प्रदेश ५ मा मन्त्रिपषिद् विस्तार, यस्ता छन् आज मन्त्री भएका अनुहार


 


बुटवल, ५ चैत
प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आज तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रदेश नं ५ मा मन्त्रिमण्डलमा छ जना छन् । गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शङ्कर पोखरेलले सोही दिन नेकपा (माओवादी केन्द्र)का कुलप्रसाद केसी र नेकपा (एमाले) कावैजनाथ चौधरीलाई समावेश गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

मन्त्रीमा आज नियुक्त हुनेमा एमालेबाट रुपन्देहीका प्रदेशसभा सदस्य लीला गिरी (उद्योग, पर्यटन, वन, वातावरण र जलवायु) र बाँकेका आरती पौडेल (भूमि व्यवस्थापन, कृषि तथा सहकारी) तथा माओवादी केन्द्रबाट गुल्मीकासुदर्शन बराल (सामाजिक विकास) हुनुहन्छ ।

नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त मन्त्रीले शपथलगत्तै आजै पदबहाली गर्नुभयो ।

उत्पादकत्व वृद्धि गरिने

पदबहाली गर्दै उद्योगमन्त्री गिरीले औद्योगिकीकरण र पर्यटन प्रवद्र्धनसँगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व वृद्धि गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

उहाँले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व वृद्धि एवं स्वच्छ वातावरणका कार्यक्रम समेटिने गरी कार्ययोजना बनाउने निर्णय गर्नुभएको छ ।

सो मन्त्रालयबाट सम्पादन हुने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सरोकार भएकाहरुको संलग्नता र सहभागिता हुने गरी मन्त्रालयका उपसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।

मन्त्री गिरीले सुशासन नै पहिलो र अनिवार्य शर्त भएकाले सोहीअनुरुप काम गर्न निर्देशन दिनुभयो ।

सामाजिक विकासमन्त्री बरालले पदवहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दैै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सर्वसुलभ बनाइने बताउनुभयो ।

गाविस अध्यक्षदेखि मन्त्रीसम्म…

उद्योगमन्त्री गिरी रुपन्देही क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

गुल्मीबाट २०३४ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ मा बसाइँ सरेर आउनुभएका राजनीतिक र सामाजिक काममा सक्रिय मन्त्री गिरी यसअघि साविक शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यवस्थाको पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्थ्यो ।

विसं २०२२ मा १२ वर्षको उमेरमै राजनीतिक चेतना जागेर जन्मस्थान गुल्मी रुरु गाउँपालिका (साविकको बम्घा गाविस) मा तत्कालीन पञ्चायतविरुद्ध शिक्षक सिद्धिनाथ ज्ञवालीसँगै आन्दोलनमा सहभागी गिरी हाल एमाले केन्द्रीय कमिटी सदस्य र रुपन्देही जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएको छ ।

लघुवित्त तथा शिक्षा क्षेत्रमा सक्रिय

भूमि व्यवस्थापनमन्त्री पौडेल २०४१ सालदेखि त्रिभुवन उमावि कोहलपुर (बाँके) मा अनेरास्ववियूको संगठित भई वामपन्थी आन्दोलनमा प्रवेश गर्नुभएको हो ।

त्यसपछि सामाजिक, शैक्षिक सेवाका साथै एमालेको राजनीतिमा निरन्तर सक्रिय हुँदा उहाँले अखिल नेपाल महिला संघको क्षेत्रदेखि प्रदेशसम्मको विभिन्न पदमा रही जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।

लद्युवित्त तथा शिक्षा क्षेत्रमा आबद्ध भई यसको विकासमा सक्रिय मन्त्री पौडेलको बाँकेको कोहलपुर क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका छ । उहाँ प्रदेशसभामा बाँके जिल्ला क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष चुनाव जित्ने एमालेतर्फबाट एक मात्र महिला हुनुहुन्छ ।

अन्तरिम व्यवस्थापिका सदस्यदेखि प्रदेशमन्त्री

सामाजिक विकासमन्त्री बराल चन्द्रकोट गाउँपालिका–३, झारखर्क गुल्मीका स्थायी बासिन्दा हुनुहन्छ ।

विसं २०४५ देखि विद्यार्थीकालबाट राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएका बराल विसं २०५४ देखि तत्कालीन नेकपा (माओवादी) मा पूर्णकालीन बन्नुभयो ।

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य हुनुभएका मन्त्री बराल विसं २०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य र राज्य व्यवस्था समितिको सदस्य रहनुभएको थियो । उहाँ गुल्मी निर्वाचन क्षेत्र नं १ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति: ५ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्