राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई


 


पोखरा, चैत १२

मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ ।

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहनुभएको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु २२ हजार २२२, ताम्रपत्र र दोसल्ला रहेको छ ।

कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका तीन दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक संग्रह हो, उहाँका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ती मुक्तक संग्रह प्रकाशित छन् भने पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो ।

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली र रत्नशम्शेर थापा सम्मानित भइसक्नुभएको छ । मञ्चद्वारा चैत २२ देखि २४ गतेसम्म पोखरामा आयोजना गरिने मुक्तक महोत्सव २०७४ अवसरमा उक्त पुरस्कार अर्पण गरिने आर्थिक उपसमिति संयोजक गौरी तमुले बताउनुभयो ।

सो महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक संग्रह विमोचन र नेपालका विभिन्न जिल्लाका अग्रज तथा नयाँ पुस्ताका ४० भन्दा बढी मुक्तककारका मुक्तक वाचन गरिने भएको छ । रासस

प्रकाशित मिति: १२ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्