नेपालले आज पहिलो ऐतिहासिक एक दिवसीय खेल खेल्दै, नेदरल्यान्ड्सविरुद्ध भिड्ने


 


काठमाडौं, साउन १६
नेपालले आज आफ्नो पहिलो एक दिवसीय खेल खेल्दैछ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।

नेपालले गत मार्चमा जिम्बाब्वेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो । नेदरल्यान्ड्स पुगिसकेको नेपाली टोलीले घरेलु टोलीविरुद्ध दुई एक दिवसीय शृंखला खेल्ने तय भएको छ । नेपालले सुखद सुरुआतको योजना बनाएको छ ।

नेपालले लर्डस्मा एमसीसीविरुद्ध ६ ओभरको खेल खेलेको थियो । आईसीसीबाट टीट्वेन्टी खेलको मान्यतासमेत प्राप्त गरेको नेपालको नेदरल्यान्ड्स विरुद्धको खेल भने वर्षाका कारण अवरुद्ध बनेको थियो ।

यी दुई टोलीबीच आधिकारिक एक दिवसीय खेल पहिलोपटक हुन लागे पनि ५० ओभरको क्रिकेटमा भने यस अघिबाटै खेल्दै आइरहेका छन् । विगतमा ५० ओभरको क्रिकेटमा एकअर्काविरुद्ध भएको प्रतिस्पर्धाको नतिजाले भने नेदरल्यान्ड्सलाई बलियो देखाएको छ ।

५० ओभरको क्रिकेटमा नेपालले यसअघि नेदरल्यान्ड्ससँग पाँच खेल खेल्दा मात्र दुई खेलमा जित हात पारेको छ । बाँकी तीन खेलमा पराजय बेहोरेको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्