Home » विचार/ब्लग » ब्लग : मेरो एक बर्ष

ब्लग : मेरो एक बर्ष

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

दिलिप बान्तवा

मे -२३ सन् २०१७ को बिहान स्थानिय समय अनुसार ठिक ५:५५ बज्दै गर्दा हामिलाई उडाईरहेको BOEING 777-200ER को KE 696 जहाज ईन्चोन अन्तरास्ट्रिय बिमानस्थलको धावनमार्गमा फन्को मार्दैथियो। नेपालको समय अनुसार अघिल्लो साँझ ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल छोडिएको थियो। एक हजार सात शय बत्तिस किलोमिटरको आकाशे दुरि छ घन्टा दस मिनेटमा पार गरिएको सो बिमानमा विभिन्न मुलुकका नागरिकहरु सहित रोजगार अनुमती प्रणाली अन्तर्गतका उनान्सत्तरी जना नेपालिहरु थियौँ।

बैदेशिक रोजगार र रेमिट्यासले निर्धारण गर्ने नेपाली अर्थतन्त्रको ठूलो हिस्सा खाडी तथा मध्यपुर्बमा अवस्थित छ।  नेपाल सरकार र कोरिया सरकार बिचको द्धिपक्षीय सम्झौतापछि सन् २००७/०८ देखि सुरु गरिएको रोजगार अनुमति प्रणालि अन्तर्गतको कोरियाली रोजगार नेपाली युवाहरुको लागि निक्कै आकर्षक मानिन्छ। अहिलेसम्म बैधानिक तवरले लगभग पचास हजार युवाहरु कोरियामा छन्।

G to G सम्झौताको आधारमा नेपालिहरुले कोरिया प्रबेश पाउने भएकोले कम लागत र आकर्षक रोजगारी/तलब नै मुख्य आकर्षणको कारण हो। थुप्रै युवाहरु आफ्नो भैराखेको पेशा र ब्यबशाय छाडेर पनि कोरिया प्रबेश गरिरहेका छन। अधिकांश नेपाली युवाहरु अन्य देशबाट आउनेहरु भन्दा उच्च शैक्षिक पृष्ठभुमि पार गरेर आएका हुन्छन्।

कतिपयले नेपालकै आकर्षक जागिर समेत हापेर यता हाम्फाल्न पुग्दछन्। छ घन्टा दस मिनेटको आकाशे यात्रामा यस्तै थुप्रै कुराहरु खेलिरहे। मसंगै बस्ने दुई जना साथिहरु ईन्डिया र चाईनाको सिमानातिर पुग्दै गर्दा एयरहोस्टेसले दिएको वाईन खाएर निदाए। म भने त्यही दिईएको हेडफोन कानमा ठोसेर गीत सुन्दै उतै फर्किएँ।

म बार्‍ह बर्ष लामो शिक्षण पेशालाई त्यागेर आउँदैथिएँ। केही पटकको असफल प्रयास पछि बल्ल भाषा परिक्षा पास गरेको थिएँ।पास गरेको हल्ला चलेपछी मिश्रित प्रतिक्रियाहरु आउने नै भए। कतिपयले “सरकारी जागिर छाड्नुहुँदैन। पछिसम्मको लागि काम लाग्छ, यो भनेको जरुवा पानी हो” भने। अब यसको बुद्धि बिग्रीयो समेत भने।

कतिपयले ठिकै छ, अहिलेको समय पैसा नभए केही गर्न सकिन्न भन्ने तर्क गरे। तर मैले भने यी दुबै तर्कलाई बर्षौँदेखी खेलाईरहेको थिएँ। बाऊको अंशको नाममा बाऊले काढेको ऋण भाग लगाउने निम्न  मध्यम बर्गीय परिवारको मान्छेले सामान्य जागिर खाएर एउटा सुखी परिवारको कल्पना गर्नु केवल भ्रमहरुमा रुमल्लिनु मात्र हो।

कि त पुर्ख्यौली सम्पती प्रसस्त हुनुपर्‍यो, या त पैसा कमाउन सकिने जति सबै बिकल्प प्रयोग गर्न सक्नुपर्‍यो। अनि मात्र सामान्य जागिरेले सोँचे जस्तो जीवन निर्वाह गर्न सक्छ। तर म यी दुबै कुराबाट टाढा भएको मान्छे। सिर्फ जागिरमा मात्र  झुण्डिदा मैले आफ्नो प्राण धान्न मात्र सहज थियो।

बर्षमा एउटा गन्जी किन्न समेत धेरै पटक हिसाब मिलाउनुपर्ने अवस्थामा दिनदिनै हुर्किरहेका सन्तानहरु र तिनको आवस्यक्ताहरुलाई टुलुटुलु हेरेर चुपचाप सुनिदिनु बाहेक अरु बिकल्प हुदैनथ्यो केही बर्षपछिको मेरो अवस्था।

सन्तानहरुको सुखद भबिस्यको चाहना त कुन आमा बाऊलाई हुन्न होला,तर त्यो चाहना पूरा गर्न आवस्यक्ताहरुको चाङ्लाई पार लाउन नसक्दा कतिपय अवस्थामा आमा बाऊहरुले आफैलाई धिक्कार्नुपर्ने हुदोरहेछ।

यी र यस्तै तर्कहरुले निरन्तर पोलिरहन्थ्यो। म दायाँ बायाँ कुनै पनि “साईड जब” गर्न नसक्ने भएकोले आर्थिक दायित्वको घनले निरन्तर टाउकोमा ठोकिरहन्थ्यो।

अझ बद्लिँदो समय र परिबेशले नेपाली समाजलाई निक्कै पर धकेलिरहेको छ। हामिसंग उत्पादन छैन, आर्थिक रुपमा परनिर्भर छौँ। बैदेशिक आयातले बजार भरिएको हुन्छ, क्रयशक्ती र हाम्रो आम्दानि बिचको तादाम्यता नमिल्दा ब्यबस्थापन भद्रगोल भैदिन्छ।

अर्थात हाम्रो समाज हाम्रो जिवनशैली रवाफिलो र आडम्बरी भैसक्यो । उत्पादनमा आत्मनिर्भरता छैन, अर्थतन्त्र नै परनिर्भर छ, मानिसहरु बजार केन्द्रीत भए जसले उनिहरुलाई श्रम र उत्पादनबाट टाढा बनायो तर आर्थिक रुपले बोझिलो।

यस्तै चक्रीय पद्धतिले युवाहरु बैदेशिक रोजगारिको म्याराथुनमा होमिन्छन्। कोरिया यात्रा पनि त्यसै क्रममा जोडिन्छ । मेरो निष्कर्ष पनि त्यस्तै रह्यो। मान्छेलाई सबैतिरबाट पहिचान गरिने आधार र हैसियत निर्माण पनि आर्थिक सम्पन्नताकै भरमा गरिन्छ। सामाजिक, राजनैतिक गतिबिधिहरु जो बिशुद्ध सेवा मुलक काम हुन् तर यी सबमा पनि आर्थिक हैसियत नजोडिई नहुने रहेछ। सबै तिरबाट सम्झेर ल्याउँदा अन्ततः “आर्थिक बिपन्नता भनेको जिउँदो लास हुनु रहेछ”..।

त्यो समय मैले भेटेको निष्कर्ष यहिँ थियो। त्यो निक्कै नै कठिन निचोड थियो मेरो लागि। आर्थिक उपार्जनमा चित्त बुझ्दो नभए पनि सामाजिक दायित्व र उत्तरदायित्वको हिसाबले आनन्द लाग्दो थियो, सन्तोक पनि थियो। तर पारिवारिक जिम्मेवारिको सम्झनाले भने घचेटिरह्यो निरन्तर। त्यसैले समयको त्यो मझधारबाट उठाएर त्यो लामो अध्यायको अन्त्य गरि आफुलाई त्यो निर्णयको किनारमा पुर्‍याएको थिएँ।

ईमिग्रेशन चेक पछि तालिमकेन्द्र पुग्यौँ। त्यहाँको दुई दिने ओरिएन्टेशन सकेर २५ मे मा सबै आ आफ्नो कम्पनितिर बाँडियौँ। त्यसको ठिक तीन महिना पछि तालिमकेन्द्रको एउटै बेडमा बसेको एउटा साथिलाई डिप्रेशनले आत्महत्या गरायो। मन निक्कै कुँडियो। त्यो महिना लगातर दुई हप्तामा तीन जना नेपालिहरुले त्यसो गरेका थिए।

हामी नेपालबाट आउँदै गर्दा यहाँको आकर्षक तलब मात्र सम्झिन्छौँ। नेपालमा परिवारसंग आफुले चाहे जस्तै गरेर बसिराखेको, सानदार र सुकिलो भएर जागिर गरेको, अथवा आनन्दले बसेर आफ्नो पेशा ब्याबशाय संचालन गरेको मान्छेलाई यहाँ आएर “एड्जस्ट” हुन हम्मे हम्मे पर्छ।

आकर्षक तलब भए संगै जोखिमपुर्ण कामहरु अनिबार्य नै हुन भन्ने कुरा मनमा राखिएन भने निक्कै नै सकस हुन्छ। नेपाली युवाहरुमा डिप्रेशन र आत्महत्याको क्रम निक्कै उच्च छ भनिन्छ यहाँ जसको कारण भन्नू नै नेपालमा बिताएको जिवनशैली र यहाँको सकसपुर्ण दैनिकी बिचको तादम्यता नमिल्नु हो।

आज ठिक एक बर्ष बित्दैछ। यहाँको चालचलन, काम गर्ने पद्धती, यहाँका मानिसहरुको शैली, उनिहरुको बिचार र बानी ब्यहोरा हाम्रो लागि निक्कै नै अनौठो लाग्छ। राज्यको सेवा प्रबाहको तरिका, नागरिक प्रतिको उत्तरदायित्व, प्रबिधी यी सब हाम्रो लागि फगत कल्पना हुन् कमसेकम अहिलेका लागि। कल्पिन्छु, हाम्रो गाउँ गाउँबाट हरेक युवाहरु हरियो पासपोर्ट बोकेर बिदेशिरहेका छन्।

सरकारले समृद्धिको सपना बाँडिरहेको छ, तर खै कसरी सम्भव होला र! उर्बर समय र मस्तिष्क  जति परदेशमा प्रयोग गरेर बाँकी समय बिताउन मात्र आफ्नो देश पुगिने अवस्था छ। आशा गरौँ, बैदेशिक रोजगारमा रहेका लाखौँ युवाहरुलाई स्वदेश फर्किने रहरलाग्दो अवस्थाको सृजना होस देश भित्रै। असंख्य सपनाहरुले जेट चढेर हरेक फ्लाईटमा अन्तर्राष्ट्रिय सिमाना काट्नु नपरोस्

शुभकामना

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया