डेढ अर्बको बैंक घोटाला, १३ जना पक्राउ


 


काठमाडौं, चैत ३
बैंकिङ क्षेत्रमा मर्जर लहर चलेपछि नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेड र एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा जान सहमत भएका हुन् । एनसिसी बैंकको नेतृत्वमा जाने भएपछि एपेक्सका सञ्चालक, व्यवस्थापक र कर्मचारीले कर्जाको खोलो बगाउन थाले ।

यसबीचमा उनीहरूले नक्कली ऋणी खडा गर्ने, कमसल धितोमा अत्यधिक लगानी गर्ने, साक्षी पनि नराखी ऋण प्रवाह गर्ने, एकै दिन सम्पूर्ण प्रक्रिया पूरा गर्नेलगायतका अनियमितता गरे । नयाँ पत्रिकामा खबर छ । ११ मंसिर ०७२ मा एनसिसी र एपेक्स मर्जरमा जाने सम्झौता भएको थियो ।

१७ पुस ०७३ मा एकीकृत कारोबार सुरु गर्नुअघिसम्म एपेक्सले २ अर्ब ३ करोड ७४ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक छ । तर, यसमध्ये अनियमित रूपमा जारी गरिएको १ अर्ब ५० करोड ९६ लाख लाख ३३ हजार ९ सय ८४ रुपैयाँ बैंकलाई नोक्सानी भएको छ ।

मर्जर सम्झौतापछि कुनै पनि बैंकले ५० लाखभन्दा बढीको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी दिनुपर्ने हुन्छ । तर, एपेक्सले करिब १ सय ५० वटा फाइलमार्फत प्रतिकारोबार ५० लाख नकटाई कर्जा प्रवाह ग¥यो र त्यसको कुनै पनि जानकारी मर्जर समितिलाई दिएन ।

१७ पुस ०७३ मा एपेक्ससँगै इन्टरनेसनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक पनि एनसिसीमा मर्ज भएका थिए । मर्जरअघि एपेक्समा भएको खराब कर्जाबारे जानकारी नभएको एनसिसी बैंकको भनाइ छ ।

एकीकृत कारोबार सुरु भएपछि एनसिसी बैंकले माघमा दोस्रो त्रैमासिकको वित्तीय विवरण बनाउन सुरु गर्दा एपेक्सको ‘फर्जरी’ खुल्न थाल्यो ।

एनसिसीले गुहारेपछि राष्ट्र बैंकले टोली पठाएर १ सय ७० फाइलको अनुसन्धान ग(यो । त्यसमध्ये करिब १ सय ३० फाइलबाट ठगी गरिएको थियो ।

ठगीमा एपेक्सका सञ्चालकदेखि व्यवस्थापन र तल्लो तहका कर्मचारीसम्मको संलग्नता रहेको पाइएको छ । ठगी आरोपमा प्रहरीले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णंराज भण्डारी र मधुवनलाल श्रेष्ठ छन् ।

त्यस्तै, एपेक्सका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर न्यौपाने र कर्जा अधिकृत मोहन खरेल छन् । प्रहरीले उनीहरूलाई सानेपा, जोरपाटी, कपन, कमलादी र बागबजारबाट पक्राउ गरेको हो ।

बैंक घोटालाको अनुसन्धान सुरु भएको करिब एक वर्षपछि नेपाल राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा १० दिनअघि जाहेरी दिएको थियो । डिएसपी श्याम ओलियाले भने, ‘यसबीचमा हामीले गम्भीर अनुसन्धान गर्यो ।

 

प्रकाशित मिति: ३ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्