ओछ्यानबाटै गायक लामिछाने गरे ‘यो शहर’ सार्वजनिक


 


भक्तपुर, साउन २१

साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट सो कविता संग्रह विमोचन गरिएको हो ।

विगत तीन वर्षदेखि प्यारालाइसिस र अन्य रोगले ओछ्यानमै थलिएका साहित्यकार लामिछानेको सम्मानस्वरुप साहित्यकार र सञ्चारकर्मीको टोली उहाँकै घरमा पुगेर पुस्तकको विमोचन गरिएको हो ।

विमोचनपछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले गीत, संगीत र साहित्य कहिल्यै मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकममध्ये नगद रु १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गर्नुभयो ।
कार्यक्रममा लेखक न्यौपानेले उपचार नपाएर थलिएका गायक लामिछानेको सम्मानस्वरुप उहाँकै घरमा आएर आफ्नो पुस्तक विमोचन गरेको बताउँदै सरकारले उहाँको उपचारको लागि उचित व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

गायक लामिछानेले उचित स्वास्थ्योपचार पाएमा स्वास्थ्यमा सुधार आउने बताउँदै एउटा गायक, श्रष्टा र देशको गहनाको रुपमा रहेका गायक २४ सैँ घण्टा ओछ्यानमा बस्नु पर्दाको पीडा महसुस गर्न नसक्ने भन्दै उपचारको व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । रासस

प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्