भारतीय अर्धसैनिक बलको दादागिरी, अपहरित नेपाली ६ दिनपछि मुक्त !


 


धनगढी, चैत १२
भारतीय अर्ध सैनिक बल स्पेशल टास्क फोर्स एसटीएफबाट अपहरित एक नेपाली ६ दिनपछि अपहरणमुक्त भएका छन् ।

भारतको तिकुनियाबाट नियन्त्रणमा लिइएका पोखराका ६३ वर्षिय कुतवद्धिन मियालाई गौरीफन्टा नाकाबाट मुक्त गरेको हो । अपहरणपछि १२ लाख भारतीय रुपैया फिरौती माग गरेपनि उनलाई बन्धकमा राखी रकम असुलिरहेको कुरा बाहिर आएपछि एसटिएफको टोलीले नाटकीय ढंगले गुपचुप रुपमा नेपाली नागरिकलाई मुक्त गरेको छ।

पोखराबाट कामको सिलसिलामा चैत ५ गते कैलालीको टीकापुर पुगेका लेखनाथ महानगरपालिका– ४ चिप्लेढुंगाका ६३ वर्षिय कुतवद्धिन मियालाई टीकापुर आएकै दिन तिकुनियाबाट एसटीएफको टोलीले नियन्त्रणमा लिई परिवारजनाबाट फिरौती माग गरेको थियो ।

उनलाई भारतीय मुलका दुई जनाले तिकुनिया घुम्न लगेको र सोही दिन तिकुनियास्थित भारतीय प्रहरी चौकीबाट एसटिएफको टोलीले गाडीमा राखेर लगेको बताइएको छ ।

स्रोतका अनुसार उनलाई घुम्नका लागि टीकापुरबाट लैजाने भारतीय मुलका व्यक्तिहरुकै मिलेमतोमा एसटिएफले नियन्त्रणमा लिएको थियो ।
उनको अपहरण र मुक्तिपनि रहस्यमय छ । उनलाई शनिवार साँझ भारतीय प्रहरीले गौरीफन्टा नाकाको कोतवालीबाट भारतीय प्रहरीले मुक्त गरेको हो ।उनको रिहाईका लागि पोखराबाट आएका छोरा, छोरीहरु र ज्वाई फिरौती वाफतको रकम ल्याएर आएका थिए ।

त्यही फिरौतीको रकम बुझाउन गौरीफन्टा जान खोज्ने क्रममा ज्वाई रिजुद डे चैत ९ गते ८ लाख भारतीय रुपैया सहित एसएसवीद्धारा नाकामा पक्राउ परेपछि मिया अपहरणको घट्ना बाहिर आएको थियो ।

तिकुनियाबाट अपहरण गर्ने एसटिएफएको टीमले उनलाई फिरौती वाफतको रकम लिएर गौरीफन्टामा आउन भनेका थिए । एसटिएफएमको त्यही उर्दीपछि मियाका परिवारका सदस्य फिरौती वापफ माग गरिएको रकमको जोहो गरेर पोखराबाट धनगढी आएका थिए ।

अपहरण मुक्त भएपछि मिया सपरिवार आईतवार बिहान आफ्नो गृह नगर पोखरा फर्केका छन् । बुवा अपहरण मुक्त भएपछि छोरा छोरी र ज्वाई अत्यन्त खुशी भएपनि फेरि के हुने हो भन्ने डरले चुपचाप घर फर्केका छन् ।

 

प्रकाशित मिति: १२ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्