झापालाई हराउँदै आर्मी विराट गोल्डकपको फाइनलमा प्रवेश


 


विराटनगर, २४ चैत । विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

उपाधिका लागि आर्मीले आगामी सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्नु पर्ने छ । आर्मीको जितमा विमल पाण्डे नायक बने । ६८ औं मिनेटमा भरत खवासले प्रहार गरेको कर्नरलाई हेडमार्फत वायाँ बार च्याप्दै पाण्डेले पोष्टको दिशा दिंदा झापा दवावमा पर्यो । दर्शकको भारी समर्थन पाएको झापाले ४२ औं मिनेटमा गोरक्षक मनोज प्रधानका ठाउँमा किरण चेम्जोङलाई मैदानमा लगेपनि उनले आर्मीको प्रहार रोक्न सकेनन् ।

क्वाटरफाइनलमा आर्मी अर्को विभागिय टिम नेपाल पुलिस क्लब र झापा छिमेकी टिम रिजालको मोरङ–११ लाई पारजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए । विपक्षीको तुलनामा उत्कृष्ट प्रद्धर्शन गरे पनि तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको झापा सिजनमा आर्मीसंग तेस्रो हार बेहोर्न बाध्य भयो । झापाले यस अघि घरेलु मैदानमा आर्मीसंग तेस्रो झापा गोल्डकपको फाइनलमा सडन डेथमा पराजय बेहोरेको थियो । त्यस्तै सताक्षी गोल्डकपमा पनि सेमिफाइनलमा ३–० गोल अन्तरले आर्मीसंग झापा पछि परेको थियो । शनिबारको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने छ ।

 

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्