Home » जिल्ला » धिमाल समुदायको जात्री पर्व आजबाट सुरु

धिमाल समुदायको जात्री पर्व आजबाट सुरु

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

मोरङ, २ वैशाख । प्रदेश १ मा बसोबास गर्ने धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट सुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै शुरु हुने गर्दछ ।

नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर पर्व सुरु गरिन्छ । मोरङको भोगटेनीबाट शुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् ।

परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ । सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सञ्चारकर्मी विजय धिमालले बताउनुभयो ।

यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उहाँले जानकारी दिनुभयो । यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाढ बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाको भनाइ छ । असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका प्रदेश १ का ९८ वटै टोलमा मनाइने गरिएको छ । रासस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया