Home » विचार/ब्लग » इण्डिया, विश्व र हामी

इण्डिया, विश्व र हामी

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

अर्जुन राई
नेपालका प्रधानमन्त्रीको राजकीय इण्डिया भ्रमणको सेरोफेरोमा फेरी एक पटक नेपाल इण्डिया सम्बन्धको चर्चाले नेपाली छापा पुरै भरिएको छ । विगतका धेरै तिता कम मिठा स्मरण र भावी दिनका सहयात्राहरुको केस्रा केस्रा केलाइएको छ। यी कर्महरु हरेक भ्रमणका क्रममा हुने नियमित प्रक्रिया नै भए।

यद्यपि यो भ्रमणलाई पहिलाका भ्रमणका तुलनामा केही विशेष अर्थका साथ दुवै तर्फबाट हेरिएको जस्तो देखिन्छ। लामो सँक्रमणकाल पार गरेर स्थायित्व तिर उन्मुख राष्ट्रको सरकार प्रमुखको रुपमा मात्र नभई अत्यधिक मतले निर्वाचित शक्तिशाली प्रधानमन्त्रीको रुपमा अहिलेको भ्रमण भइरहेको छ । यसले विगतको तुलनामा नेपाली पक्षको आत्मविश्वास निकै बढेको महशुस गर्न सकिन्छ; त्यस्को झल्को प्रधानमन्त्रीको इन्डियन मिडियामा आएको अन्तर्वार्तामा पनि देखिन्छ।

अहिले सरसर्ति हेर्दा स्थापित मिडिया र विज्ञहरुले मात्र नभई आम नागरिकले पनि उत्सुकताका साथ भ्रमणलाई हेरिरहेका छन् भन्ने सामाजिक सञ्जाल तिर भइरहेका टिका टिप्पणीबाट बुझिन्छ। एक प्रकारले भनौ भ्रमणका कारण नेपाली समाज तरङ्गित भएकोछ। ती टिप्पणीहरुमा इण्डिया प्रति हामी आमरुपमा कस्तो धारणा राख्दछौ र हाम्रा अपेक्षाहरु के छन् भन्ने सँकेत पाउछौँ।

लेखक

बाहिरबाट हेर्दा विश्वका शक्ति राष्ट्रहरुको इण्डिया प्रतिको हेराई र हाम्रो हेराईमा तात्विक भिन्नता रहेछ। इण्डिया प्रतिको हाम्रो हेराई मूलतः उसको व्यवहारका आधारमा निर्धारित छ र हाम्रो स्कुलिङ त्यत्ति धेरै सकरात्मक छैन। बिकसित विश्वले इण्डियाका तीन वटा पक्षमा ध्यान केन्द्रीत गरेका छन् जस्तो अनुभुति मिल्छ जुन नेपाली आँखाबाट हेर्दा छाँयामा छ ।

पहिलो जनसँख्या र बढ्दो आर्थिक क्षमताका कारण सम्भावनायुक्त बृहद बजारको रुपमा। दोश्रो बदलिँदो विश्व शक्ति सँरचनामा भविष्यमा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रका रूपमा एन्टी चीन राष्ट्रहरुले निकट मित्र राष्ट्रका रुपमा। तेश्रो सक्षम जनशक्तिको आपुर्ति कर्ताका रुपमा। यी बिषयहरु भने हाम्रा लागि आम चासो र बहसका बिषय बन्न सकिरहेका छैनन्।

अहिले इण्डियाले प्रमुखताका साथ बिकसित देशहरुको ध्यान तानिरहेको छ भने त्यो विशाल जनसँख्या र त्यसमा पनि मध्यम आय उन्मुख जनसँख्याका कारणले हो । बिकसित राष्ट्रहरु जस्तै अमेरिका, जापान वा यूरोपेली देशहरुका बजार सँतृप्त अवस्थामा पुगिसकेका छन्। त्यो अवस्थाबाट फुत्किनका लागि उनीहरुको नजर सम्भावनायुक्त बजार तिर छ। तर सँगै सिमाना जोडिएको बृहद् बजार तिर हामीले भने उचित ध्यान दिन सकेको देखिन्दैन।

वर्ल्ड इन्टिग्रटेड ट्रेड सोलुसनको तथ्याँकलाई आधार मान्ने हो भने सन् २००२ मा एक नेपाली बराबर १० डलरको आयात इण्डियाबाट गरिन्थ्यो र लगभग सोही बराबरको निर्यात पनि हुन्थ्यो। तर सन् २०१६ मा आइपुग्दा प्रति व्यक्ति आयात र निर्यातमा करिब १४ गुणाको अन्तर छ।

सन् २०१६ मा प्रति नेपालीले १५६ डलरको सामान इण्डियाबाट आयात गर्दा १३ डलरको मात्र निर्यात गर्न सकिएको छ।

यसरी नजिकैको बजारलाई बेच्न नसक्नु त दुखद् हो नै अर्को दुखद् पक्ष भनेको निर्यातलाई हेर्दा हाम्रो क्षमता सन् २००२ बाट ०१६ मा आईपुग्दा प्रतिव्यक्ति करिब ३ डलरले मात्र वृद्दि भएकोछ ।

निर्यातित वस्तुहरु पनि अलैचि, बिस्कुट, चाउचाउ, जुस कम मूल्यका भन्दा अरु हुन सकेका छैनन्। अबका दिनमा हामीले इण्डियासँग फाइदा लिने नै हो भने त्यहाँको बजारलाई बेच्न सक्नु पदर्छ र सोही अनुरुप क्षमता बढाउनै पर्छ।

बजार बाहेक इण्डियाले पाउने महत्वको अर्को कारण शक्ति राष्ट्रहरु बीचको सँघर्ष नै हो। उदाउँदो चीनलाई चेक एण्ड ब्यालेन्स गर्नका लागि सिमाना जोडिएको उदयीमान इण्डिया नै उपयुक्त हुने अहिलेका शक्ति राष्ट्रहरुको थम्याईछ । यसले गर्दा एन्टी चाइनिज सेन्टिमेन्टको भरपुर फाइदा आउने दिनमा अझ बढि इण्डियालाई मिल्न सक्छ किन भने खस्कँदो शक्तिसँगै अहिलेका स्थापित राष्ट्रहरुले प्रत्यक्ष रुपमा चीनसँग सँघर्ष गर्न सक्ने सामर्थ्य गुमाउने छन्। त्यसको लागि भविष्यमा इण्डिया उनीहरुको भरोसा योग्य साथी बन्न सक्छ। विश्व मञ्चमा आफुलाई स्थापित गर्न र दुई पक्षीय सहयोग आदान प्रदानबाट विकासको गतिलाई अझ तिव्र बनाउन इण्डियालाई मद्दत मिल्न सक्छ।

इण्डियाले पाउने यो फाइदाबाट भने नेपाललाई फाइदा भन्दा बढि खतरा रहन सक्छ। शक्ति राष्ट्रहरुको आड र भरोसामा साना छिमेकीहरु पेलिन सक्छन् । जस्तो कि सन् २०१५ को नाकाबन्दीको क्रममा अन्तराष्ट्रिय मञ्चमा नेपाललाई एक्ल्याउने कोशिस भएको थियो। तर साना र कमजोर छिमेकीहरुलाई पेलेर शक्ति राष्ट्रहरुको आड भरोसाले मात्र गन्तव्यमा पुग्न सकिन्दैन भन्ने पाठ मिलेको हुनुपर्छ।

नेपालमा चुनाव सम्पन्न भए पछिका टेलिफोन वार्ता र सरकार गठन हुनु पुर्व नै बिदेशमन्त्रीको भ्रमणले छिमेकीको आफ्नै महत्व छ भन्ने महशुस भएको दर्शाउँछ।

अहिले इन्डियन जनशक्तिको विश्व बजारमा उपस्थिति उल्लेख्य रुपमा बढ्दै गइरहेकोछ। मल्टिनेशनल कम्पनिहरुको माथिल्लो तहमा पुग्ने, उत्कृष्ट यूनिभर्सिटिमा प्राध्यापन गर्ने इण्डियनहरुको सँख्या बढ्दो छ। इण्डियनहरुको प्रतिष्पर्धि क्षमता बढिरहेको उदाहरण हो यो। त्यहाँका यूनिभर्सिटिहरु विश्वका उत्कृष्ट १०० मा परिरहेका छन्। तिनीहरुले उत्पादन गर्ने जनशक्ति पनि तुलनात्मक रुपमा बढी प्रतिस्पर्धि हुने नै भए।

यसरी हेर्दा जनशक्तिको बिकासबाट पनि सक्दो अगाडि बढ्न इण्डियनहरुले कोशिस गरिरहेकाछन् र त्यसको फाइदा लिन सफल भइरहेका छन्। छिमेकका हामी र उनीहरु बीच व्यक्तिगत क्षमतामा नै विशाल अन्तर भइदियो भने प्रतिस्पर्धामा हामी पछाडि नै छोडिनेछौ।

हामीले उनीहरुको बजारबाट लाभ लिन सक्ने सम्भावना रहँदैन साथ साथै उनीहरुको स्वार्थ व्यवस्थापन गर्ने जटिलता देखा पर्नेछ। र हाम्रो सानो र सिमित बजारमा पनि उनिहरुको नै हालिमुहाली जारी रहनेछ। यसको लागि समग्रमा कम्तिमा पनि इण्डियनहरुको क्षमता बराबर नेपालीको क्षमता बिकास गर्नु जरुरी छ।

नेपाल भारत सम्बन्ध जत्ति पुरानो छ; सम्बन्धलाई हेर्ने आँखा पनि त्यत्तिकै पुरानो हो कि भन्ने भान हुन्छ। परिवर्तित परिस्थिति अनुरुप सम्बन्धलाई पुनर्परिभाषित गर्न सकिएन भने जटिलता स्वाभाविक रुपले उत्पन्न हुन्छ। जत्ति नै शक्तिशाली भए पनि छिमेक सम्बन्ध सुमधुर भएन भने घेराबन्दीमा पर्न सकिन्छ भन्ने अनुभव छिमेक तिर पनि मिलेको जस्तो देखिन्छ।

अबका दिनमा हाम्रो हात माथी हुने वा तल हुने भन्ने बिषयको निर्धारण भने कत्ति द्रुतगतिमा हामी क्षमताको बिकास गर्नेछौ भन्ने बिषयले निर्धारण गर्नेछ न कि म बुद्द जन्मेको देशको वा सगरमाथाको देशको भन्ने भावनाले वा निरन्तर छिमेकी माथि गालीको बर्षाले।
(लेखक इन्टरनेशनल यूनिभर्सिटि अफ जापानमा अध्ययनरत छन्।)

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया