Home » साहित्य » कथा–धरहरा

कथा–धरहरा

दिलिप वान्तवा

“कुमारी क्लब, टियू गेट, नयाँ बाटो हुनुन्छ भने भाडा लिएर अगाडि आउँदै गर्नुस है…” बल्खुमा सिन्की खाँदे झैँ यात्रु खाँदेर हिँडेको मिनि बसको सहचालक ढोकामा अटिनअटि उभिरहेका अन्य यात्रुहरुको चेपमा एउटा खुट्टा राखी अर्को चाहिँ  हावामा झुन्ड्याएर ढोका ढकढक्याउँदै चिच्यायो।

झमक्क साँझ पर्दै गरेकोले यात्रुहरुको चाप बढी थियो, टेक्ने ठाउँ नभए  नि अटेसमटेस गरेर निस्कनै पर्‍यो। म भने रत्नपार्कबाट चढेकोले टेकुनिर आईपुग्दा बस्ने सिट पाएर मक्ख थिएँ।

अनि किर्तिपुर नयाँ बजार, पाँगा दोबाटो हुँदै पाँगा चोकमा उत्रेर दाहिनेपट्टिको अलि साँघुरो बाटोतिर लाग्नु थियो। जहाँ ती अनगिन्ती बिगतहरुको चाङ् थुप्रीएको थियो, जसलाई लामो समयदेखी केलाउने मन भएर नि सकिरहेको थिईनँ। त्यसैले आज भने त्यो अतृप्ततालाई पुर्णता दिनका लागि अनायासै त्यो यात्राको सुरुवात गरेको थिएँ।

गोरखाको भुकम्प प्रभावित ग्रामिण बस्तिमा कार्यक्षेत्र, मनसूनको अन्तिम वर्षात हुन सक्छ अलि चिसो सहितको सिमसिम पानी रातिदेखी नै परिरहेको ।

 गाउँदेखी ठ्याक्कै पारिपट्टी देखिने तनहुँको दमसाईलो गाउँको बिचमा वारपार किराँती महिलाले सेतो पटुकी बाँधे जस्तै भुइँकुहिरो तन्किएको ।

काठमाडौको धुँवा, धुलो, हिलो, कोलाहल र भद्रगोल सम्झेरै उता नगएको निक्कै महिना बितिसकेको थियो। मासिक रिपोर्टिङ्ग र स्टाफ मिटिङ्गमा पनि अरु साथिहरु नै जाने गर्थे ।

यतैको प्राकृतिक सुन्दरता, ग्रामिण परिबेश, गाउँलेहरुको अबोध र निस्कपट माया, सुनसान वातावरण यी सब मेरा लागि प्रीय लाग्छन्। तर आज किनकिन आफैलाई काठमाडौ पुगौँ पुगौँ लाग्यो र अर्को एक जना स्टाफ संगै लाग्यौँं हामी।दिनभर नै सिमसिमे पानीले पच्छ्याईरह्यो।

अलि सबेरै काठमाडौ उत्रेर कार्यालयमा उपस्थिती जनाई साथिलाई कार्यालयको आवास मै छाडेर म भने किर्तिपुर ज्याँखामा भएको भाईको डेरा तिर हान्निएको छु। भाइ त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा समाजशास्त्र चौँथो सेमेस्टरको विद्यार्थी। उसंग भेट नभएको नि थुप्रै भएको थियो, म घर नगएको त बर्षदिन कटिसकेको छ र भाइ भर्खर महिनादिन अघि घर पुगेर आएकोले पनि उताको हालखवर  बुझ्न पाईने लालसा मनमा पलायो।

ज्याँखामा बिस्तार हुँदै गरेको बस्तिको बिचमा अधबँशे उमेरको अढाई तले घरको मुनि तलामा भएका पाँच वटा कोठा सवै भाडामा लगाएका थिए घरवेटिले। तिनै कोठाहरु मध्ये अगाडिपट्टी फर्किएको झ्यालवाला कोठामा पाँच बर्ष पहिले डेरा बस्न पुगेको थिएँ। टियूमा सेमेस्टर प्रणालिको शुरुवात भएको थिएन।ग्रामिण बिकास बिभागको पहिलो बर्षको बिद्यार्थिको रुपमा टियूको कम्पाउण्ड प्रबेश गरेको थिएँ त्यो बेला।

बाथरुम, ट्वाईलेटमा धारा जोडिएको भए नि पानी कहिल्यै नआउनु, डेरावालहरुको लागि पहिलो समस्या हो काठमाडौमा। त्यसैले म बसेको वरपरका प्राय सबै अलि पर धानखेतको भित्तामा नियमित आईरहने धारामा पानी लिन जान्थ्यौँ।

माथी चन्द्रागिरिको फेदबाट पाईपलाईनमा ल्याईएको सो पानी ललितपुर पुग्छ भन्थे, र बिच बिचमा साना साना धाराहरु छोडिएका थिए। तिनै मध्येको एउटा धारा हामी प्रयोग गर्थ्यौँ।

नियमित ज्याँखा बसाईको लगभग डेढ महिना पछिको एउटा बिहान पानी लिन जाँदा एक जना अपरिचित महिला बाल्टिन र ग्यालेन बोकेर म भन्दा अगाडि लाईनमा उभिएकी थिईन्। लगभग १२/१४ जनाको पछाडी थियौँ हामी। पालो आउन निक्कै समय पर्खिनुपर्ने देखियो।

त्यसैले उनको ध्यान तानेर बोलाएँ उनलाई। उनी भर्खर हिजो आईपुगेकी रहेछिन काठमाडौ। ब्यवस्थापन बिभागको पहिलो बर्षको विद्यार्थी रहेछिन् घर सिन्धुली, नाम श्रद्धा ।

अनि यहाँ म बसेको अगाडि पट्टिको घरमा एक जना साथिसंग डेरा बस्ने रहेछिन्। साथी दोस्रो वर्ष समाजशास्त्र बिभागको विद्यार्थी रे! आपसी चिनापर्ची भैसक्दै गर्दा हामी दुबै धाराको मुखै नीर पुगिसकेका थियौँ।

क्लासको सिफ्ट संगै भएकोले हाम्रो टियू यात्रा संगै हुन थाल्यो।नयाँ बजार गेटबाट खेतै खेत देब्रेपट्टि हिँडेर ग्रामिण बिकास बिभागसम्म संगै अनि उनी ललितकला बिभागको छेउ हुँदै ब्याबस्थापन बिभागको बिल्डिङ्गतिर लाग्थिन्। क्रमशः भेटिने समयहरु आफै नै निर्धारण भएर गए हाम्रा ।

अर्थात बिहान पानी भर्ने, कलेज जाने, कलेजबाट फर्किने, छुट्टिको दिन हिँड्दै परसम्म पुग्ने। यी नियमितताहरु हामिले निर्धारण गरेनौँ, सल्लाह गरेनौँ। तर पनि संगै हुन्थ्यौँ। सायद उनी पनि म जस्तै मेरै समयमा आफुलाई डोर्‍याउन चाहन्थिन कि, मेरो भ्रम थियो त्यो। मज्जाले छुट्याउन निक्कै समय लाग्यो ।

भत्केपाटी, चौकी, गुम्बा, नयाँ बजार, पाँगा, भाजंगल बिहान सबेरै दौडदा फन्को मार्ने ठाउँहरु थिए।  हरेक भेटमा अन्तरंग कुराकानिहरु थपिन्थे। केही समयका, केही समाजका अनि बाँकी जिवनका। जिन्दगिलाई हेर्ने दृष्टिकोण समान थियो मसंग उनको।

बिहान अबेरसम्म हुस्सुले लछप्पै ढाकेको काठमाडौ बिहानभरी पनि गज्याङ्मज्याङ् कपाल लिएर पँधेरा पुगेकी पँधेर्नी जस्तै देखिन्छ। त्यो याममा हामी पनि रिमरिम उज्यालो हुँदै गर्दा कहिलेकाहिँं बाहिरिन्थ्यौँ कोठाबाट र माथी खेतै खेतको बिच हुँदै चन्द्रागिरी ताकेर जाने सडक पच्छ्याउँदै पुष्पलाल अध्ययन केन्द्र परिसर सम्म पुग्थ्यौँ।

एकदिन उताबाट फर्केर आउँदै गर्दा भेटिने एउटा फँलैँचामा बसेर सोधिन्, “तिमी जहाँ जाँदा नि म संगै गैरहेको हुन्छु, किन होला, तिमिलाई के लाग्छ?” उनले घुमाएर सोधे पनि सोधाईको निशाना थाहा थियो मलाई। अस्वभाविक थिएन सम्बन्ध, त्यसैले उनको सुरुवाती प्रश्नलाई सार्थक निचोड सहित त्यो दिनदेखी एउटा नयाँ सम्बन्धको औपचारिक सुरुवात गर्‍यौँ।

त्यस ठाउँवाट कोठासम्म पुगुन्जेल खासै केही बोलिएन, फगत मनसंग निरन्तर अनगिन्ती तर्कहरु गर्दै हिडिरह्यौ समानान्तर र सायद उनी पनि म जस्तै थिईन्।

फ्रेन्ड्शिप भन्दा अलि बढी केअर हुने रहेछ। मेरो पहिलो दिनको प्रेम अनुभव थियो। उनिसंग भए पछि अब मैले प्राप्त गर्नुपर्ने चिज र पुग्नुपर्ने गन्तव्य अरु छैन भन्ने लाग्ने। एक तमासको आनन्द। त्यस क्रममा दुई जना भएर थुप्रै बाटोहरु हिँड्यौँ। धेरै ठाउँ पुग्यौँ।  पहिलो चोटि संगै भएर धरहरा चढ्यौँ। स्वयंभुमा फन्का मार्‍यौँ, टौदह पुगेर पानीभरी घामको छाँया हेर्दै जिन्दगिको काल्पनिक चित्रहरु बुन्यौँ।

२०७० सालको संविधानसभा निर्वाचनको बेला निर्वाचन लक्ष्यित उद्देस्यले हामी गाउँ फिर्‍यौँ। म झापा उनी सिन्धुली। चुनाबी दौडान पछिको केही समय गाउँ मै रहेँ। त्यहिँ बेला सदरमुकाममा एउटा गैर सरकारी संस्थाले आकर्षक तलबमा कर्मचारी खोजेको रहेछ र कुरा बुझ्न लागेँ।

उता पढाइ पनि लगभग दोस्रो बफ्षको परिक्षा मात्र बाँकी थियो, त्यसपछिको थेसिस त जसो तसो सकिन्छ भन्ने लागेर चासो गरेको थिएँ। काम खासै जटिल थिएन, सामाजिक सचेतना मुलक कार्यक्रमहरुको संयोजन र परिचालन गर्नुपर्ने, सदरमुकाम मै बसी काम गर्न सकिने भएपछी प्रतिष्पर्धामा लागेँ।

सफल भएँ पनि, यो कुरा श्रद्धालाई नि सुनाएँ, निक्कै खुशी थिइन उनी पनि। केही महिनापछी परिक्षाको तालिका आयो र म पनि समय ब्यवस्थापन गरेर काठमाडौं पुगेँ। बिचमा केही समय छुटेकोले अलिकती समय दिएर मेहनत गर्नुपर्‍यो। परिक्षाको समयमा श्रद्धासंग मेरै कोठामा किचन बनायौँ एउटै र तयारी गर्न नि केही सहज भयो।

परिक्षा सकेपछी तत्काल म फर्किएँ, उनी लोकसेवा आयोगको तयारी गर्ने भनेर बसिन्। निक्कै समयपछी रिजल्ट आयो, पास भयौँ। तर रिजल्ट आएपछी भने उनलाई गाउँ मै संचालित एउटा उच्च मा बि ले अध्यापनको लागि बोलायो।

“आफू पढेको स्कुल हो जानै पर्ने भो, केही समय पछि बरु फर्किन्छु” अन्तिममा यसो भनेर गईन्। अब भने काठमाडौ आउँदा पनि हामी भेट नहुने भयौँ, फोनमा मात्रै कुराकानी चल्ने भयो। अर्को बर्षको दशैँ बिदा हुनु अगाडि संगै काठमाडौं पुग्ने सल्लाह गर्‍यौँ र थेसिसको प्रारम्भिक प्रकृया सिध्यायौँ। आ आफ्नै भुगोलमा रिसर्च गर्ने गरि फर्क्यौँ।

अफिसको काम, अनि थेसिसको काम गर्दै निक्कै सकसपुर्ण तरिकाले काम गर्नुपर्‍यो। प्रोजेकटको भोल्यूम पनि बढेकोले अफिसको जिम्मेवारी नि थपिएको थियो। र पनि थेसिसलाई सकेर पहिलो पटक देखाउन लैजानु थियो डिपार्टमेन्टमा। उता श्रद्धाले नि सकेर बसेकी थिइन् त्यसैले संगै सबमिट गर्ने सल्लाह गर्‍यौँ। दुबैको समय निकालेर काठमाडौ आउने निधो भयो।

श्रद्धा सुक्रबार बेलुकी पुगिन म भने शनिबार बेलुकी गाडी चढेर आईतबार बिहान पुग्दैथिएँ। शनिबार दिउँसो साढे एघार बजे जस्तो फोन गरिन्, लगभग पन्द्र मिनेट कुरा भयो, उनी धरहरा चढ्दै थिइन्। म भने बेलुकिको लागि गाडिको टिकट लिन निस्कन लागेको थिएँ।

बाईक स्टार्ट गरेर दस मिणेट जति अगाडि पुगेपछि एक्कासी बाईक लर्खरायो, रोक्न खोजेँ स्टेन्ड अड्याउनै सकिनँ, बाईक माथी घोप्टिएँ। खुल्ला रोड भएकोले केही ढलेर लाग्ने सम्भावना थिएन। चारैतिर कोलाहल मच्चियो, भागदौड र चिच्याहट।

तत्काल श्रद्धालाई गोन गरेँ निरन्तर ब्यस्त आईरह्यो। घरतिर बहिनी, आमाहरुलाई गर्दा नि त्यस्तै आवाज आईरह्यो। केही क्षणमा म उभिएको ठाउँ मान्छेको बजार भयो। कसैले भिँडबाट भन्यो, “धरहरा त जरैसित उख्लेर ढल्यो रे!” धरहरा ढलेको खवरले मेरो जमिन भासिएको आभास भयो।

“त्यस्तो त नहुनुपर्ने” मनमनै बोलेँ आफैँ। निरन्तर अपडेटहरु आउन थाले, क्षतिका कुरा, लडेका कुरा, भत्किएका कुरा। श्रद्धा धरहरा चढिन त! मेरो मनमा खेलिरह्यो यो कुरा। दुई दिनसम्म नि फोन नलागेपछी भने मन अझ धेरै डराउन थाल्यो। उनको घरमा सम्पर्क गरेँ।

उता त झन पुरै तहसनहस रहेछ, घर पुरै भत्किएको रे, मान्छे भने सबै सकुशल तर श्रद्धाको खवर छैन रे! छटपटी बढ्यो झन्। मान्छेहरु काठमाडौ छोड्दै थिए, निरन्तर पराकम्पन आउँदैथियो। म भने एक हप्तापछी काठमाडौ हान्निएँ। मन थाम्न नसक्ने दृष्यहरुमा श्रद्धालाई कहाँ खोज्ने।

यति कन्फर्म थियो उनी धरहरा चढिन् तर त्यसपछी अनुमान गर्न कठिन्। धरहरा आसपासका घाईते राखिएको अस्पताल खोज्दै टिचिङ्ग हस्पिटल पुगेँ  निक्कै प्रयास पछि घाईते मृतकहरुको लिस्ट फेला पर्‍यो। घाईतेको लिस्टमा नभेटेपछी अर्कोमा आँखा डुलाएँ, अन्तिमभन्दा दुई जना माथी श्रद्धाको नाम थियो ठेगाना सहित,। कतिको आधा नाम मात्र थियो।

उनको भने ब्याग साथ मै भएकोले सबै परिचय खुलेछ। ओंठ मुख सुकेको बेला भेटिएको यो निर्मम यथार्थ स्विकार गर्न सबै हिसाबले सक्षम त थिईनँ म तर बिकल्प पनि थिएन। अझ उता उनको परिवारको हालत के होला! र पनि खवर गर्ने र आवस्यक सहयोग गर्नु मेरो कर्तब्य थियो। फोन गरेँ, भोलिपल्ट उताबाट परिवारका मान्छेहरु आए, र हस्पिटलबाट श्रद्धालाई लिएर दाहसंस्कार गर्‍यौँ।

प्रतिक्रिया