क्रिकेट टोली स्वदेश फिर्ता


 


काठमाडौँ, साउन २१

नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए ।

पहिलो खेल कमजोर ब्याटिङ्का कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गरेको उनले बताए । नेपाली क्रिकेटको आगामी यात्रा एशिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

एसीसी एशिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । नेपाली टोली बेलायतको लड्समा त्रिकोणात्मक टी–२० शृङ्खला र नेदरल्याण्ड्समा दुई खेलको एकदिवसीय शृङ्खला खेलेर स्वदेश फर्किएको हो ।

नेदरल्याण्ड्स जानुअघि नेपाली टोलीले बेलायतको लड्समा आयोजक मेरिलेबोन क्रिकेट क्लब ९एमसिसी०सँग टि–२० खेलेको थियो । उक्त खेलमा नेपाल विजयी भएको थियो । नेदरल्याण्ड्ससँगको एकदिवसीय शृङ्खलामा पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा एक रनले विजयी भएको थियो । रासस

प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्