सैन्य शक्तिमा नेपाल ९७ स्थानमा, कुन देश कतिऔं स्थानमा ?


 


काठमाडौ, फागुन २८
सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ ।

नेपाल गत वर्ष ९८ औं स्थानमा थियो । विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी) ले यस्तो वर्गीकरण गर्ने गर्छ। नागरिक दैनिकमा खबर छ ।

वर्गीकरणमा अमेरिका पहिलो, रुस दोस्रो स्थानमा रहेका छन् । नेपालका दुई छिमेकी चीन र भारत क्रमस तेस्रो र चौथो स्थानमा छन् । जीएफपीले सैन्य शक्तिको वर्गीकरण गर्दा परम्परागत युद्ध हतियार तथा उपकरणलाई समावेश गरिएको जनाएको छ । यसमा परमाणु हतियार भने समावेश गरिएको छैन ।

सैन्य शक्तिको वर्गीकरण गर्दा कति परिमाणमा हतियार छन् भन्दा पनि हतियारको विविधतालाई जोड दिइएको उक्त संस्थाले जनाएको छ । त्यस्तै उपलब्ध जनशक्ति विशेष मापदण्ड मानिएको छ । भौगोलिक कारण, सैन्य लचकता, प्राकृतिक स्रोत र स्थानीय उद्योगले अन्तिम वर्गीकरणमा प्रभाव पार्ने संस्थाले जनाएको छ ।

भूपरिवेष्ठित मुलुकलाई जल सैनिक नभएर वर्गीकरणमा असर नगर्ने र नाटोसँगको गठबन्धनले वर्गीकरणमा थप फाइदा पुग्ने संस्थाले जनाएको छ ।

जीएफपीले नेपालको सैन्य सेवामा योगदान दिनसक्ने जनशक्ति एक करोड १२ लाख १० हजार रहेको जनाएको छ । यस्तो जनशक्तिले युद्धको बेला मुलुकमा युद्ध भएको बेला सहयोग गर्न सक्ने संस्थाले जनाएको छ । त्यस्तै सेनासँग कुल एक लाख ५७ हजार सैनिक अधिकारी रहेको र त्यसमध्ये ९५ हजार सक्रिय सैनिक रहेको जनाएको छ ।

वर्गीकरणका लागि आवश्यक पर्ने हवाइ शक्तिमा नेपालसँग २२ वटा एयरक्राप्ट रहेको र त्यसमध्ये १८ वटा हेलिकोप्टर रहेको उक्त संस्थाले उल्लेख गरेको छ । त्यस्तै नेपालसँग एक हजार चार सय ८० बख्तरबन्द लडाकु वहान रहेको जनाइएको छ भने एक सय २० तोप तान्ने वहान (टोड आर्टिलरी) रहेको जनाएको छ ।

नेपाल भूपरिवेस्ठित मुलुक भएकाले जल सैनिक भने शुन्य देखाइएको छ । उक्त संस्थाले नेपालको श्रम शक्ति एक करोड ५२ लाख उल्लेख गरेको छ भने १७ हजार दुई सय ८२ किलोमिटर सडक विस्तार भएको जनाइएको छ । नेपालमा ५९ किलोमिटर रेलवे र ४७ वटा विमानस्थल सञ्चालनमा रहेको उल्लेख गरिएको छ ।

नेपाल सैनिक शक्तिको हिसाबले ९७ औ स्थानमा परेको विषयमा सेनाले पनि प्रतिक्रिया दिन अस्विकार गरेको छ । ‘यस विषयमा अध्ययन गरेर मात्र प्रतिक्रिया दिन मिल्छ,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने। ‘उनीहरुले आफ्नो प्रक्रियामा रहेर वर्गीकरण गरेका होलान, त्यसबारे हामीले अध्ययन नगरी बोल्न मिल्दैन,’ भण्डारीले भने । यदी संस्थाको वर्गीकरण आधिकारिक र विश्वसनिय भएमा यसले मुलुकको सैन्य अवस्था कस्तो छ भन्ने कुरा संकेत गर्ने भण्डारी बताउँछन् ।

वर्गीकरणमा दक्षिण एशियाली मुलुक भुटान अन्तिम एक सय ३३ औ स्थानमा परेको छ भने पाकिस्तान १३ औ स्थानमा परेको छ । त्यस्तै बंगलादेश ५७ औ स्थानमा परेको छ भने अफगानिस्तान ६९ औ स्थानमा परेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्