इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या, फेला पर्यो सामूहिक चिहान


 


नयाँ दिल्ली, चैत ६

सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (आइएस)ले हत्या गरेको पुष्टि भएको जानकारी दिनुभएको हो ।

इराकको मोसुल सहरको उत्तरपश्चिम भागमा पर्ने बादुशमोमा नगरको दुर्गम क्षेत्रमा एक सामूहिक चिहान फेला परेको र उक्त चिहान तिनै भारतीय नागरिकको रहेको पुष्टि भएको उहाँले बताउनुभयो ।

गाडिएको अवस्थामा रहेका ३९ वटा शवको डिएनए परीक्षणबाट उनीहरु सन् २०१४ मा अपहरण गरी बेपत्ता बनाइएका भारतीय नागरिकको भएको स्वराजले संसद्मा जानकारी दिनुभएको छ ।

यद्यपी सोमबार संसदमा स्वराजले ३८ जनाको डिएनए नमूना परिक्षणबाट पुष्टि भएको र एक जनाको भने आंशिक मात्र मिलेको बताउनुभएको थियो ।

आइएस जिहादी समूहले स्न २०१४ को अक्टोबारमा इराकको मोसुल सहरबाट ती ३९ जना भारतीय नागरिकलाई अपरहण गरेका थिए ।

इराकमा अपहरणपछि उनीहरुको हत्या भएको अनुमान गरी सोही समयदेखि नै व्यापक मात्रामा खोजी कार्य गरिएको थियो । ती सवै भारतीय नागरिक उत्तरी प्रान्त पञ्जावका थिए ।

ती कामदार मोसुलमा रहेको एक निर्माणसम्बन्धी कम्पनीमा कार्यरत रहेका थिए । कार्यस्थलबाटै उनीहरुलाई आइएसले अपहरण गरेका थिए ।

अपहरणमा परेदेखि नै अपहरणकारीबाट भारतीय सरकारसँग फिरौतीका लागि कुनै माग नगरेको सरकारले जनाएको छ । रासस÷एएफपी

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्