धनगढीमा क्रिकेटको क्रेज


 


धनगढी, चैत १०

क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ ।

पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइ चले पनि पछिल्लो समय बढेको क्रिकेटको ‘क्रेज’ले सो भनालाई गलत सावित गर्दै क्रिकेट खेल्ने र हेर्ने दर्शक पनि बढाइदिएको छ । “चार दिवसीय वा पाँच दिवसीय क्रिकेट प्रतियोगिता हुने समयमा यस्तो धारणा समाजमा थियो”, पूर्वक्रिकेटर धरम खड्काले भन्नुभयो, “एक दिवसीय र २०÷२० खेल खेल्ने चलनसँगै यो धारणा अब पुरानो भइसकेको छ ।”
,
खड्काले अप्रत्यक्ष रुपमा भए पनि क्रिकेटको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले धनगढीको वनदेवी रोडमा सञ्चालन गर्नुभएको ‘द क्रिकेट क्लासिक होटेल’मा प्रवेश गर्दा त्यहाँका टेबल, क्याविन र सुत्ने कोठा क्रिकेटको अवधारणमा तयार पारिएको देख्न सकिन्छ ।

क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा खेलका प्रतियोगिता आयोजना हुने क्रम बढ्दै गएका छन् । हालै कैलालीको अत्तरियामा सर्वाधिक धनराशि पुरस्कार भएको महिला क्रिकेट प्रतियोगिता तथा क्लब र विद्यालयस्तरीय थुप्रै प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

कतिपय विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रतियोगितालाई छनोट गर्दै यसका लागि प्रशिक्षक राखेकाले आगामी दिनमा क्रिकेटको व्यावसायिक थलोसमेत धनगढी बन्ने सम्भावना बढेको छ ।

क्रिकेटको विकास र बिस्तारका लागि धनगढी र खास गरी प्रदेश नं ७ का बिभिन्न जिल्लामा एक दर्जन बढी क्रिकेट एकेडेमीसमेत सञ्चालनमा आइसकेको छ । खेल व्यावसायिक रुपमा अघि बढ्न सक्ने सम्भावना रहेको खेलप्रेमी चेतराज ओझा बताउनुहुन्छ ।

क्रिकेटप्रति बढेको आकर्षणसँगै टोलैपिच्छेका बालबालिका र विद्यालयका छात्रछात्रा फुर्सदको समयमा आफ्नो घर वरिपरिको खाली चौर, बाटो र खेतमा क्रिकेट खेल्न तम्सिएका देखिन्छन् । धनगढी नगरपरिषद्को बैठकले पनि दुई वर्षअघि धनगढीलाई क्रिकेटको शहरका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

प्रदेश नं ७ क्रिकेटको उर्वरभूमि 

क्रिकेटको उर्वरभूमि मानिने प्रदेश नं ७ ले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ ।

सो क्षेत्रले भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलीपनाथलगायत क्रिकेट खेलाडी जन्माइसकेको छ । यस्तै ‘अण्डर १९’ टोलीमा सहभागी हुने भीम सार्की, सन्दीप जोरा, सुबोध ऐरलगायत खेलाडी यसै प्रदेशका हुन् ।

डिपिएलको तयारी 

क्रिकेटको शहर धनगढीमा यही चैत १७ देखि शुरु हुन लागेको देशकै सर्वाधिक धनराशि पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)को तयारी हुँदैछ । सो प्रतियोगितामा भाग लिने सबै समूहमा खेलाडीको ‘अक्शन’ गर्ने काम पूरा भइसकेको छ भने मैदान तथा कालोपत्र तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

धनगढी उपमहानगरपालिका–३ मोहना नदी छेउको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ ‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत शुरु गरिएको डिपिएल क्रिकेटको यस वर्ष दोस्रो संस्करण हुँदैछ । “ड्रिम फाप्लामा पुग्ने सिंढी नै डिपिएल हो”, डिपिएलका आयोजक एवं धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले भन्नुभयो, “यसबाट फाप्ला मैदानलाई क्रिकेटको अन्तर्राष्ट्रिय मैदान बनाउन सरकारका निकायमा दवाव पुगेको महसुस भएको छ ।” एक वर्षअघि ‘ड्रिम फाप्ला’ अभियानको नेतृत्व गरेका शाही भन्नहुन्छ, “सबैको उत्साह देखेर हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, यो अभियान सफलतामा पुगिछाड्ने छ ।”

क्रिकेटका गतिविधि बढ्दै गए पनि यस क्षेत्रमा क्रिकेट खेल्न स्तरीय खेल मैदानको अभाव शुरुदेखि नै खड्किएको छ । डिपिएललगायत क्रिकेट गतिविधिले विशेष गरी नयाँ पुस्ता र व्यवसायीमा बेग्लै खाले उत्साह पनि देखिन थालेको स्थानीयवासी क्रिकेटप्रेमी बताउँछन् ।

‘ट्यालेन्ट हन्ट’बाट खेलाडी छनोट

डिपिएलमा स्थानीय खेलाडीलाई स्थान दिन आयोजकले प्रतियोगितामा भाग लिने प्रत्येक समूहमा एक÷एक जना स्थानीय खेलाडी सहभागी गराउनुपर्ने मान्यता राखेर हालै ‘ट्यालेन्ट हन्ट’(प्रतिभा छनोट) विधि अपनाएर खेलाडी छनोट गरेको छ । यस्तो छनोटबाट पहिलो पटक डिपिएलमा सहभागी हुनेछ टिममा छ स्थानीय खेलाडीले सहभागी हुन पाउने मौका पाएका छन् ।

‘ट्यालेन्ट हन्ट’ मार्फत खेलाडी छनोट गर्दा एक खेलाडीको बढीमा रु २५ हजारको बोली लाग्दा स्थानीय खेलाडीले पहिलो पटक आम्दानी गर्ने अवसर पनि पाएका छन् ।

डिपिएललाई आइसिसीको मान्यता 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यहाँ आयोजना हुन लागेको ‘रुस्लान धनगढी प्रिमियर लिग’(डिपिएल)को दोस्रो संस्करणलाई मान्यता दिएको छ । आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको नभई नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाइ हासिल गरेको छ ।

उक्त प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीको सहभागिता रहने जनाइएको छ ।

नेपालमा सर्वाधिक पुरस्कारको राशि भएको प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख, तेस्रो हुने टोलीले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउने जनाइएको छ ।

क्रिकेट इतिहासमा नेपालले एक दिवसीय मान्यता पाउन सफल भएपछि क्रिकेटको शहर धनगढीमा खुशीयालीस्वरुप केही दिनअघि खेलप्रेमीले विजय जुलूस र दीप प्रज्वलन गरेका थिए ।

प्रकाशित मिति: १० चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्