राजनीतिक योद्धा रामप्रसाद राईको सम्मान हुनुपर्छ : राष्ट्रपति 


 


काठमाडौं, चैत १७

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उहाँले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पु¥याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राईको जन्मस्थललाई सरकारले रामप्रसाद राई गाउँपालिका राखेर सम्मान दिएको उल्लेख गर्दै उहाँले स्वतन्त्र सेनानीका रुपमा रहेका राईको योगदानलाई सरकारले विशेष सम्मान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विसं २००७ को राजनीतिक परिवर्तन ल्याउन राईले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउने श्रेय राईलाई पनि जाने छ भन्नुभयो ।

उहाँले मुलुकका लागि योगदान गरेको व्यक्ति खोज अनुसन्धान गर्नुपर्ने भन्दै भन्नुभयो, “ मुलुकका लागि योगदान गरेका र ओझेलमा परेका व्यक्तिको साहित्य र लेखनबाट खोज अनुसन्धान हुनु राम्रो हो ।”

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विगतको सरकारले राईलाई राम्रोसँग चिन्न नसकेको भन्दै अबको संघीय लोकतान्त्रिक सरकारले चिन्ने बताउँदै उहाँले विसं २००७ मा पु¥याएको योगदानका आधारमा राज्यले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नयाँ नेपालमा राईजस्ता योद्धाको सम्मान गरिने भन्दै मुख्यमन्त्री राईले प्रदेश मन्त्रिपरिषद् बैठकले राईको जन्मथलोलाई नमूना गाउँ बनाउने निर्णय गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विसं २००७ को परिवर्तन ल्याउनका लागि रामप्रसाद राईले पूर्वबाट महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले कविता महोत्सवमा उत्कुष्टलाई पुरस्कार वितरण गर्नुभएको थियो । महोत्सवमा ऐश्वर्य श्रेष्ठ प्रथम, सीता भट्टराई द्वितीय र बलिराज खम्बु, सागर घिमिरे र धर्मानन्द भट्ट तृतीय हुनुभएको थियो ।

यसैगरी राष्ट्रपति भण्डारीलाई प्रतिष्ठानका अध्यक्ष तारादेवी राईले सम्मान गर्नुभएको थियो ।

यसैगरी सोही कार्यक्रममा राष्ट्रपति भण्डारीले मुख्यमन्त्री राई, नेकपा (एमाले)का नेता प्रदीप नेपाल, शिक्षासेवी उमेश श्रेष्ठ, साहित्यकार सचित राईलगायत १२ जनालाई सम्मान गर्नुभएको थियो ।

त्यस्तै प्रतिष्ठानले प्रा.डा. गोविन्दमान सिंह कार्की, समाजसेवी उमेशजंग थापा लगायतलाई पनि सम्मान गरेको थियो ।

रामप्रसाद राई विसं १९६५ फागुन ८ गते भोजपुरमा जन्मिनुभएको थियो । उहाँ विसं २००८ सालमा बेपत्ता हुनु भएको थियो । विभिन्न अध्ययनले उहाँको राज्यपक्षबाट हत्या भएको देखाएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्