प्रथम खोटाङ आइडल बने तेजकुमार


 


खोटाङ, चैत ४

सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् ।

गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् ।

पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो ।

विजेता राईलाई दिक्तेलस्थित इटिसी मोबाइल सेन्टरले रु २१ हजार मूल्य बराबरको मोटोरोला मोबाइल प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा छात्रवृत्तिमा कक्षा ९ मा अध्ययनरत राई केपिलासगढी गाउँपालिका–५, सप्तेश्वरका हुन् ।

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आइडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो, सुमन राई चौथो र दीपा राई पाँचौँ भएका छन् ।

प्रतियोगितामा दोस्रो हुनेले नगद रु २४ हजार ५७४ का साथमा तीन महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद रु १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीद्वारा आयोजित रियालिटी शोमा चौथो हुनेलाई रु दुई हजार ७४ नगद, एउटा गीत रेकर्डिङ र प्रमाणपत्र, पाँचौँ हुनेलाई व्यक्तिगततर्फबाट नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । गत मंसिर २३ गतेबाट शुरु प्रतियोगितामा जिल्लाका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

दिक्तेलस्थित सरस्वती माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र संगीतकार भिमसेना राईले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै बेजोड सांगीतिक प्रस्तुति रहेको थियो ।

राति अबेरसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट आठमा पर्न सफल गायक उल्सन श्रेष्ठ, गायक रेवत राईलगायतले दर्शकलाई नचाएका थिए । रासस

प्रकाशित मिति: ४ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्