प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ


 


विराटनगर, १२ चैत

प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुँडामणि आचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेलले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

समारोहमा प्रदेश प्रमुख प्रा डा गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायत सुरक्षा निकायका प्रमुख, कानून व्यवसायी, प्राध्यापक र सञ्चारकर्मीको उपस्थिति थियो ।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई प्रदेश नं १ को मुख्य न्यायाधिवक्तामा नियुक्तिको सिफारिश गरिएको थियो ।

वरिष्ठ अधिवक्ता आचार्यले २०४४ सालदेखि जनता ल क्याम्पसमा प्राध्यापक रहनुभएको थियो ।

२०४६ सालमा अधिवक्ता हुनुभएका आचार्य नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ बारका अध्यक्षसमेत भइसक्नुभएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्