आज चैते दशैं र रामनवमी, शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो


 


काठमाडौं, चैत ११

आज चैते दशैं देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ । यस अवसरमा काठमाडौ सहित बिभिन्न ठाउँका शक्तिपीठ तथा मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

भगवतीका मन्दिरहरुमा पूजापाठका साथ पशुबलि चढाउने चलन पनि छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।

दुर्गापूजाको विशेष महत्व रहेको धर्मशास्त्रमा उल्लेख छ । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन । चैते दशैंको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ ।

यसैबीच आज राम नवमी पनि परेको छ । बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथी लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्षमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । आजकै दिन धनुषाको जनकपुरधामस्थित रामजानकी मन्दिरमा विशेष मेला लाग्ने गर्छ ।

प्रकाशित मिति: ११ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्