पूर्वी मोरङका पत्रकारलाई सुचना प्रविधि तालिम


 


उर्लाबारी, २३ चैत्र । पूर्वी मोरङका पत्रकारहरुलाई सूचना प्रबिधिका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चार क्लब नेपालको आयोजनामा दुई दिने सूचना प्रविधि तालिम शुक्रवारदेखि सुरु भएको छ ।

उर्लाबारी नगरपालिकाको सहयोगमा सुरु भएको तालिमको उद्घाटन मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूले गर्नुभएको छ । प्रमुख अतिथिसमेत रहनुभएका सांसद् लिम्बूले पत्रकारहरुलाई कलम र डायरी वितरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । प्रदेश सांसद लिम्बूले पत्रकारहरुले सत्यतथ्य समाचार सम्प्रेषण गरी जनतालाई सू–सुचित गराउनु पर्नेमा जोडदिनुभयो । सिंहदरवारको अधिकार गाउँ–गाउँमा आएको उल्लेख गर्दे उहाँले जनप्रतिनिधिहरुले गर्ने कामका बारेमा संचार जगतले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

सूचना तथा प्रविधिको क्षेत्रमा पत्रकारहरु दक्ष हुनुपर्ने बताउँदै उहाँले समाजलाई सभ्य बनाउन सञ्चार जगतको महत्व्पुर्ण भूमिका रहनुपर्ने बताउनुभयो । कार्यक्रममा सञ्चार क्लब नेपाल उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराई लगायतले बोल्दै पत्रकारिता क्षेत्र मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य सचिब सन्तोष गौतमले राख्नुभएको थियो । भोलीसम्म सञ्चालन हुने उक्त तालिममा सुचना अभियन्ता विराटनगरका राजु श्रेष्ठ र दमकका समिप चुडालले प्रशिक्षण दिनुहुनेछ ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्