Home » विचार/ब्लग » दुर्गममा महिलाका पीडा : दही, दुध खानु नै अपबित्र !

दुर्गममा महिलाका पीडा : दही, दुध खानु नै अपबित्र !

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0


लोकेश धामी
सुदूर तथा मध्यपश्चिमका दुर्गम क्षेत्रका सुत्केरी महिलाका समस्या कति छन् भनेर छैन् । उनीहरु गर्भवती अवस्था र बच्चा पाइसकेको केही दिनमा नै कडा किसिमको काम गर्न बाध्य छन् ।

गरिबी तथा अशिक्षाका कारण यहाँका अधिकांश सुत्केरी महिलाहरु यो अवस्थामा पनि कडा परिश्रम गरिरहेको पाइन्छ । गर्भवती र सुत्केरी अवस्था अन्य समयभन्दा बढी पोषिलो तथा भिटामिनयुक्त खानेकुरा खानुपर्ने अवस्था हो । तर, यहाँका धेरै ग्रामीण भेगका महिलाले त्यस्तो खानेकुरा पर्याप्त पाउँदैनन् । जसले गर्दा, आमा र शिशुको स्वास्थ्य कमजोर हुँदै जान्छ ।

संघीय संरचना अनुसार प्रदेश नंम्बर ७ मा पनि धेरै दुर्गम जिल्ला छन् । यो प्रदेशका सबैभन्दा बढी बाजुरा, बझाङ तथा दार्चुला अझै दुर्गम मानिन्छन् । यी जिल्लाका अधिकांश ग्रामीण भेगको अवस्था झनै नाजुक छ । साँझ विहानको छाक टार्न मुस्किल पर्छ । सीजनमा लगाइएको खेतीबारीले वर्ष दिनसम्म खान पुग्दैन । जसले गर्दा यहाँका युवाहरु घर परिवार पाल्न मुग्लान पुस्नु पर्छ ।

अहिले गाउँघरमा जाने हो भने युवाहरु भेट्न मुस्किल पर्छ । बेरोजगारीको अभावले गर्दा हात पाखुरा बलिया भएका युवा बाहिरी देश काम गर्न गएका छन् । जसकारण घरमा महिला, वृद्धवृद्धा तथा स–साना बालबालिका मात्रै भटिन्छन् । यहाँका पहाडी जिल्ला मात्रै नभएर देशभरका पहाडी तथा तथा हिमाली जिल्लाका दुर्गम क्षेत्रको यर्थाथ यही नै हो ।

अहिले पनि मुलुकका अधिकांश जिल्ला धेरै विकासको पूर्वाधारबाट बञ्चित छन् । त्यहाँ यातायात, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायत विकास पूर्वाधार पुग्न सकेको छैन । यस्तो अभावमा अधिकांश जिल्लामा महिलाले मात्रै काम गर्नु पर्ने बाध्यता छ । घरका पुरुष मान्छे पैंसा कमाउन बाहिर देश गएपछि सम्पूर्ण जिम्मेवारी महिलाको काधमा आउने गर्दछ ।

उनीहरु जिम्मेवारी बहन गर्न बाह्रै महिना फुर्सदमा हुन्नन् । ज्यानको कुनै वास्ता नगरी निरन्तर काममा मात्रै खटिरहन्छन् । यस्तो बाध्यता मुलुकका अधिकांश ग्रामीण क्षेत्रका महिलाले वर्षौंदेखि भोगिरहेका छन् । उनीहरु जस्तो अवस्थामा पनि पारिवारीक बोझ सम्हालिरहेका हुन्छन् । स्वास्थ्य राम्रो नराम्रो जस्तोसुकै अवस्थामा अनवरत घरायसी कार्यमा तल्लीन भइरहेका हुन्छन् धेरै जसो महिलाहरु ।

पुरुष मान्छे घरमा भए पनि खासै काममा सघाउँदैनन् । हाम्रो सामाजिक संरचनाकै कारण अधिकांश महिलाले आफ्नै श्रीमान्को सहयोग पाउँदैनन् । दुर्गम जिल्लाका परिवार मात्रै नभइ पूरै समाज अहिले पनि यही सोच बोकिरहेको छ ।

दुर्गम क्षेत्रका महिलाका समस्या शब्दमा बयान गर्न सकिन्न । उनीहरुका समस्याको फेहरिस्त वर्णन गर्न धेरै समय लाग्छ । सुदूर तथा मध्यपश्चिमका अधिकांश जिल्लामा अझै पनि रजस्वला भएका बेला घरभन्दा अलग्गै बस्ने प्रचलन विद्यमान छ । यस्तो कु–प्रथाका कारण कयौं महिलाले ज्यान गुमाएका छन्, कतिपयले विभिन्न हिंसाको शिकार हुनुपरेको छ ।

रजस्वला प्राकृतिक नियम भएपनि त्यस्तो हुनुलाई यहाँका अधिकांश समाज अपवित्र ठान्छन् । रजस्वला भएकी महिलाले गाई–भैंसीको दूध तथा दही खाएमा राम्रो हुँदैन भन्ने भनाई अहिले पनि गाउँ घरमा सुन्न पाइन्छ । यस्तो सोचाइ अझैं पनि कायम भएकाले अहिलेको आधुनिक समयमा पनि अधिकांश महिला रजस्वला तथा सुत्केरी अवस्थामा पोषिलो खानेकुराबाट बञ्चित छन् ।

नेपालका धेरै दुर्गम जिल्लाका महिलालाई सुत्केरी अवधीमा पनि घरायसी काम गर्नु पर्ने बाध्यता छ । उनीहरु सबैभन्दा बढी आराम गर्नु पर्ने समयमा नै बढी काममा व्यस्त भइरहेका हुन्छन् । जसले गर्दा, कयौं आमा र शिशुको स्वास्थ्य अवस्था कमजोर हुन्छ ।

यस्तो अवस्थामा आमा र शिशुको धेरै हेरचाह आवश्यक पर्छ । तर, पनि उनीहरु यो समयमा पर्याप्त पोषिलो खानेकुरा तथा आराम पाउँदैनन् । यस्तो हुनुको प्रमुख कारण अशिक्षा, गरिवी तथा परम्परागत गलत सोचाइ नै हो ।

प्रदेश नम्बर ७ मा केही यस्ता ठाउँहरु छन्, जहाँ अहिले पनि सुत्केरी अवस्थामा आमाले दूध, दही, माछा, मासु खानु हुँदैन भन्ने गलत सोचाइ विद्यमान छ । आमाको यो अवस्थामा उक्त खानेकुरा खाएमा देउता रिसाउँछन् तथा अपवित्र हुन्छ भन्ने गलत मान्यता छ ।

सुत्केरी अवस्थामा न राम्रोसंग आमाको हेरचाह हुन्छ नत शिशुको नै । यो अवस्था अति संवेदनशिल मानिए पनि त्यति ध्यान दिइएको हुँदैन । दुर्गम क्षेत्रका महिला कामको चापले गर्दा यस्तो बेला पनि शिशुले पर्याप्त दुध खान पाउँदैनन् । जसको परिणाम पछि आमा तथा शिशु दवैको स्वास्थ्यमा नकारात्मक असर पुग्न जान्छ । अधिकांश समय कामलाई दिदा आफ्नो र बच्चाको पर्याप्त सरसरफाइ गर्न नपाउँदा मातृ तथा शिशु मृत्युदर कम हुन सकेको छैन ।

दुर्गम जिल्लाका महिलाको अर्को ठूलो समस्या भनेको स्वास्थ्य संस्था नजिक नहुनु हो । मुलुकका अधिकांश दुर्गम जिल्लाकोे साँझा समस्या भनेको स्वास्थ्य संस्था अभाव नै हो । नजिक अस्पताल तथा स्वास्थ्य चौकी नहुँदा अधिकांश महिला घरमै शिशु जन्माउने क्रम अहिले पनि कायम छ । स्वास्थ्य चौकी भए पनि लामो दुरीमा हुँदा अधिकांश महिलाले बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

विगतभन्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने बानीको विकास बढ्दै गए पनि सबै क्षेत्रमा लागू हुन सकेको छैन । यसको प्रमुख कारण अशिक्षा, स्वास्थ्य संस्था पहुँचमा नहुनु तथा गरिवी नै हो ।

सुत्केरी अवस्थामा चाहिने जति स्याहार नपाउँदा महिलालाई पछि आएर आङ खस्ने अझ सोझो भाषामा भन्नु पर्दा पाठेघर खस्ने समस्या हुन आउँछ । सो अवधीमा सुत्केरी आमाले गहु्रङ्गो भारी बोक्दा तथा कडा कार्य गरेमा यस्तो समस्या आउने गर्दछ । यसको समाधानका लागि सुत्केरी महिलाले मात्रै नभएर पूरै परिवारले साथ दिनु पर्दछ । अहिले दुर्गम क्षेत्रमा महिलाको विकराल समस्या भनेको आङ तथा पाठेघर खस्ने समस्या नै हो ।

यसबाट जोगिन सुत्केरी अवधीमा पोषिलो खानेकुरा खाने, समय–समयमा स्वास्थ्य जाँच गर्नुपर्छ, गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने, सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने आदि उपाय अपनाएमा आङ खस्ने समस्याबाट जोगिन सकिन्छ ।

प्रदेश नंम्बर सातको बझाङ जिल्लाको सन्दर्भमा सुत्केरी अवस्थामा पर्याप्त हेरचाह नपुग्दा जिल्लामा एघार हजार बालबालिका कुपोषणबाट ग्रसित छन् । अरु जिल्लामा पनि कुपोषणबाट पीडित बालबालिकाको संख्या थुप्रो छ ।

यो समस्या समाधानका लागि विभिन्न संघ–सस्था क्रियाशिल भए पनि खासै उपलब्धी हुन सकेको छैन । महिलाका समस्या समाधानका लागि अब सबैभन्दा चेतना नै आवश्यक पर्छ । त्यसकारण महिलाले वर्षौंदेखि भोग्दै आएका विभिन्न समस्या समाधानका लागि राज्य तथा सबैको उत्तिकै भूमिका रहन आवश्यक छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया