उर्लाबारी पूर्ण खोप सुनिश्चित घोषणा


 


उर्लाबारी,जेठ २९

मोरङको उर्लाबारी नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।  उर्लाबारी – ५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा एक कार्यक्रमको आयोजना गरी नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र नगरपालिकाका प्रमुख खड्ग फागोलाई हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथी पोखरेलले अब जिल्लाको सुन्दरहैचा नगरपालिकाको १ नम्बर वार्ड मात्र पूर्ण खोप सुनिश्चित हुन बाँकी रहेको बताउँदै त्यसलाई पनि घोषणा गरेर छिट्टै नै मोरङ जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी भईरहेको बताउनुभयो ।

उर्लाबारी नगरपालिका खुल्ला दिशामुक्त र पूर्ण खोप सुनिश्चित भईसकेकाले अब बालश्रम मुक्त, महिला हिंसा मुक्त, बालबिवाह मुक्त नगरपालिका पनि घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष एवम् नगरपालिकाका प्रमुख फागोले पूर्ण खोप सुनिश्चित घोषणा गरिएपनि यसको कार्यान्वयनका लागि सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

२३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले लिनु पर्ने सम्पूर्ण खोपहरु नगरपालिकामा जेठ २० गतेभित्र सुनिश्चित गरिएकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तोयानाथ घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्