केटिहरु २ जना ।

केटाहरु मुनि तलाको कोठामा थियौँ केटिहरु माथिल्लो तलामा थिए ।
हिजो फाईनल अब्जरभेसन क्लास भएपछी हाम्रो काम सकिएको थियो। तर स्कुलले आगामी आईतबार मात्र औपचारिक बिदाई गर्ने भएकोले तराई झरेको समय पुर्बको निक्कै चर्चित स्थान ईलामसम्म पुग्ने समय भोलि शनिबारको लागि छुट्याएका थियौँ  पाँचै जनाले।

बिहान सबेरै बिर्तामोड पुग्ने र कन्याम, फिक्कल  कतै खाना खाने अनि ईलाम बजार पुगेर अन्तिम गाडिमा बिर्तामोड झरियो भने सजिलै कोठामा आईपुगिन्छ भन्ने योजना बनेको थियो।

म उठेर दुई जना साथिहरुलाई चिया खान उठाउँदै थिएँ, त्यतिकैमा स्कुलको पाले दाइ मलाई खोज्दै आईपुगे । पछि पछि थिए काकाको छोरा दाई र धरान बस्ने कान्छा मामा ।

एक एक वटा छाता ओडेर,  मुख निन्याउरो बनाएर उभिएका थिए । बाहिर पानी नरोकिएकोले भित्रै बस्यौँ। अचम्मै परेको थिएँ किन केका लागि यत्ती हत्ते गरेर मलाई खोजी गरियो केही पत्तो थिएन।

“अनि किन यसरी अचानक मलाई भेट्न आउनुभको?” ” भेट्न होईन तँलाई लिन आको।” एकै वाक्यमा दाईले आदेशात्मक वाक्य बोले। अनि थपे, “तिमारको बुवा हट एटेकले हिजो बित्नुभो बिहान, लगत्तै म धरान कुदेँ साँझमा पुगेँ। अनि आज मामालाई लिएर सोध्दै आको, मलाई त के थाहा काँ हो काँ।”

एकै सासमा बोलिसकेर रोकिए। मेरो भने सास नै चल्न छोडे जस्तो भयो। त्यतिञ्जेलमा  सबै साथिहरु भेला भैसकेका थिए। केटिहरु पनि कचेडा पुछ्दै झरिसकेका थिए। मसंग कुनै शब्द थिएन, न त कुनै प्रतिकृया नै। चारैतिर चुक घोप्टियो।

मामाले सम्झाउन थाले सबै साथिहरुले प्रकृतिको रित हो भन्दैथिए। म भने समयले मलाई मात्रै ताकेर निशाना बनाएको ठानेँ। दाईले हतार लाउन थाले। आजै घर पुगेर बेलुकिसम्ममा संस्कार्नु पर्ने कुरा गरे। संस्कार्ने अर्थात गाड्ने, यो शब्द सोँच्नासाथ भक्कानिएँ, सायद आवाज निस्कने गरि नै रोएँ क्यार। केटिहरु नि पिल्पिलाउन थाले केटाहरुको बोली हरायो। दाइ र मामा नि छट्पटाए।

सायद मन अलि हलुङ् भो क्यार अनि रोकिएँ, साथिहरुले मेरो सामानहरु तयार गरिदिन थाले। युनिफर्म, सामान्य कपडाहरु, जुत्ताहरु, अन्य किताब अनि प्रयोग गरिएका अन्य ब्यक्तिगत सामनहरु।

केटिहरुले एउटा छाता अनि एउटा सानो प्लास्टिक झोलामा प्याक गरिएको कपडा दिए। कसले के गर्‍यो के दियो राम्ररी हेक्कै रहेन। स्वचालित मेशिन जस्तै कोठाबाट बाहिरियौँ तीन जना तीन वटा छाताले ओतिएर, सबै कुराहरु भन्ने र गर्ने जिम्मा साथिहरुलाई नै छोडेर। पानी रोकिएन, निरन्तर दर्किरह्यो, मेरो मन जस्तै निरन्तर।

काँकडभिट्टाबाट धरान जाने बसमा चढेर धरान पुग्यौँ मामाघर। सबैले सम्झाईरहे। लाग्थ्यो अब त कसैले नसम्झाए केही नभन्दिए हुने नि । तर केही बोली आउँदैनथ्यो। हतार हतार दाइ र म घर हिँड्यौँ ।मामा र मामाको छोरा भोलि आईपुग्ने गरि हिड्ने भए कारण हामी हतारमा पुग्नु थियो, मामालाई पैदल हिड्न सकस। घर पुगियो सबै परम्परा सहित बुवाको काम गरियो।

त्यो समयमा त्यसरी छुटेका हामी साथिहरु भेट हुने कुनै मौका जुरेन। आई एडको रिजल्ट नआईसकेकोले फुर्सदमा म  घर नजिकैको स्कुलमा स्वयंसेवक भएर काम गर्न थालेँ। त्यसले केही पीडा भुल्न मद्दत गर्‍यो।

केही महिनामा रिजल्ट पनि आयो, त्यहाँको स्टाफ र हेडसर सबैले त्यहिँ स्कुलमा मिलाएर काम गर्ने बातारण मिलाउन थाले। कारण अंग्रेजी पढाउने जनशक्ती अभाव थियो नि.मा.वि. तहमा।मलाई पनि  अगाडि पढाईलाई मात्र निरन्तरता दिन समस्या थियो, बुवाको मृत्यू पछि घर व्यवहार सम्हाल्ने जिम्मेवारी थपिएको थियो।

दिदिले बिहा गरिसकेकी थिइन अब हामी आमा, म र भर्खर ८ कक्षा पढ्दै गरेकी बहिनी मात्र थियौँ। त्यसैले आमालाई घरको जिम्मेवारी उठाउन सहयोग गर्नलाई नि केही आय आर्जनको काम गर्नु जरुरी थियो मैले र काम गर्ने निधो गरेँ, निजि स्रोत शिक्षकको रुपमा। त्यो संगै डिप्लोमाको लागि पुन: धनकुटा बहुमुखी क्याम्पस मै भर्ना भएँ ।

परिक्षाको समयमा कुदेर धनकुटा पुग्यो, परिक्षामा सहभागी भयो, फेरि कुदेर घर आयो, स्कुल पढायो यस्तै नियमिततामा लामो समय बित्यो। निजि स्रोत शिक्षक, लियन/सट्टा शिक्षक, हुँदै निक्कै पछि बल्ल अस्थायी दर्वन्दिमा पुगियो।

२०५२ सालमा भएको स्थायी शिक्षक छनौटको परीक्षा  पछि लामो समयसम्म अर्को स्थायी छनौट्को प्रकृया गरिएन जसले गर्दा अस्थायी, निजि, लियन, करार जस्ता पदहरु सृजना गरेर स्कुलहरुमा बढिरहेको विद्यार्थी घनत्वलाई धान्ने काम गरियो।

बल्ल २०७० सालमा स्थायी शिक्षक छनौटको परीक्षा देश व्यापी रुपमा संचालन भयो। परिक्षा भएको एक बर्षभित्रमा नतिजा प्रकाशित गरिसकेर पोष्टिङ्गको प्रकृया समेत शुरु भयो।

साहित्यकार

म पनि मा.वि. र नि.मा.बि. तहमा अंग्रेजी बिषयका  लागि परिक्षामा सामेल भएँ र नि.मा.बि. तहका लागि सफल भएँ। एक दसक लामो शिक्षण पेशाले अब स्थायित्व पाउने भो बल्ल।

बर्खे बिदा शुरु हुनै लाग्दा पोस्टिङ्गको प्रकृया शुरु भयो। सकिनु अगावै बिदा भएकोले, बर्खे बिदाको बिचमा जिल्ला शिक्षा कार्यालयबाट नियुक्ती पत्र लिएर घरको बर्खे काममा लागेँ। थाहा भए अनुसार हाम्रो स्कुलमा मा.वि. अंग्रेजी दर्बन्दिमा एक जना नयाँ शिक्षक आउँदै थिए अबको बर्खे बिदा पछि।

बिदा सकिएर स्कुल खुलेको पहिलो दिन। साना कक्षाका केटाकेटिहरु थलोबाट लामो समयपछी खोलिएका गाईबस्तु बड्किएर कुदे जस्तै खेल्दैथिए ग्राउन्डभरी। अलि ठुला कक्षाकाहरु समूह समूह बनाएर गफिँदैथिए। अलि टाढा घर भएका केही स्टाफहरु बाहेक हामी प्राय सबै उपस्थित थियौँ।

सबैले मलाई बधाई दिँदै थिए। किनकी आयोग पास गर्ने एक्लो स्टाफ मै मात्र थिएँ। “अनि हाम्रो अर्को नयाँ स्टाफको आगमन भाको छैन?”  खड्का सरले प्रसंग निकाले। ” मिस आउँदैहुनुन्छ। हिजो अबेला आईपुग्नुभो रे, तल बजार मै बस्नुभएछ। भर्खर फोन गर्नुभा’थ्यो, आईपुग्न लागेँ भनेर।” हेडसरले प्रस्ट बनाईदिए।

“मिस कि मिसेस हुन कुन्नी..?”  नन्द सरले हाँस्दै जिज्ञासा राखे। हुन त उनी पनि अबिबाहित नै भएर चासो राखे कि! “लु त्यो त थाहा भएन फेरि, आएसी नै सोधम्ला..” हेडसरले नि हाँस्दै भन्दिए। प्रार्थनाको लागि घन्टी बजिसकेको थियो। बिद्यार्थिहरु लाईन लाग्न दौडिदैथिए सल्याङ्बल्याङ् गर्दै।

त्यहिँ भिँडमा गेटबाट पिंक कलरको कुर्ता सलवारमा मरुन कलरको पातलो स्वेटर लगाएर सानो छाताले भदौरे घाम छेक्दै लामो केशलाई आधासम्म बाटेर आधा सर्लक्कै छाडेको औसत उचाई, देब्रे काँधमा लेडिज झोला भिरेको नयाँ “मिस” लाई साना  बिद्यार्थिहरुले घेरा लाएर अफिस कोठातिर ल्याए। सबैलाई थाहा भयो उनी नै हुन हाम्रो नयाँ स्टाफ।

अफिस कोठा नजिकिदै जाँदा बिद्यार्थिहरुको भिँड कम भएर गयो। मिस नजिकिईन् ढोकै नेर आईपुगेर। म झल्याँस्स भएँ। सपना हो कि बिपना, छुट्टिएन। “नमस्कार” गर्दै भित्र छिरिन्। म भने नन्द सरको कुमले छेल्लिँदै हेर्दै थिएँ उनलाई, कि मेरो भ्रम त होईन भनेर। किनकी उनी उहीँ मान्छे थिईन् जो दस बर्ष अगाडि टिचिङ्ग प्राक्टिसबाट म एक्कासी फर्किएपछी भेट हुन नसकेको पाँच जना साथी मध्येकी प्रभा।

प्रभा अर्थात “प्रभुदेवी” उनको खास नाम, खोटाङ्ग घर। तर उनले कहिल्यै पूरा नाम भनिनन्। क्याम्पसमा संगै परिक्षा फर्म भर्ने बेलामा मात्र थाहा भयो। अरु कुनै कुरामा उनलाई रिस उठाउन सकिन्नथ्यो, तर उनको पूरा नाम बोलाउने बित्तिकै उनि यसरी रिसाउँथिन कि यो भन्दा ठूलो उनको दुस्मन केही छैन। “तीमि त खतरा कम्बो है, प्रभु र देविको…” हामी जिस्काउँथ्यौंं।

पछि पछि त दिक्दार मान्दै भन्थिन्,”अरु जे सुकै भन मलाई त्यो ओके, तर यो नाम बिगारेर चाहिँ नबोलाउ न प्लिज..!” उनको नामको बारेमा हामी केहिलाई मात्र थाहा थियो। मेजर बिषय मिल्ने मध्ये हामी पाँच जना प्राय नछुट्ने साथी थियौँ। क्लासमा संगै, बाहिर हिँड्दा संगै, बिहिवारे हाटमा तरकारी लिन संगै, कुनै त्यस्तो ठाउँ रहेन जहाँ हामी मध्ये कोहि एक्लै पुग्यौँ।

बसाई भने केटिहरु होस्टल हामी बाहिर डेरा लिएर बसेका थियौँ। त्यो समय राजाको प्रत्यक्ष शासन चल्दै थियो। त्यसैले राजनैतिक पार्टिहरु बाहिर आईहाल्न डराउँथे, सडकमा बिद्यार्थिहरु निरन्तर आन्दोलित थिए। दैनिक फरक फरक खालका आन्दोलनहरु भैरहन्थे, हामी पनि सबै नै ती आन्दोलनहरुमा सहभागी हुन्थ्यौँ भने कहिलेकाँही समूह मै फिल्म हेर्न हलसम्म पुग्थ्यौँ।

समुहमा मलाई प्रभा किन किन खास लाग्थ्यो। लागेको कुरा फ्याट्ट भनिहाल्ने, गलत कुराको खुलेर प्रतिबाद गर्ने, शारिरिक सौन्दर्य भन्दा नि बिचार, ब्यवहार र भावना  सुन्दर अनि असल हुनुपर्छ भन्ने उनको धारणा थियो। सायद यस्तै कुराहरुले प्रभावित र आकर्षित थिएँ म। र कता कता उनी मन पर्न थालेको थियो मलाई। तर मेरो बारेमा उनको बिचार कस्तो छ, थाहा थिएन र थाहा पाउने प्रयास पनि गर्न सकिनँ ।

लाग्थ्यो, म जे सोँच्दैछु त्यो मेरो एंगलबाट मात्र हो, उनमा त्यस्तो कुनै लगाव छैन। अनि कता कता डर पनि लाग्थ्यो, यति आनन्दले मिलेर बसिरहेको ग्रुपमा मेरो ब्यक्तिगत स्वार्थले गर्दा फाटो आउन सक्छ, यदि उनी मप्रती नकारात्मक भईन भने।

यस्तै सोँचे र उनलाई माया गर्छु भन्ने कुरालाई मेरो भ्रम हो भन्ने बनाएँ आफैभित्र। पहिलो बर्षको परिक्षामा हामी सबै पास भएका थियौँ र दोस्रो बर्षको पनि परिक्षा सकेपछी “टिचिङ्ग प्राक्टिस्” मा गएका थियौँ। त्यसैले त्यहाँबाट छुटेपछी केही थान चिट्ठी लेखियो सबै साथिहरुसंग सन्चो बिसन्चो हालखवरका लागि, त्यस पश्चात् सबै बेखवर थियौँ।

“टिचिङ्ग प्राक्टिस” बाट फर्केको केही दिनपछी अस्ति केटिहरुले दिएको प्लास्टिकको प्याकेट खोलेर हेरेको थिएँ, त्यसमा एउटा सेतो कपडामा परेवाको जोडि जमिनमा उभिएर एक आपसमा हेराहेर गरिरहेको दृष्यको पेन्टिङ्ग थियो।

त्यसको मुनि अंग्रेजिमा लेखिएको थियो, “आर्ट एन्ड गिफ्टेड बाई प्रभा।” अनि बेस्सरी अर्थ केलाउन लागेँ त्यो पेन्टिङ्ग हेरेर, तर मेरो पहिला कै तर्कहरु उसै गरि दोहोरिएपछी आफ्नै लयमा फर्किएको थिएँ।

ती समयहरु यसरी ह्वारह्वार्ती आँखा अगाडि ओहोरदोहोर गरे कि बत्तिको स्विच किच्दा चिमले दिने प्रतिकृया भन्दा पनि चाँडै सकिए र मलाई पुनः बर्तमानमा पछारिदिए। त्यतिञ्जेलमा कार्यालय सहयोगिले प्रभालाई बस्ने मेच देखाईसकेका थिए। त्यसपछी पो देखिन् मलाई र अचम्म मानिन्, “आम्मै रबि सर पो यहाँ त!

कस्तो संयोगले आएछु नि म।” मैले भन्न खोजेकै कुरा उनले भनेपछी भनेँ, “अचम्म त म नि भएँ नि, यतिका समय पुरै भुमिगत! बल्ल पो देखिए त योद्धाहरु.. तर उस्तै लाग्यो, हामी त ई बुढेशकालतिर पो लागियो त मिस।” “लौ तपाईहरु पुर्व परिचित पो” लगभग सबैले एउटै जिज्ञासा पोखे पछि अलिकती फ्लासव्याक दोहोर्‍यायौँ दुबैले। स्कुलको नियमितता शुरु भयो।

गोर्खा वेलफेयर स्किमले बनाईदिएको एउटा आधुनिक खाले भवन र स्कुलले आफै बनाएको एउटा भवन शिक्षक कर्मचारिको आवासका लागि छुट्याईएको थियो।

एउटामा टाढा घर भई डेरा गरि बस्नुपर्ने ४ जना शिक्षकहरु र अर्कोमा २ जना शिक्षिकाहरु बस्ने गर्दथे, बाँकी हामी ५ जना स्थानिय शिक्षक थियौँ, आज देखि प्रभा पनि सोही आवासमा बस्न थालिन्।

टिफिनको बेलामा कार्यालय सहयोगी संगै बजारसम्म झरेर केही सामान र आफ्नो ठूलो झोला लिएर छुट्टिपछि प्रभाले आफ्नो बन्दोबस्त मिलाईन्। खास कुराकानी भएन त्यो दिन, बर्खे कामको चपेटाले छाडेकै थिएन घरमा। त्यसैले धेरै कुराहरु मनमा खेलाउँदै घर फर्किएँ।

भोलिपल्ट टिफिनको बेलामा क्यान्टिनमा चिया खाँदै जिस्काउने पारामा सोधेँ, “अनि मिस कसरी यहाँसम्म आईपुग्ने पाउ कस्ट गर्नुभयो नि.?” “चुप लाग, के को मिस! स्कुल भन्दा बाहिरको समयमा खुरुक्क मिस र तपाईं शब्द डिलिट गर त!” कलेज पढ्दाकै शैलिमा धम्क्याईन्। मैले नि उहीँ शैली अपनाएँ र टाउको हल्लाएँ।

” अनि तिमि पहिला देखि नै यहाँ हो? चिट्ठी लेख्दा त भन्थ्यौ पढाउन थालेको छु भनेर” अलिकती लजाए जस्तै गरेर सोधिन्।
“यहाँदेखी कहिँ गए त मरिजाऊँ…अनि तिमी कसरी यहाँ आईपुग्यौ?” सोधेँ।

“अनि यो पटक भोजपुरमा धेरै कोटा थियो नि त, त्यहिँ भएर यहाँबाट भरेको थिएँ। पास गरेपछी यहाँको कुनै ठाउँ त थाहा थिएन, स्कुल छान्ने बेलामा ठिक्क तिम्रो गाउँ सम्झेँ अनि स्कुल हेरेको यहिँ स्कुलमा खाली रहेछ र यसैमा भरेको।” एकै सासमा भनिन्।
“अनि गाउँ पो याद गरेछौ त मलाई त होईन रहेछ नि!” जिस्काएँ।

“मान्छे त बेखवर भएपछी सम्झेर नि के काम… तर यसरी भेटिन्छ भन्ने कलपना सम्म थिएन मेरो। कमसेकम तिम्रो गाउँमा आएर तिमिलाई सोधेपछी त यहाँको मान्छेहरुले केही सहयोग गर्लान भन्ने सोँचेर छानेको हो।

तिमी त यहाँ छैनौ पक्कै कता अन्तै गैसक्यौ होला भन्ठानेको मैले त।” अलिकती हाँसेर आफ्नो छोटो यात्रा बिबरण सुनाईन्।

हुन त सञ्चारका बिबिध प्रविधिहरु आईसकेको सत्तरिको दसकमा समेत बेखवर भएको हामी आफैलाई सम्झेर हाँस्यौँ एकछिन। टिफिन सकियो, पुन: लाग्यौँ आफ्नो काममा।

मलाई जिज्ञासा लागिरहेको थियो, कि प्रभा यति लामो समय कहाँ, के गरेर बसेकी थिईन् होला! भोलिपल्टको टिफिनमा अफिस कोठा मै गफिन थाल्यौँ सबै जना। छुट्टिभरिका आ आफ्ना अनुभुतिहरु सुनायौँ। “अनि प्रभा मिस, तपाईं पहिला कहाँ कार्यरत हुनुहुन्थ्यो कि पहिलो चोटि पास गरेर आउनुभएको हो?” हेडसरले कुरा निकाले।

“म फ्रेशबाटै पास गरेर आ’को हो सर। पहिला आई एड सकेपछी केही महिना गाउँ मै निजि स्रोतमा काम गरेँ अनि पछि छोडेर एउटा गैर सरकारी संस्थामा निक्कै समय काम गरेँ।

डिप्लोमा दिक्तेलबाटै गरेर मास्टर्सको लागि काठमाडौ पुगेँ। अनि मास्टर्स सकेर एउटा उच्च मा बि मा  काम गरेँ नि सर २/३ साल। आयोग चैँ भोजपुरमा अलि बेसि माग संख्या देखेर यताबाट भरेको थिएँ।” प्रभाले अहिलेसम्मको आफ्नो बिगत छोटकरिमा सुनाईन।

उनी आफुलाई लागेको कुनै पनि कुरा गर्न खासै नधकाउने मान्छे, आईपरेको समस्यामा सहयोग लिईहाल्न नि सक्ने र अरुलाई सहयोग गर्न नि ढिला नगर्ने बानी भएकोले स्कुलमा र बिद्यार्थिहरुको माध्यमबाट उनको चर्चा गाउँमा नि अभिभावकहरु सम्म राम्रै गरि पुग्यो। साथमा हामी क्याम्पसमा सहपाठी भएको कुरा पनि लगभग धेरैले थाहा पाईसकेका थिए।

७२ सालको महाभुकम्पको कारण शैक्षिक सत्रको शुरु मै बिद्यालयहरु प्रभावित भए। टाढाका स्टाफहरु लगभग सबै आईसकेका थिए। केहिदिन बिद्यालय बन्द गरेर गाउँमा क्षतिग्रस्त भएका घरपरिवारहरुको सहयोगमा स्कुल स्टाफहरु लागिपर्‍यौँ। भुकम्पपछिको अर्को हप्ताको आईतवारवाट स्कुल खुल्दैथियो।

म शनिबार बेलुकी सामान्य घरायसी काम सकेर सरसफाईमा थिएँ। पल्लो गाउँको मुलघरे काका टर्चलाईट लिएर आईपुगे। घरभित्र बस्यौँ। श्रीमतिले जाँड बनाईन् र खाँदै गफियौँ, “होईन हओ कान्छा, त्यो शिवे तिम्रो साथी बिहा गर बिहा गर भन्दा नि टेर्दैनथ्यो।

अस्ति हप्ता दस दिन जतिको बसाईमा बिहा गर्न मनाएर पठाको छु। अब सुहाउँदो बुझ्दो केटि हेर्दिनुछ हओ।” काकाले कामको मेलो निकाले। “त्यो त राम्रो कुरो त काका, मैले नि निक्कै खेप सम्झाको थिएँ उसलाई मन्दै नमान्ने, अनि अब जबर्जस्ती भिँडाईदिन नि नमिल्ने।” मैले भनेँ।

“होईन, कुरो किन लुकाउनु र! अस्ति आउँदा नयाँ मिससंग देखभेट नि भएछ होईन तिमेरु संगै हुँदा?  ती मिस लच्क्षिनकी लाग्छिन, पौरखी खालकि। अस्ति त्यो भुईचालोले भत्काको तल्लो टोलमा जाँदा कम्ता फुर्तिले काम गरिन त! हाम्रा गाउँका आईमाई काँ त्यसरी गर्छन खोइ! सबै रमिते।

त्यहिँ भएर मलाई नि निको लाग्छिन तिनी।त्यललाई राम्रो लाग्यो रे, मैले करकर गरेपछी कुरा गरिहेर्नु नि त भन्दै झर्केर हिँडेको छ। मिसले नाई भनिनन भने गर्थ्यो कि ।

त्यहिँ भएर तिमेरु त मिससंग नि संगै पढेका रे भनेको सुनेर यसो कुरा सोधिदिन लाउन पो आको त म त।” काकाले एकै खेपमा आफ्नो कुरा गरिसिध्याए। मलाई कता कता किन हो, खल्लो लाग्दैथियो।

कलेज लाईफमा पहिलो चोटि माया गरेको मान्छे आफ्नो कुरा भन्न नसकेर एकाएक टाढिएको लामो समयपछी सबै कुराहरु लगभग स्मृतिको गर्तमा पुगिसकेको बेला अचानक भएको जम्काभेट र त्यो भेट पछि उत्पन्न भएको मनोदशाले फेरि आफुलाई स्वार्थी बनाईरहेको हो कि भन्ने लाग्न थाल्यो।

अर्थात उनको म भन्दा बिल्कुल आफ्नो फरक जिन्दगी बाँकी नै छ भन्ने कुरा झन्डै बिर्सन खोज्दैरहेछु। उनिसंग भेटेपछी धेरै चोटि हामी त्यो बिगतमा पुग्यौँ।धनकुटाको चटपटे ठेला, मुसलधारे पानीमा त्रिपाल ओढ्दै गरेको चक्काजाम, पुलिससंग छल्लिदै गरेको मशाल जुलुस, धनकुटा ब्ल्याक आउट, फिल्म हल, चुलिबनतिर मनाईएको न्यू ईअर, लेडिज होस्टलको वेटिङ्ग हटमा चाउचाउ खाँदै गफिएको, घन्टौँ सम्म पाँच लिटर मट्टितेल लिन कुपन बोकेर बसेको लाईन जस्ता थुप्रै यादहरु सम्झ्यौँ।

अनि टिचिङ्ग प्राक्टिसमा जाँदा रातभर जाग्राम जस्तै बसेर बनाईने “लेशन प्लान” “मेटरिअल”, चित्त बुझ्दो नभएर धेरै पटक च्यातिएका कुरा, उक्खुम गर्मीमा कहिलेकाहिँ रोडतिर अबेलासम्म हावा खाएको कुरा, साईकल सिक्ने हुँदा लडेर हिड्नै नहुने गरि मेरो खुट्टा चोटग्रस्त भएको कुरा अनि अन्तिममा ईलाम घुम्ने योजना अपुरो भएको कुराहरु गरिसकेका थियौँ।

त्यसमा बाँकी साथिहरुलाई निक्कै “मिस्ड” गर्दैथियौँ। यी सबका बिच हामी पुन: पहिला कै आत्मियतामा पुगिसकेछौँ, आज मात्र महसुस भयो काकाको कुराले।

शिव हामिसंगैको साथी हो। एस एल सि पछि ईन्जिनियरिङ्ग पढ्यो।अहिले आफै कन्सल्टेन्सी चलाएर बस्छ धरानमा। बिबाह गर्न हत्ते गर्दा नि नमान्ने। अस्ति भुकम्पभन्दा अगाडि गाउँ आएको थियो। त्यहिँ भुकम्पले गर्दा रोकिएर भर्खर अस्ति दुई दिन अघि मात्र फर्किएको थियो।

उसंग तल्लो गाउँ उद्दारमा संगै थियौँ र परको चौतारोसम्म संगै गफ गर्दै निस्किएका थियौँं हेडसर, प्रभा र म सहित। काकालाई “हुन्छ म कुरा गर्दिन्छु नि” को आस्वासन दिएर बिदा गरेँ। “साँच्ची ती मिस त सार्‍है मजाको मान्छे। कुराकानी, काम सबैमा ठिक्क।

अस्ति जिल्लाबाट संगै एउटै गाडिमा आउँदा धेरै कुरा गरिम्। कलेजको राजनितिमा नि निक्कै लागेको कुरा गरिन्।” श्रीमतिले नि प्रभालाई तारिफ गरिन।

श्रीमती एउटा गैर सरकारी संस्थाको जिल्ला स्थित कार्यक्रम संयोजक भएपछी १५ दिन उता १५ दिन जति मात्र घर बसाई हुन्छ। त्यसैले मेरो घरायसी जिम्मेवारी बढेको छ। साथमा बुढी आमा र सानी छोरी मेरो हमेशाको साथी हुन्छन्।

भोलिपल्ट कसरी प्रभालाई कुरा अगाडि बढाउने कुनै आईडिया फुरेन। टिफिनको बेला हेडसरलाई सुटुक्क सबै कुरा सुनाएँ। उनी गोपनियतामा कहलिएका मान्छे, गोप्य राख्नुपर्ने बिषयमा मर्न सहि तर भन्दैनन् त्यसैले सुनाएँ।”भरे छुट्टिपछी मिसलाई राखेर भनौँला नि त” हेडसरको कुराले अलिकती आँट भरिएर आयो।

छुट्टी भयो, अन्तिम क्लास सकेर अफिसमा आउँदा सबै स्टाफ बाहिरिसकेका थिए, प्रभा भने यो बर्षको विद्यार्थी भर्ना औसतलाई बारग्राफमा उतार्ने प्रयासमा थिईन्, जुन हेडसरको आईडिया रहेछ उनलाई अफिसमा राखिरहनका लागि। कुरा शुरु गरे हेडसरले, “प्रभा मिस्, रवि सर केही कुरा गर्न खोज्दैहुनुन्छ तपाईसग त्यसैले तपाईलाई रोकेको मैले।” उनी अलि अचम्म परिन्,”के कुरा हो र सर त्यस्तो, अरुले सुन्नै नहुने खालको?” प्रभाले प्रतिप्रश्न गरिन्।

त्यसपछी मैले हिजो बेलुकी काकाले भनेको कुरा जस्ताको तस्तै दोहोर्‍याएर भनेँ र शिवको बारेमा थप जानकारी नि गराएँ। निक्कै बेर अडिएर मलाई सुनिन् अनुहारको भाव हेर्न सकिनँ क्यार अन्तै कतै आँखा डुलाउँदै आफ्नो कुरा सिध्याँए।

अन्तिममा हाम्रो आँखा जुध्यो, उनी गम्भीर देखिइन् र हेडसरतिर फर्किएर भनिन्,”सर म बिचार गर्छु र भोलि रवि सरलाई नै सबै कुरा भन्छु नि ल…” यति कुरा पछि छुट्यौँ हामी। हेडसर र म गफिदैँ गेट कट्यौँ प्रभा कम्पाउण्ड भित्रकै सानो गेटबाट आवास बिल्डिङ्गतिर लागिन।

भोलिपल्ट उहीँ दिनचर्या बित्यो। स्कुल छुट्टी भयो, सबै हिँड्ने तरखरमा थिए। म भने बेतोडले पर्खिरहेको थिएँ प्रभाको कुरा सुन्न तर उनी त सरसर आवास बिल्डिङ्गतिर पो लागिन चुपचाप।हेडसर मुस्कुराउँदै गेटतिर लागे। म एक्लै छोडिएँ अफिस कोठामा।

कार्यालय सहयोगिले कक्षाकोठाहरुको अन्तिम निरिक्षण गरिसकेर आउँदै गर्दा म नि झोला टिपेर बाहिरिएं। गेट कट्नै लाग्दा प्रभा  देखिइन् मतिरै आउँदै गरेको। लुगा फेरेर आउँदैरहिछिन्।लामो कपाललाई टिमिक्कै फेदमा बाँधेर छाडेको, पातलो ब्लु जिन्स पाईन्ट, गुलावी टि-सर्ट अनि त्यही रंगको विन्ड प्रुफ ज्याकेट र स्पोर्ट सुजमा थिइन् उनी।

नजिकै आईपुगेर भनिन्, “आज तिम्रो गाउँ म डुलाउँछु लु आउ।” सरासर अघि लागिन्। कलेजमा नि ठिक यस्तै गर्थिन् कुनै गहिरो पीडा या कुनै तनाबले सताएको भए उनको पछि लगाएर लाईब्रेरी, क्यान्टिन, वेटिङ्ग हट या यस्तै कतै पुर्‍याउँथिन् र पर परको क्षितिज हेर्दै आफ्नो दुखेसो पोख्थिन्।

आज त्यहिँ झल्को दिने गरि हिँडिन म उनको पछि पछि छाँया जस्तै हिँडिरहें।स्कुलभन्दा मुनि अलि निक्कै फैलिएको सल्लाघारी अनि त्यो भन्दा मुनि एउटा बरपिपल चौतारी। बैशाखको हुरि अन्तिम सातामा पनि उत्तिकै मडारिरहेको थियो।घाम ट्याम्केपछाडी लुक्न खोज्दै गर्दा हामी चौतारिमा बस्न पुग्यौँ।

मान्छेहरुको खास आवतजावत नहुने भएकोले स्कुल छुट्टी भएपछी सुनसान हुन्छ त्यो चौतारी। “तिमिले लभ म्यारिज गरेको हो?” मौनता चिर्दै सोधिन उनले नै। “हो” को भावमा टाउको हल्लाएँ। “कसरी लभ गर्‍यौ होला के तिमिले, आफ्नो साथिको प्रस्ताव राख्न त खेताला चाहिने त्यो पनि तिम्रो फेस कति टिठ लाग्दो थियो, याद छ तिम्लाई?” कुरा निकालिन उनले नै।

उनलाइ राखिएको प्रस्तावमा मेरो प्रेम कहानी कसरी जोडियो मैले बुझिनँ। “त्यो अब कुरै त्यस्तो हो नि त…” हाँस्दै उत्तर दिएँ। “बास्तबमा तिमिलाई पर्खिनु शुरु मै मेरो गल्ती थियो…ल ओनेस्ट्ली भन त आज, तिमी मलाई लाइक गर्थ्यौ कि होईन?” उनले घाँटी मै ङ्याकिन् मलाई।

आकस्मिक उत्तर नै थिएन। मन मात्र पराएको नभई कति चोटि आफ्नो कुरा राख्न गरेको असफल प्रयास र त्यसबाट निकालेको अन्तिम निष्कर्ष समेत भनिदिएँ। उनमा कस्तो अनुभूत

भयो त्यो त राम्ररी बुझ्न सकिन, तर म भने उनको  अप्रत्यासित कुराले निक्कै भावशुन्य भएँ। “कलेजमा सबैभन्दा नजिक कसैसंग हुन्थेँ भने त्यो तिमी थियौ, आफ्नो सबै कुराहरु भन्थेँ कसैसंग भने त्यो तिमी थियौ, झगडा गरिरहन्थेँ कसैसंग भने त्यो तिमी थियौ,बारम्बार भेटिरहन्थेँ कसैलाई भने त्यो तिमि मात्र थियौ। तर तिमिले मलाई कहिल्यै स्पेशल सोँचेनौँ।

मलाई लाग्थ्यो, तिमी पनि मलाई माया गर्छौ तर त्यो कहिल्यै तिमिले देखाएनौ वा चाहेनौ।” पर पर हावामा मडारिरहेका बादलका टुक्रासम्म आँखा फैलाएर बोलिरहिन् उनी।

मलाई लाग्थ्यो, उनका ती सब गतिबिधी र ब्यबहारहरु स्वभाविक र सबैसंग उस्तै थियो । तर ती सब प्रेमिल अभिब्यक्ती थिए भन्ने कुरा मैले कहिल्यै बुझिनँ। म त सँधै आफुभित्र रहेको उनिप्रतिको प्रेम समेत दबाएर राखिरहेँ।

“निक्कै पछि मात्र तिमिले बिहे गरेको कुरा थाहा पाएँ, त्यो समय सम्हालिन निक्कै सकस परेको थियो र पनि एक पटक तिमिलाई जसरी नि भेटेर सबै कुरा सुनाउने धोको थियो। अचानक, संयोगवस हामी भेटियौँ । भेटेकै दिनदेखी यी सब भन्न चाहन्थेँ तर परिश्थिती अनुकुल भेटिएकै थिएन, बल्ल आज त्यो अवसर मिल्यो।

म तिम्रो अगाडि अरुसंग बैबाहिक सम्बन्धमा रहन सक्दिन रवि, म त्यति स्ट्रङ्ग छैन। तिमिलाई एक पटक भेटेर मनका कुराहरु सबै सुनाउने धोको थियो कि म तिमिलाई कति माया गर्थेँ भनेर। तर समयले मेरो चाहना भन्दा नि बढी मौका जुरायो।

संयोगवस तिम्रै गाउँमा आईपुगेँ। तिम्रो परिवार, समाज अनि तिम्रो जिन्दगिलाई नजिकबाट चिन्न पाएँ। तिमी एकदमै भाग्यमानी रहेछौ। खुशी र सुखका साथ जिईरहेको छौ। म त तिम्रो यहिँ खुशी देखेर सन्तुष्ट छु।

जुन दिन तिमिलाई मन पराएँ, मनमनमा आफ्नो सोँछे त्यो दिनदेखी मैले अर्को मान्छेलाई तिमि बसेको ठाउँ दिनै सकिनँ, अनेक प्रयास गर्दा पनि।

अब त म तिम्रा त्यतिबेलादेखी अहिलेसम्मका यादहरु लिएर एक्लै पुरै बाँकी जिन्दगी जिउन सक्छु।” यति भनिसकेर पिपलको पछाडिपट्टी छेलिईन उनी, सायद आँसु पुछेर आईन्, मैले पनि झोलाबाट चुरोट निकालेर सल्काएँ। धुँवासंगै बिगत र बर्तमानका मिक्सअप अनुभुतिहरु निरन्तर उडिरहे।

साँझ पर्दैथियो, अघिको हुरि रोकिएर सल्लेरिमा झ्याउँकिरिहरु कराउन थालिसकेका थिए। केहिबेरको सन्नाटापछी त्यो बिगतलाई एकछिन समीक एकै गरेपछी  उनी उकालो स्कुलतिर लागिन् म तेर्सो बाटो पच्छ्याउन थालेँ एउटा गर्‍हुङ्गो भारी बिसाएर फेरि अर्को कहिल्यै नछुट्ने एउटा भारी लिएर।

“प्रभा मिसको त अर्को मान्छेसंग बिहा गर्ने कुरा रहेछ सर, हाम्रो कुरा सफल भएन नि!” भोलिपल्ट हेडसर एक्लै भएको मौकामा भनेँ। “अनि त्यति कुरा त त्यहिँ दिन भन्दा हुन्थ्यो नि त हौ। यो छोरिमान्छेहरुको कुरै बुझ्न नसकिने।” बुढा आफै भुत्भुताए। यहिँ खवर काकालाई नि दिएँ।

लामो बर्खे बिदा पछि स्कुल खुल्ने अघिल्लो दिन प्रभाको फोन आयो। उनी आउँदैछिन भन्ने जानकारी त दिएकी थिइन् अहिले भने आईसकेर भेट्नै बोलाईन्। भदौरे कामको ब्यस्तताबाट उम्केर बेलुकिखेर उनकोमै भेट्न पुगेँ।

केही कोशेली नि खाइयो। “रवि उता मेरो गाउँको स्कुलमा खाली हुने रहेछ, सरुवा जाऊँ कि भन्ने सोचेको, के गरुम म भन न ?” उनको यो अर्को अप्रत्यासित कुराले झसंग भएँ भर्खर निन्द्रावाट ब्युँझे जस्तै।

यस्तो कुरा थियो यो, जसमा तिमी नजाउ, यहिँ बस्नुपर्छ भन्ने मेरो नैतिक हैसियत थिएन। अनि ठिक छ तिमी जाउ भन्न मसंग हिम्मत थिएन। बर्षौँसम्म एक्लै एकांकी माया बोकेर बसेको मान्छेले पनि अन्ततः त्यति नै माया गरिरहेको थाहा पाउँदा मृगतृष्णामा भेटिएको पानीको बुँद जस्तो बनेको थियो तर यो हेक्कै रहेनछ कि त्यो बुँद पनि पुनः  सुकेर जानेछ।

“त्यो त तिम्रो चाहनाको कुरा हो, घरपायकमा जान पाउनु एउटा मौका पनि हो। एउटा शिक्षकको लागि घर पायक भन्दा अरु सुबिधा नै के छ र! त्यो पनि थोरैलाई मात्र जुर्छ है। बाँकी निर्णयको अधिकार तिमी मै छ।”

मनलाई थिचेर भनेँ। निक्कै बेरको मौनतामा उनले भनिन्, “ठिक छ उसो भए तिमिले यहाँको लागि सहयोग गर्नुपर्छ, आवस्यक कुराहरु सबैलाई सम्झाईदेउ न ल!”

प्रभाको सरुवा प्रकृया सुरु भयो। उनिसित भेटिएको लगभग एक बर्षपछी उनी फेरि त्यसरी नै अलप हुँदैछिन् जसरी म पन्ध्र बर्ष पहिला छुटेको थिएँ।

यता र उताको शिक्षा कार्यालयहरुमा आवस्यक कागजी प्रकृया संग संगै केही आर्थिक कारोबार समेत गर्नुपरेको तितो यथार्थ नि सुनाईन् ।सबै सकेर दशैँ तिहारको बिदा पछि सरुवाको औपचारिकता सकिने गरि छुट्टी भयो।

दशैँ तिहार सकिँदै थियो। छठसम्मै बिदा थियो। छठको अघिल्लो दिन प्रभाले फोन गरिन्, “रवि, हेडसरले आज फोन गर्नुभएको थियो, औपचारिक बिदाई गर्ने भनेर।

सबै स्टाफ, अभिभावक भएर बिदाई गर्ने रे स्कुल लागेको भोलिपल्ट। त्यो बेलामा तिमी भयौ भने सायद म आफुलाई सम्हाल्न सक्दिनँ। त्यसैले तिमी अनुपश्थित भैदिन सक्छौ?” झण्डै रोएको आवाजमा उनले प्रस्ताव राखिन्। त्यो समय सायद उनलाई भन्दा मलाई मुस्किल पर्थ्यो होला।

मैले स्विकार गरेँ र लाईन काटेँ। यादहरु कत्ती निर्मम हुँदा रहेछन्। त्यो पुरानो घाउ लगभग निको भैसकेको बेलामा बल्झियो एक्कासी, बल्झिएको ठाउँ अलिलि पुरिँदै गर्दा खुर्सानी छर्किएको आभास भयो। तैपनी निर्बिकल्प सत्य, समय र परिश्थिलाई चुपचाप सहनु थियो।

त्यसैले हेडसरलाई जानकारी गरेँ कि म काठमाडौ जानुपर्ने काम आईपर्‍यो, एक हप्ता ढिलो गरि मात्र स्कुल आईपुग्छु भनेर। अनि मृगौलामा भएको पत्थरिको नियमित चेकजाँच र औषधि लिन नि बाँकी भएकोले छठको दिन त्यसका लागि धरान झरेँ। काठमाडौ गईनँ। धरानतिरै साथिभाईहरुसंग डुलेर पाँच दिन बिताएँ।

आज गाउँ फर्किँदैछु। रित्तो रित्तो महसुस हुँदैछ, किनकी अब त्यो स्कुलमा प्रभा हुँदिनन्, सिर्फ उनका ती पहिलेका यादहरुको शृंखलामा नयाँ यादहरु थपेर छोडेको निक्कै अग्लो स्मृती मात्र हुनेछ। उनले हिजो फोन गरेकी थिइन् घर पुगेर। आजदेखी नयाँ स्कुलमा हाजिर हुँदैछिन्।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया