नेपालको मन जित्ने प्रयासमा मोदी, ओलीलाई दिन सक्छन् यस्तो ‘सरप्राइज’


 


नयाँदिल्ली, चैत २३
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँदिल्ली ओर्लेको भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग विभिन्न चरणको छलफल र समारोहसहित तीन घण्टाभन्दा बढी कुराकानी गर्ने भएका छन् । मोदीको निमन्त्रणामा ओलीको यो भारतको दोस्रो राजकीय भ्रमण हो ।

संविधान जारी भएपछि भारतसँग सम्बन्ध बिग्रेको र अझै पनि सुमधुर हुन नसकेको अवस्थामा दुई प्रधानमन्त्रीबीच हुने लामो भलाकुसारीले सम्बन्ध सहज हुने अपेक्षा कूटनीतिक अधिकारीहरूको छ ।

पटकपटक गरेर उनले यसरी भेट्न लागेका हुन् । सबै छलफलमा यसअघि भएका सम्झौता कार्यान्वयनमा नै प्रधानमन्त्री ओलीले जोड दिने बताइसकेका छन् । कान्तिपुरमा खबर छ ।

तीन मन्त्री र ९ सांसदसहित ४५ सदस्यीय सरकारी र अन्य उद्यमी व्यवसायीहरूसहित नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट शुक्रबार बिहान १०÷४५ बजे प्रधानमन्त्री ओली तीनदिने भ्रमणका लागि दिल्ली ओर्लने छन् । निर्वाचनपछि शक्तिशाली प्रधानमन्त्रीका रूपमा दरिएका ओलीलाई मोदीले निकै महत्त्व दिएको विज्ञहरूले बताएका छन् ।

बिहान राष्ट्रपति भवनमा एकपटक र हैदराबाद हाउसमा दुईपटक मोदीले ओलीसँग भेट गर्नेछन् । बैठकपछि संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा पनि मोदी ओलीसँगै हुनेछन् । द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन नै यो भ्रमण केन्द्रित हुने दुवैतर्फबाट बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिने कार्यक्रम छ । सम्मान गारतअगावै मोदीले उनलाई स्वागत गर्ने अधिकारीहरूले बताएका छन् । उनले मोदीसँग छलफल गरेपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्रीलाई स्वागत गर्न इन्दिरा गान्धी विमानस्थलमा आउने भारतीय मन्त्रीको नाम खुलाइएको छैन । प्रधानमन्त्री मोदीले विमानस्थलमा कुनै ‘सरप्राइज’ दिन सक्ने अनुमान गरिएको छ ।

दिल्लीमा प्रधानमन्त्री ओली राष्ट्रपतिको पाहुनाका रूपमा बस्नेछन् । उनी विमानस्थलबाट सीधै राष्ट्रपति भवन जानेछन् । त्यसपछि भारतीय उद्योगी व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे छलफल गर्ने कार्यक्रमका लागि ताज प्यालेस होटलमा पुग्नेछन् ।

दिवाभोजसहितको उक्त अन्तरक्रियामा भारतीय व्यवसायी र प्रधानमन्त्रीबीच सवालजवाफ हुनेछ । त्यसपछि प्रधानमन्त्री ओलीले दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्नेछन् । उक्त भेटघाटका अवसरमा भारतमा बस्दै आएका नेपालीले सामना गर्नुपरेका समस्याहरू सम्बोधनका लागि प्रवासी नेपाली संगठनहरूले ओलीलाई ज्ञापनपत्र बुझाउनेछन् ।

त्यसै साँझ नेपाली दूतावासले होटल इम्पेरियलमा आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री सरिक हुनेछन् । रात्रिभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय सहभागी हुनेछन् ।

रात्रिभोजअघि प्रधानमन्त्रीलाई भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी र भाजपाका केही शीर्ष नेताले उनी बसेकै भवनमा भेटवार्ता गर्ने जानकारी दिइएको छ । तर यसको अन्तिम टुंगो अझै लागेको छैन । समय तलमाथि पर्न सक्ने अधिकारीहरूले बताए ।

शनिबार बिहान गार्ड अफ अनरपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने कार्यक्रम तय छ । प्रधानमन्त्री मोदीसँग उनको औपचारिक वार्ता हैदराबाद हाउसमा हुनेछ ।

मोदीसँग सुरुमा एक्लाएक्लै, सीमित अधिकारीसहित र पछि औपचारिक प्रतिनिधिमण्डलबीच गरेर तीन चरणमा वार्ता हुने कार्यक्रम छ । दुई देशबीच हुने सम्झौता तथा पत्र आदानप्रदानसम्बन्धी कार्यक्रम भने अझै तय भएको छैन ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्