ढोरपाटनमा दोस्रो शिकार याम, रमाउँदै विदेशी


 


बागलुङ, चैत १९
ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको थियो । आउँदो वैशाख १७ गते अन्तिम टोली शिकार गर्न जाने आरक्ष कार्यालयले जनाएको छ ।

विदेशी शिकारी सहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ । पहिलो टोली शिकारपछि फर्कने तयारीमा रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । “कोही शिकार गरिरहेका छन्, कोही आउने क्रममा छन्”, उहाँले भन्नुभयो ।

शिकार कम्पनी नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्र्याक एण्ड टेल्र्स प्रा.लि.मार्फत शिकारी ढोरपाटन पुगेका हुन् ।

वाइल्ड लाइफले दुई नाउर, एक झारल, हिमालयनले दुई नाउर, ग्लोबलले तीन नाउर, एक झारल र ट्र्याक एण्ड ट्रेल्र्सले तीन नाउर र तीन झारलको शिकार गराउनेछ ।

शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वे जस्ता देशबाट तालीम प्राप्त शिकारी ढोरपाटन आउने गरेका छन् । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ ‘ब्लग’मा शिकार खेलाउने गरिएको छ ।

शिकारीले रोजेको ‘ब्लग’मा लगेर कम्पनीले शिकार खेलाउने गरेका छन् । बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत बरालले बताउनुभयो । उहाँका अनुसार खर्चिलो र साहसी शिकारीले टाढाका ‘ब्लग’मा शिकार खेल्न रुचाउने गरेका छन् ।

नाउर शिकारको अधिकतम दर रु दुई लाख २१ हजार र झारलको रु एक लाख १५ हजार तोकिएको छ । शिकार कम्पनीले केही वर्षअघि नाउर शिकारको रु १३ लाख पाँच हजारसम्म बुझाएका थिए । आरक्षले शिकारबाट वार्षिक करीब रु एक करोड राजश्व उठाउने गरेको छ ।

बर्षेनी असोज–मंसिर र फागुन–वैशाख गरी दुई याममा शिकार खुल्ला गर्ने गरिएको छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको हो । लाखौँ रुपैयाँ खर्चेर हेलिकप्टरमार्फत शिकारी ढोरपाटन पुग्ने गरेका छन् । रासस

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्