ऐनकानून निर्माण र परिमार्जन गर्न आवश्यक : उपसभामुख तुम्बाहाम्फे


 


उर्लाबारी (मोरङ), २३ चैत । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संबिधानमा सुनिश्चित भएका अधिकारहरुलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानूनहरु परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुबतारा महिला फेडेरेशनले शुक्रवार उर्लाबारीमा आयोजना गरेको बधाई तथा सम्मान् कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले संबिधान जारी भईसकेपछि नेपालमा तिनै तहको निर्वाचन सम्पन्न भएको र तिनै तहका सरकारलाई जोड्नका लागि केही ऐनकानून निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो । महिलाहरुको आन्दोलनकै कारण राज्यको प्रमुख तहमा महिलाहरु पुग्न सफल भएको बताउनुहुँदै उहाँले अझै पनि धेरै आन्दोलन र अभियान चलाउन बाँकी रहेको छ भन्नुभयो ।

नेपालमा महिला आन्दोलनको प्रकृति फरक रहेको बताउँदै उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो “आन्दोलन भनेको महिलाहरुको अवस्था जस्तो छ त्यसलाई परिवर्तन गरेर अगाडी बढ्न उत्प्रेरित गर्ने एउटा अभियान हो ।” उहाँले मोरङ जिल्लामा महिला हिंसाको चपेटामा परेका महिलाहरुको पुर्नस्थापनाका लागि एउटा सुरक्षित आवाश गृह निर्माणको तयारी भईरहेको जानकारी दिनुभयो ।

उर्लाबारी नगरपालिका –५ निवासी तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृहनगर आउनुभएको हो । कार्यक्रममा अन्र्तरपार्टी महिला सञ्जाल मोरङकी सदस्य सिता कार्की, उर्लाबारी वडा नम्बर ४ का वडाध्यक्ष भानु पराजुली, स्थानीय समाजसेवी मुक्तिनाथ न्यौपाने, महिना नेतृ भिष्मा रेग्मी लगायतले उपसभामुखमा निर्वाचित हुनुभएकोमा तुम्बाहाम्फेलाई बधाई तथा सफल कार्यकालको शूभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष कल्पना निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्