‘मिनी जहाज’ बनाउन लागेका चेपाङलाई सहयोग


 


चितवन, चैत ११

प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट (सानो हवाइजहाज) बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन् ।

पछिल्लो पटक चितवन युवा समूह दोहा कतारले संकलन गरेर पठाएको रु ८१ हजार शनिबार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत उनलाई उपलब्ध गराइएको छ । उनको जहाज बनाउने सपना साकार पार्न यसरी रकम सहयोग गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताउनुभयो ।

यसअघि राप्ती नगरपालिका–२ घर भएका २० वर्षीय चेपाङको मिनी एयर क्राफ्ट बनाउने सपना साकार पार्न भन्दै राप्ती नगरपालिकाले रु ८० हजार रकम दिने निर्णय गरेको नगरपालिकाकी प्रमुख प्रभा बरालले बताउनुभयो । उहाँकै पहलमा सरोज चेपाङ प्रतिभा संरक्षण समितिसमेत बनाइएको छ ।

यसअघि फोब्स कलेजले पनि उनको योजना सफल बनाउन भन्दै रु १० हजार सहयोग गरेको थियो । सोही क्षेत्रका स्थानीयवासीसमेत रहनुभएका प्रदेश नं ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले प्रदेशको मन्त्रिपरिषद् बैठकमा उनको विषय उठाउने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “उनका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ ।”

सरोजले फागुन ४ गते करिब ४० मिनेट आकाशमा प्यारामोटर उडाएर सफल परीक्षण गरेका थिए । करीव रु १० लाख भए सानो हवाइजहाज उडाएर देखाउने सरोजले बताउनुभयो ।

कार्यक्रममा सरोज चेपाङ प्रतिभा संरक्षण समितिका अध्यक्ष श्यामसुन्दर उप्रेतीले आफूहरु उनका लागि माध्यम मात्रै बनेको भन्दै आएको सबै पैसा उनको जहाज बनाउने काममा नै खर्च गरिने बताउनुभयो ।

यस्ता चेपाङको प्रतिभालाई अगाडि बढाउन सबैको सहयोग आवश्यक भएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव रामबाबु थापाको भनाइ छ । कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले यसअघि मिनी प्लेन निर्माणका लागि चार–पाँच लाख खर्च गरिसकेका छन् । रासस

प्रकाशित मिति: ११ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्