महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि बिकराल



भक्तपुर, फागुन २५

महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् ।

१०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले महिला र पुरुषबीचको विभेदलाई जरैदेखि उखेल्न नसकिएको बताउँदै यसको अन्त्य गर्न अझै समय लाग्ने बताउनुभयो ।

पुरुषले महिलामाथि गर्ने हिंसाको विरुद्ध आवाज उठाइरहँदा महिलाले महिला माथि गर्ने हिंसा र महिलाले पुरुषमाथि गर्ने हिंसा पनि बिकराल बन्दै गएको भन्दै उहाँले सबै प्रकारका हिंसाको अन्त्य गर्नु जरुरी रहेको बताउनुभयो ।

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले महिला हिंसाको अन्त्य गर्नसके समाज विकास तीव्रगतिमा हुने चर्चा गर्दै महिलाबाटै हुने हिंसालाई रोक्नु पनि जरुरी रहेको औँल्याउनुभयो । हिंसा न्यूनीकरणका लागि कानून बनेपनि कार्यान्वयनमा जटिलता आउँदा समस्या आएको बताउँदै उहाँले महिला आफैँ यसमा जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले महिला हिंसालाई कम गर्न उजुरी दिने प्रचलन बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका पुरुषले पठाएका रकमको दुरुपयोग गर्दै महिलाबाट पनि पुरुष हिंसा बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा महिला विकास कार्यालयकी प्रमुख नीला घिमिरेले महिला हिंसाका बारेमा वार्षिक प्रतिवेदन पेश गर्नुभयो । नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गोष्ठी र सेमिनारले मात्रै महिला हिंसा न्यूनीकरण नहुनेमा जोड दिँदै महिलाका विषय तल्लोस्तरसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
© 2018 Deshko News