Home » विचार/ब्लग » ब्लग : सूर्यलाई साँक्षी राखेर मध्यान्ह मै रात परेको त्यो दिन…

ब्लग : सूर्यलाई साँक्षी राखेर मध्यान्ह मै रात परेको त्यो दिन…

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

दिलिप बान्तवा

यूरोप जाने चक्करमा काठमाडौका कन्सल्टेन्सिहरुमा तारिख खेप्दै थिएँ। स्कुलको बार्षिक परिक्षा सकेपछीको छुट्टि थियो । त्यसैले फेरि काठमाडौ हान्निएँ ।

केहिदिन रिङ्गरोडको फन्को मारेर फेरि कन्सल्टेन्सिवालाको “हुँदैछ अब चाँडै सक्सेस हुन्छ” भन्ने पुरानै आस्वासन बोकेर धरान फर्किएँ। नयाँ शैक्षिक सत्रको लागि बैशाख १३ गतेदेखी पढाइ संचालन हुने भएकोले म १२ गते घरतिर निस्किएँ धरानबाट।

सात बजेको धरान-चतराको बस, त्यहाँबाट चतरा-बराहक्षेत्र को जोखिमपुर्ण बिश्वयुद्धकालिन ल्यान्डरोवर यात्रा पछिको अक्करको पैदल यात्रा छिचोलेर हसनपुरको कोलटार-भालुखोप पुगेको थिएँ। बगरनीर झ्याम्म परेको रुखको सितलमा झोला अड्याएर ढुंगामा बसि पानी पिएँ अनि काठमाडौमा भएको साथिलाई फोन गरेँ।

रिंग गयो, रिसिभ भयो, तर कोलाहल र चिच्याहट मात्र आयो। कुनै स्पस्ट आवाज आएन, केही सेकेण्ड्मा काटियो। फोन काटिदै गर्दा म बसेको बगरपारी अजंगको भिर मैतिर घोप्टिएला झैँ हल्लिन थाल्यो। भित्तामा अड्याईराखेको झोला बगरमा लडिझर्‍यो।

म भने फुट्ला झैँ गरि हल्लिरहेको भुइँमा थचारिएर सोहोरिँदै झरिरहेको पारिपट्टिको भीर हेरिरहेँ। सुक्खा पहिरोले पुरै पाखा कुहिरोले छोपे झैँ भयो। केहिछिनमा कम्पन बन्द भयो । तर रिंगटा लागे झैँ भईरह्यो केही बेरसम्म। सबैतिर परिवार, आफन्त, साथिभाई सबैलाई फोन गरेँ, सिग्नल भए पनि फोन लागेन।

कम्पन रोकिए संगै चिन्ताको ब्यारिमिटर माथी माथी चढिरहेको थियो। उठेर हिँड्नु थियो, तर हिँड्दै गर्दा नि शरीर बतासिन थाल्यो। अझै नि भुइँ हल्लिरहे झैँ भान भैरह्यो।

केही समयमा अलि माथी दोकानघर पुगेँ, फेरि बिसाएँ खाजा खान भनेर। भर्खरैको कम्पनले सातो लिएका मान्छेहरु ठुल्ठुलो स्वरमा छलफल गर्दैथिए। त्यहिँ हुलमा म नि मिसिएँ, खजा खाने कुरै हरायो मेरो।

केही छिनमा फेरि घरै भत्किए झै हल्लियो अघि जत्ती कै हो या घटिबढी थाहा भएन। अब पुरै बाँस झैँ ठडिएको उकालो त्यो पनि भिरको बाटो छिचोल्नु थियो मैले। सबैले “अब नजानु फेरि हल्लायो भने भिरै भत्किन्छ” भन्दै सम्झाईरहे। त्यतिन्जेल त्यो उकालो चड्नुपर्नेहरु निक्कै जना आईपुगिसकेका थिए।

यदि त्यस्तै हुनुछ भने भईछाड्छ भन्ठानेर उकालो लागेँ, पछि पछि अरु मान्छेहरु पनि हिँडे। माथी भिरको बिचतिर पुग्दै गर्दा बल्ल फोन सम्पर्क हुन थाल्यो, फेसबूक चल्यो अनि सबैतिरको अपडेट्स हेर्न थालियो। त्यो पछि त्यो दिन हल्लाएन। म सकुसल घर आईपुगेँ।

अर्कोदिन स्कुल जानुपर्‍यो, पुगियो, त्यहिँ बिषयको छलफल चल्दैथियो हल्लाउन थाल्यो। अघिल्लो पटकको कम्पनले धाजा फाटेको गारो त्यो दिनको हल्लाईले केही भत्काई दियो पनि । सरकारले एक हप्ताको छुट्टि घोषणा गर्‍यो।

हो, त्यहिँ बहत्तर साल बैशाख १२ गतेको त्यो दुखद र त्रासदबाट उत्पन्न भौतिक तथा मानबीय संकट झेल्नुपरेको समय तीन बर्ष बित्यो। यो तीन बर्षमा थुप्रै राजनैतिक सत्ता र समिकरणहरु फेरिए।

राजनैतिक स्वार्थका थुप्रै परिबर्तनहरु भए। नयाँ संविधानको घोषणा र त्यसले तोकेका ब्यबस्थाहरु कार्यान्वयन भए। भुकम्प पिडितका नाममा सयौँ भेला, सेमिनार र कार्यशालाहरु देश देखि बिदेशसम्म भए।

“ह्याभ्भी” दाता सम्मेलन गरेर विभिन्न देशहरुबाट अनुदान र सहुलियत ऋण पाउने आस्वासन बाँडियो। देश कै कैँयौँ सेलेब्रेटी कलाकार, व्यापारी र नेताले सयौँको संख्यामा घर र बस्तिहरु ब्यक्तिगत लगानिमा बनाईदिने चटकी आस्वासन बाँडे।

राज्यले कैँयौँ तहमा भुकम्प पिडितका लागि भनेर योजना र कार्यदल बनायो। तर आजसम्म पनि वास्तविक पिडितहरु हावाले उडाएर च्यातिसकेको त्रिपालमुनी जिन्दगी गनिरहेका छन्।

उनिहरुलाई देखाएर थुप्रै एनजिओ, आईएनजिओ हरुले आफ्नो रेटिङ्ग बढाए तर टहराबासिहरुको आँशुको अन्तर्यलाई कसैले छाम्न सकेन अहिलेसम्म ।

थुप्रै परियोजनाहरु संचालन भएका छन् तर ती परियोजनाबाट लाभान्वित हुनुपर्नेहरुको झुत्रो र कुरुप भैसकेको टहरामुनी कहिल्यै पनि ती सुकिला मुकिला परियोजनाहरु पुग्न सकेनन्। बरु देश बिदेशमा रोई कराई गरेर भए पनि धुर्मुस सुन्तलिहरुले केही राहत प्रदान गर्न सकेका छन् ।

बिगतको यो थितिले निरन्तरता नपाओस् । ढलेका सम्पदाहरु संगै नागरिकहरुको मुर्छित सपनाहरु साकार होऊन्। ती टहरावासिहरुले हामी पनि अरु जस्तै नागरिक नै हौँ भन्ने आभास प्राप्त गर्न सकून्।

त्यो समयमा हजारौँ मान्छेहरुको मृत्यू हुँदा हामी बाँच्न सक्यौँ त्यसैले,
सम्पुर्ण नेपालिहरुलाई पुनर्जन्मदिनको शुभकामना ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया