पानी कहिलेसम्म पर्छ, कहिलेबाट मौषममा सुधार हुन्छ ?


 


काठमाडौँ, १४ वैशाख
तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।

उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमी भेगमा पूर्ण बदली तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा पूर्ण बदली छ ।

पश्चिमको बादल क्रमशः पूर्वतर्फ सर्दै गएकाले साँझपख काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगमा बदली र मेघ गर्जनसहित वर्षा हुनेछ ।

केही स्थानमा भने हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिबेरअघि काठमाडौँका उत्तरी क्षेत्रमा मेघ गर्जन र असिनासहितको वर्षा भएको छ ।

मौसमी गतिविधि शनिबार र आइतबार पनि जारी रहने मौसमविद् रिमालको भनाइ छ । बिहीबारदेखि विकसित मौसमी प्रणालीले बदली गराउनाका साथै मेघ गर्जनसहित वर्षा गराएको हो । केही समय आकाश खुले पनि पुनः बदली र वर्षा गराउनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा २ मिलिमिटर वर्षा भएको छ । यस्तै ताप्लेजुङमा दुई र पोखरामा दुई मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्