सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान 


 


काठमाडौँ, ३० फागुन

नेपाल चेम्बर अफ कमर्शले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गरेको छ ।

चेम्बरले आज संघीय संरचनामा आर्थिक समृद्धिका अवसर तथा नवनिर्वाचित मुख्यमन्त्रीलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

सम्मानितहुने मुख्यमन्त्रीमा प्रदेश–१ का शेरधन राई, प्रदेश–२ का लालबाबु राउत गद्दी, प्रदेश–३ का डोरमणि पौडेल, प्रदेश–४ का पृथ्वीसुब्बा गुरुङ, प्रदेश–५ का शंकर पोखरेल, प्रदेश–६ अर्थात कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र प्रदेश–७ का त्रिलोचन भट्ट रहनुभएको छ ।

सो अवसरमा प्रदेश–१ का मुख्यमन्त्री राईले मुलुकमा राजनीतिक मुद्दा सकिँदै गएको र आर्थिक विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउँदै “निजी क्षेत्रको सुझावलाई लिएर प्रदेश सरकार अगाडि बढ्छ,” भन्नुभयो ।

प्रदेश–२ का मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना मुलुक समृद्ध नहुने बताउँदै निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश नं–२ तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश–३ का मुख्यमन्त्री पौडेलले निजी क्षेत्रलाई बाहिर राखेर मुलुक समृद्ध हुन नसक्ने उल्लेख गर्दै लगानीको वातावरण निर्माणका लागि चाहिने ऐन कानून बनाउन आफ्नो प्रदेश लाग्ने बताउनुभयो ।

प्रदेश–४ मुख्यमन्त्री गुरुङले स्रोत र साधनको व्यवस्थापन गरेमात्र प्रदेश समृद्ध हुने भन्दै निजी क्षेत्रको सहयोगबिना सरकार अगाडि बढ्न नसक्ने विचार व्यक्त गर्नुभयो ।

प्रदेश–५ का मुख्यमन्त्री पोखरेलले काठमाडौँमा बसेर समृद्धिका कुरा गरेर नहुने भन्दै समृद्ध मुलुक निर्माणका लागि सबै क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले अधिकार सम्पन्न प्रदेश नभएसम्म मुलुकको विकास हुन नसक्ने भन्दै प्रदेशलाई अधिकार दिने कुरामा केन्द्रले कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

प्रदेश–७ का मुख्यमन्त्री भट्टले कृषि, पर्यटन, जलविद्युत् र जडीबुटी आर्थिक विकासको मेरुदण्ड भएकाले यसको विकासका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले प्रदेशको विकास भएमात्र मुलुकको विकास हुने भएकाले मुलुकलाई समृद्धितर्फ लैजान प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्