गौरादह नगरपालिकाका कर्मचारीद्धारा सुरक्षाको माग


 


झापा, २० चैत ।  झापाको गौरादह नगरपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नो जीउ, ज्यानको सुरक्षा नभएको भन्दै सुरक्षा माग गरेका छन् ।
उनीहरुले नगरपालिका कार्यालयमा काम गर्ने क्रममा जीउ, ज्यान, सम्पत्तिको ग्यारेन्टी नभएको, कर्मचारीमाथि असभ्य व्यवहार भएको तथा कार्यालय समयमा काम गर्ने वातावरण नरहेको बताएका छन् ।

उनीहरुले आफूहरुको भौतिक सुरक्षासहित कार्यालयमा काम गर्ने वातावरण बनाइदिन माग गरेका हुन् ।

कर्मचारीहरुले चार बुंदे माग राखी मंगलबार नगरपालिकाका मेयर रोहितकुमार शाहलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

कर्मचारीहरुले ज्ञापन पत्र मार्फत कर्मचारीलाई ऐन, कानुन, विधि र प्रक्रिया विपरीत काममा लगाउने प्रवृतिको अन्त्य गर्नुपर्ने, कर्मचारीको जीउ, ज्यान, सम्पत्ति, सेवा तथा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, कार्यालयमा काम गर्न मिल्ने उचित वातावरणको व्यवस्था गर्नुपर्ने र कर्मचारीमाथि असभ्य व्यवहार गर्ने तथा कार्यालयमा तालाबन्दी गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

कर्मचारीहरुले आफूहरुको माग पूरा नभए सशक्त संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् । ज्ञापन पत्र प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले मेयर शाहलाई बुझाउनुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै मेयर शाहले कर्मचारीलाई कार्यालयमा काम गर्न सुरक्षित वातावरण बनाउन कुनै कसर बा“की नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनगुनासोलाई ऐन, कानुनअनुसार ढुक्क भएर काम गर्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्