राजधानीमा घर भएका वडा सदस्य पनि अति गरिब, वडाध्यक्ष पनि गरिब सूचीमा


 


रुकुम, साउन २३
रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर ४ का वडा सदस्य जगतबहादुर खड्का अति गरिबको सूचीमा रहेको पाइएको छ ।

राजधानीमासमेत घर भएका उनको नाम अति गरिब घर परिवारको सूचीमा सूचीकृत भएको पाइएको हो । नयाँ पत्रिकामा खबर छ ।

तर, उनले मन्त्रालयबाट सूची आएपछि आफूले थाहा पाएको र गरिबको परिचयपत्र नलिने बताएका छन् । जिल्लामा उनी सम्पन्न परिवारमा गनिन्छन् । उनको मुसीकोट–४ सोलावाङमा पनि तीनतले ढुंगे घरसहित करोडौँको जमिन छ ।

मन्त्रालयले पठाएको नामावलीअनुसार सबैलाई परिचयपत्र दिन नसकिने मेयर देवीलाल गौतमले बताए । ‘कि मन्त्रालय नै आएर साँच्चिकैका गरिबको पहिचान गरोस्,’ उनले भने, ‘नभए हामीलाई जिम्मा देओस्, हामी दूधको दूध पानीको पानी छुट्याउँछौँ ।’

नगरपालिकामा २१ दशमलव ७० प्रतिशत घरपरिवार गरिब रहेको मन्त्रालयको तथ्यांक छ ।

यस्तै, प्रशस्त जग्गा भएका वडाध्यक्ष अति गरिब चौरजहारी नगरपालिका–७ का वडाध्यक्ष इन्द्रलाल शर्माको नाम अति गरिबको सूचीमा छ । उनका कोटजहारी र नार्जीमा दुईवटा घर छन् । जग्गाजमिन पनि प्रशस्त छ ।

दुई छोरा शिक्षक छन् भने अर्का एक नगरपालिकामा अमिन छन् । सूचीमा आफ्नो नाम कसरी पर्यो भन्ने थाहा नभएको उनले बताए । गरिबको सूचीमा धनीहरूको समेत नाम परेपछि नगरपालिकाले परिचयपत्र बाँड्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्