अमेरिकाको भर्जिनियामा नेपालीको हत्या


 


भर्जिनिया, (अमेरिका) असार २१
अमेरिकाको भर्जिनियामा फेरि एक नेपालीको हत्या गरिएको छ । अमेरिकाको राजधानीसमेत रहेको भर्जिनियामा गोरखाको केराबारी स्थायी घर भएका ४० वर्षीय रेशम बजगाईंको लुटेराको समूहले हत्या गरेको हो ।

भर्जिनियाको हरन्डनस्थित फ्रेकलिन फार्मको सुनोको ग्यास स्टेशनमा काम गरिरहेको अवस्थामा बुधबार बिहान सवा १ बजे उनीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै ज्यान गएको फेयर फ्याक्स प्रहरीले जनाएको छ ।

श्रीमतीलाई डिभी परेपछि बजगाईं नौ महिनाअघि मात्रै नेपालबाट अमेरिका आएका थिए । गोरखाको केराबारीबाट भरतपुर सरेका बजगाईं पारिवारको अबस्था नेपालमा निकै नाजुक रहेको बताइएको छ ।

परिवारिक अवस्था कमजोर भएकै कारण बजगाई १० बर्षसम्म खाडी मुलुक कतारमा बसेर काम गरेका थिए । कतारबाट नेपाल फर्केको ३ बर्षपछि उनी गत बर्ष सेप्टेम्बर २०१७ मा अमेरिका आएका हुन् ।

प्रहरीले घटनामा संलग्न चार जनामध्ये ३ जनालाई पक्राउ गरेको छ । एनआरएन भर्जिनियाले मृतक परिवारलाई राहतका लागि गो फण्ड अकाण्टमार्फत रकम संकलन सुरु गरेको छ । अमेरिकामा नेपालीहरुको बारम्बर यस्ता घटना हुने गरेका छन् ।

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्