पूर्वसहकर्मी विप्लवलाई दिए गृहमन्त्री थापाले गम्भीर चेतावनी, ध्वंशमा उत्रिएको आरोप


 


चितवन, चैत २४

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारीले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।” विप्लव नेतृत्वको माओवादीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उहाँले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–“यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो । गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उहाँले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले वैशाखको दोस्रो सातासम्ममा दुई कम्युनिष्ट पार्टी एक हुने भन्दै यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने विचार व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले अब प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नआउने भन्दै नियमसंगत र वैज्ञानिक ढंगले काम हुने बताउनुभयो । रासस

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्