नेपालद्वारा पिएनजी पराजित, अब टीम नेपाल वान डे मान्यता नजिक



काठमाडौं, चैत १

वान डे विश्वकप छनोट अन्तर्गत प्लेअफमा पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेपछि टीम नेपाल वान डे मान्यता नजिक पुगेको छ । जिम्बाबेमा १ चैतमा भएको खेलमा नेपाल छ विकेटले विजयी भएको हो ।

अर्को प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई पराजित गरे नेपालको वान डे यात्रा पक्का हुनेछ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डस्ले हङकङलाई १७५ रनको विजय लक्ष्य दिएको छ ।

हङकङले नेदरल्याण्डस्लाई पराजित गरेको अवस्थामा भने वान डे मान्यता पाउन नेपालले पुनः हङकङलाई पराजित गर्नुपर्ने छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले २७.२ ओभरमा अलआउट हुँदै ११४ रन जोडेको थियो ।

पिएनजीलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने र दीपेन्द्रसिं ऐरीले चार/चार तथा सोमपाल कामी र करण केसीले एक/एक विकेट लिए । पिएनजीका लागि सि‍. अमिनीले सर्वाधिक १९ रनको योगदान दिएका थिए ।

सामान्य लक्ष्य पछ्याएको नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले सबैभन्दा लामाे साझेदारी गरे । तीन छक्का र एक चौका प्रहार गरेका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाए ।

एक चौकाको मद्दतले आरिफ शेखले २६ र टीम नेपालका कप्तान पारस खड्काले एक छक्का र एक चौका सहित २० रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
© 2018 Deshko News