Home » साहित्य » कथा : अस्पताल

कथा : अस्पताल

Share on Facebook0Share on Google+0Tweet about this on Twitter3Share on LinkedIn0

“सुन्नु न, यो हाम्रो छोरो होईन हौ।”

राजधानिको सुबिधा सम्पन्न अस्पतालमा सुत्केरी गराएर फर्किएको बार्‍ह दिनपछी श्रीमतिको मुखबाट निस्किएको यो आवाजले तफिकलाई अचम्म बनायो।

“होईन, बहुलाईस् कि कसो, आफैले जनमाएको छोरोलाई नि आफ्नो होईन भन्छे त। कि मेरो चाहिँ होईन भनेको?” जिस्क्याउने पारामा प्रतिप्रश्न गर्‍यो।

“त्यस्तो होईन, एउटै वार्डमा म संगै अर्को नि सुत्केरी थिईन् संगसंगै छोरो जन्मिएका। कसो कसो उसंग हाम्रो बच्चाहरु साटिए झैँ लागेको छ मलाई।” श्रीमतिको उत्तरमा गम्भीर मातृत्व बोल्दैथियो।

तफिक एकै चोटि खङ्ग्रङ्ग भयो। उसले कल्पना नगरेको बिषयमा श्रीमतिले गरेको अनुमान उसका लागि भुमरी जस्तो लाग्यो। आमाको दूध चुसिरहेको अबोध बच्चालाई हेर्‍यो, खोइ कसरी भन्ने हाम्रो होईन भनेर! असमञ्जसमा केही दिन बितायो।

पहिलो सन्तानको खुशियाली बिचमा आईपरेको संसय कसरी निराकारण गर्ने, कुनै उपाय थिएन। एकदिन प्रसुती गराउने अस्पताल पुगेर आफ्नो कुरा राख्यो। प्रशासनले उल्टै हप्कायो र श्रीमतिलाई मानसिक सन्तुलन ठिक नभएको ठोकुवा गरेर पठाईदियो।

उसलाई चित्त बुझेन, र फेरि अर्को दिन पनि अस्पताल पुग्यो र आफ्नो श्रीमती सुत्केरी भएको समय आसपास समयमा सुत्केरी हुनेहरुको बिबरण माग गर्‍यो तर दिन नमिल्ने भन्दै अस्पताल प्रशासन पन्छिन खोज्यो।

धेरै नीति नियम थाहा नभए नि कलेजसम्मको अध्ययन पूरा गरेको तफिकलाई आफ्नो कुरा कसरी प्रभाबकारी ढंगले राख्न सकिन्छ भन्ने कुराको हेक्का थियो।  त्यसैले सुचनाको हक अन्तर्गत प्रशासनमा निबेदन दर्ता गर्‍यो ।

केही समयपछी उसलाई बिबरण उपलव्ध गराईयो। सो दिन बिहान सात बजे वरपर तफिकको श्रीमति संगै अरु पाँच जना सुत्केरी भएका थिए। जस मध्ये दुई जनाको छोरा र तीन जनाको छोरी भएका थिए ।

छोरा हुनेहरुको बच्चाको तौल र समय एउटै थियो र दुबैको बिना अपरेसन सुत्केरी गराईएकोले त्यसै दिन डिस्चार्ज गरिएको थियो। तर समुदायको हिसाबले भने दुई फरक समुदायका। एक जना मुस्लिम नुरिन खातुन  र  अर्को पहाडिया जनजाती मानवी लामा।

दिलिप वान्तवा

गाडिबाट एकै दिनमा ओहोरदोहोर गर्न सकिने तफिकको गाउँ र मानविको गाउँ लगभग चालीस किलोमिटरको दुरिमा पर्ने रहेछ। घरमा पुगेर श्रीमतिलाई बिबरण सुनायो उसले र, एक पटक मानविको गाउँ जाने बिचार गर्‍यो। तर कसरी यो कुरा उनिहरुलाई भन्ने होला!

एक पटक फेरि दोधार बनायो। तैपनी हिम्मत जुटाएर हिँड्यो तर, मानविको घर पुग्ने आँट आर्न उसलाई, किनकी फरक पृष्ठभुमि र बिल्कुल अर्कै सम्प्रदायको मान्छेले यति संबेदनशिल कुरा गर्दा त्यो प्रत्युत्पादक पनि हुन सक्छ।

त्यसैले गाउँसम्म मात्र पुगेर फर्कियो र घरबाटै एउटा चिट्ठी पठायो बरु। सबै बिबरण उल्लेख गर्‍यो र उनिहरुलाई पनि यदि त्यस्तो लाग्छ भने सम्पर्क गर्न भन्दै अन्तिममा फोन नं. लेखेको थियो। उताबाट मानविले सम्पर्क गरिन्। तर त्यसबेलासम्म आफुहरुलाई त्यस्तो केही महसुस नभएको कुरा गरिन् र पनि भेट्न चाहिन्।

यतिञ्जेलमा पाँच महिना बितिसकेको थियो। एकदिन तफिक श्रीमती र बच्चा लिएर मानविको घर पुग्यो। मानविलाई त्यतिबेला भने आफुसंग भएको बच्चाको बाउ तफिक नै हो भन्ने कुरा पक्का भयो।

किनकी बच्चासंग दुरुस्तै अनुहार मिलेको थियो तफिकको। उता नुरिनसंग भएको बच्चाको साना आँखा, थेप्चो नाक, बाटुलो अनुहारले ऊ मंगोल भएको जनाउ दिईरहेको थियो। अब दुई परिवार बिच भने बच्चाहरु साटिएको पक्कापक्की भयो ।

यहिँ कुराको जिकिर अस्पताल प्रशासनसंग गरे दुबै परिवारले र, अस्पतालले पनि छानबिन गर्‍यो। उनिहरु प्रसुती भएको दिन, त्यो समयमा प्रसुती वार्डमा ड्युटी भएकी नर्ससंग छलफल गरेपछी अस्पतालबाट कुनै गल्ती नभएको दोहोर्‍यायो। तर परिवारहरु आश्वस्त हुनै सकेनन्। त्यसैले दुबै परिवारले  बच्चा र आमाहरुको डिएनए परिक्षण गराए।

लामो समयपछी आएको रिपोर्टले भन्यो, उल्लेखित आमा र बच्चाहरुको बिचमा कुनै पनि आणुबंशिक समानता छैन । तर अझै पनि अस्पतालले परिक्षण अघिको स्याम्पल साटासाट गरिएको भन्दै पन्छिरह्यो। दुबै परिवार बिक्षिप्त बनिरहे। अन्तिममा प्रहरी गुहार्न पुगे। प्रहरिको रोहबरमा पुन: रगतको स्याम्पल सकलन गरि पुन: डिएनए परिक्षणका लागि पठाईयो ।

त्यसबाट प्राप्त नतिजाले पनि अघिल्लै प्रतिबेदनलाई सदर गर्‍यो। यस पटक पनि अस्पतालले आफ्नो कमजोरी स्विकारेन र प्रहरी कै सल्लाहमा दुबै परिवार अदालतको ढोकासम्म पुगे।

बर्षदिनको पर्खाईपछी अदालतमा सुनुवाई भयो र फैसला पिडित परिवारहरुको पक्षमा त आयो तर बच्चाहरु साढे दुई बर्ष पुगिसकेका थिए। सम्बन्धित आणुबंशिक आमाहरुको साथमा बच्चाहरुलाई सुम्पिने र अस्पतालले लापर्बाही गरे बापतको क्षतिपुर्ती रकम भराउने फैसला गरे पनि दुबै परिवारले बच्चाहरु साट्न सक्ने हालतमा थिएनन्।

नुरिनले जन्माएको छोरो नुरिनदेखी नै भागिरहेको थियो भने मानविले जन्माएको छोरो मानविसंगै डराईरहेको थियो। जो जससंग थिए उनिहरु कै परिवार प्रीय थियो ती बच्चाहरुलाई, र आमाहरु पनि सके नसाट्न पाए हुन्थ्यो भन्ने मनोभाबमा थिए।

त्यसैले दुबै परिवार आपसमा सल्लाह गरेर नियमित भेटघाट र घुलमिल हुने, बच्चाहरुलाई संगै खेल्न दिने र पछि हुर्किएपछी कोसंग बस्न चाहन्छन् उसैसंग जान/लान दिने सल्लाह गरे, तत्काल जहाँ छन् त्यहिँ त्यसरी नै रहने गरि।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter3Share on LinkedIn0

प्रतिक्रिया