Home » साहित्य » कथा-महलको यात्रा

कथा-महलको यात्रा

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

साहित्यकार

दिलिप बान्तवा

एक्कासी ऊ बडेमानको गेटवाला महल अगाडि आईपुग्यो। बिस्तारै गेटभित्र छिरेर मुख्य ढोका पार गर्दै विशाल बैठक हलको ढोका अघिल्तिर पुग्दा अचानक उसले कदम रोक्यो,किनकी त्यसभित्र जे हुँदैथियो ती सब बिचित्र थिए उसका लागि ।

हलिउड फिल्मको राजघरानाभित्रको दृष्य सेट जस्तै लाग्ने दृष्य देखिरहेको थियो उसले। मखमलको भुइँ, चारैतिर सुनौला बत्तिहरु र आकर्षक तोरण, झलरहरुको साथमा मधुर संगीत बजिरहेको थियो।त्यहाँ यत्रतत्र छरिएर बसेका मानिसहरु सबै आ आफ्नै धुनमा मस्त देखिन्थे ।

एक जना चित्रकार आफ्नै लयमा छड्के क्याप बनाएर केही दृष्यहरुमा रंग भर्दै थिए। अलि पर अँधबैँशे देखिने लेखक जस्तै मान्छे मोटो शिसावाला चस्मा लगाई टेबलमा घोप्टिएर केही लेखिरहेका देखिन्थे । एक हुल गायक संगीतकारहरु एक कुनामा झुरुप्प भएर गितारको धुनमा आफ्नो स्वरको लय मिलाउँदैथिए।

केही जोडि युवा युवतिहरु आलिंगनमा बाँधिएर मस्त रमाईरहेका थिए। केही कविहरु पालैपालो आफ्नो रचनाहरु बाचन गर्दैथिए। तर यी सबलाई कसैको मतलब थिएन । सिर्फ आफ्नो समुहमा बाहेक। निक्कै बेर रमिता गर्‍यो उसले ।

भित्र जाउँ कि नजाउँको दोधारमा ऊ ढोकाको खापामै छेलिएर उभिरह्यो । त्यहिँ बिचमा दुबैतिर तरवारको टुप्पि जस्तै सुलुत्त परेको जुँगावाला मान्छे उस्तै सुनौलो सजावट सहितको पहिरनमा उत्तरतिरको ढोकाबाट निस्किएर पुर्वतर्फको सिंहासन जस्तै देखिने मेचमा गएर बसे।

उनिसंगै उस्तै पहिरनमा सजिएकी एक अँधबैँसे महिला पनि उनिसंगै छेउको मेचमा बसिन्। उनिहरुको आगमन पछि यन्त्रवत रुपमा अघिका मानिसहरुले आफ्नो धन्दा थन्काएर ती दुईलाई अभिबादन गरे। बस्ने ईसारा पाएपछी सवै जना मखमली भुइँमा लहर मिलाएर बसे। एकछिनपछी जुँगावाल मान्छे बोल्न थाल्यो।

त्यो मान्छे बोल्दा उसलाई लाग्यो पुरै जमिन हल्लिदैछ, कम्पायमान भैरहेको छ। तर उता हेर्दा सबै मानिसहरु चकमन्न थिए, कुनै परिबर्तन थिएन मुहारको भावमा। सम्हालिएर उसले सुन्न थाल्यो।

बोली आयो, ूआज हामी यहाँ एउटा विशेष मुद्दा लिएर उपस्थित भएका छौँ। सबै जनाले ध्यानपुर्बक छलफलमा सहभागी हुनुहोला र आफ्नो राय ब्यक्त गर्नुहोला।ू सबैले टाउको हल्लएर स्वीकृति जनाए।

फेरि भन्न थाल्यो, ूहामी यहाँ जुन बाटो पार गरेर यहाँ आएका छौँ, त्यसलाई मानिसहरुले गलत र कायर भनिरहेका छन्। हामिले जुन साहसका साथ त्यो बाटो पार गर्‍यौँ के त्यो लर्तरो र कमजोर आँटले गर्न सकिन्छरुू सबैले उसको कुरामा समर्थन जनाए । मानिसहरु अन्ततः यहिँ ठाउँमा आईपुग्छन् तर सँधै डराई डराई बस्छन्, भीरको टुप्पोमा पुगुन्जेल पनि डराईरहेका हुन्छन् र कसैले हुत्याएर खसाल्नुपर्छ, तर हामी त आफै त्यो भीर खोजेर हाम्फाल्ने शाहस भएको मान्छेहरु हौँ, हामी कसरी कायर भयौँ।।।त्यसैले हामी सबै मिलेर मानिसहरूमा भएको त्यो भ्रम चिर्न र उनिहरूको सोँच बदल्न हामीले कुनै उपाय निकाल्न जरूरी छ ।ू

यस्तै कुराहरु आईरहेका थिए उताबाट। भुइँका मानिसहरु पनि आपसमा कुराकानी गर्न लागे त्यसैले त्यो जुँगेको आवाज धिमा हुन लाग्यो। उसले बिस्तारै देख्न थाल्यो, अघिको त्यो सुनौलो पहिरनधारी मान्छेको पहिरन र आकृती कसो कसो फेरिदैथियो। र अर्को छेउमा बस्ने महिलाको पनि त्यसरी नै फेरिँदो देखियो।

उनिहरुको झर्झर बल्नेगरी देखिएको रुप रंग, पहिरन र आकृती किन यस्तो भो, उसलाई अनौठो लाग्दै थियो। उसले प्रष्ट देख्न थाल्यो उसको अघिल्तिर सेतो पहिरनमा घाँटिमा स्टेथेस्कोप झुन्ड्याएको पुरुष र हातमा क्लिपबोर्ड बोकेकी महिला र वरपर केही थान निन्याउँरो मुहारका मानिसहरु आफ्नै धुनमा आपसमा कुराकानी गर्दैथिए ।

उता भित्तामा झुन्ड्याईएको एलसिडी टिभिमा समाचार आउँदैथियो, ूप्राप्त समाचार अनुसार साहुको ऋण लिएर यूरोप जानका लागि पैसा बुझाईसकेका युवाहरुलाई कन्सल्टेन्सिले ठगेर बेपत्ता भएपछि हिजो साँझ एक युवाले सोही कन्सल्टेन्सिको छतबाट हाम्फालेर आत्महत्याको प्रयास गर्दा गम्भीर घाईते भएपछि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने सो कन्सल्टेन्सि सन्चालकहरुको व्यापक खोजी कार्य भैरहेको महानगरिय प्रहरी बृत्तले बताएको छ।ू सो समाचार र समाचारमा देखाईएको भिडियो उद्दार गरेर अस्पताल पुर्‍याईएको उसको आफ्नै थियो।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया