नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी सकियो


 


पोखरा, चैत ५

नेपाली लोकसाहित्य समाजबाटै हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा पोखरामा आयोजित दुईदिने नेपाली लोक साहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी आइतबार यहाँ सम्पन्न भयो ।

समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने काम गर्ने भए पनि पछिल्लो समयमा लोप हुँदै गएको वास्तविकतामा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा नेपालका विद्वानका साथै अमेरिका, भुटान, दार्जलिङ, सिक्किम, आसाम, भारत र बंगलादेशका नेपाली लोकसाहित्य विषयका अनुसन्धाताले २१ वटा कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रम संयोजक प्रा।डा। कुशुमाकर न्यौपानेले जानकारी दिनुभयो ।

गोष्ठीमा कार्यपत्रका साथै एक सत्रमा विभिन्न देशमा नेपाली भाषाको स्थिति सम्बन्धमा छलफल गरिएको थियो । गोष्ठीको शनिबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले उद्घाटन गर्नुभएको थियो ।

नेपाली केन्द्रीय विभाग पृथ्वीनारायण क्याम्पसका प्रमुख सह प्रा कृष्णप्रसाद पौडेलले गोष्ठीका क्रममा स्वदेशी एवम् विदेशी विद्वानबीच गरिएको लोकसाहित्यका विभिन्न विधामा गरिएको छलफलले नेपाली लोकसाहित्यको विकासमा महत्वपूर्ण सहयोग पुर्याएको विश्वास व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: ५ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्