मिक्लाजुङ गाउँपालिका खुल्ला दिशामुक्त र पूर्ण खोप युक्त


 


मोरङ, जेठ १७

मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुल्ला दिशामुक्त र पूर्ण खोप युक्त गाउँपालिका घोषणा गरिएको छ ।  गाउँपालिकाको प्रागणमा आज आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्व्य समिति मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुल्ला दिशामुक्त र पूर्ण खोप युक्त भएको घोषणा गर्नुभएको हो ।

मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गाबिस यसअघि नै खुल्ला दिशामुक्त भईसकेको र साविक टाँडी गाविसलाई मात्र घोषणा गर्न बाँकी रहेको थियो । साविक टाँडी गाबिस र हालको मिक्लाजुङ २,३ र ४ नम्बर वडाका ६५ घरधुरीमा शौँचालय निर्माण गरेसँगै गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । उक्त घोषणा कार्यक्रममा जिसस प्रमुख पोखरेलले सबैले चर्पीमै दिशा पिसाब गर्ने बानी बनाई गाउँलाई स्वच्छ सफा सुन्दर गाँउ, टोल बनाउन आग्रह गर्नुभयो ।

उहाँले खुल्ला दिशामुक्त घोषणालाई प्रभावकारी बनाउँन गाउँपालिकाको सार्वजनिक स्थान, बसपार्क, बिद्यालयहरुमा पनि शौचालय निर्माण गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा मिक्लाजुङ गाउँपालिकाले ६० वर्ष उमेर कटेका ४ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगदसहित बिदाई गरेको छ ।

महिला स्वास्थ्य स्वयम्सेविकाहरु विनाश्वरी राई, गायत्रा संजेल, तिलकुमारी आचार्य र लक्ष्मी दाहाललाई जनही ५० हजार नगदसहित बिदाई गरिएको हो । कार्यक्रममा खुल्ला दिशामुक्त र पूर्ण खोप युक्त गाउँपालिका घोषणाका लागि सहयोग पुर्याउने बिभिन्न ब्यक्तित्वहरुलाई प्रशंसा पत्र समेत गरिएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्