नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छ : अर्थमन्त्री


 


काठमाण्डौ, साउन २३

अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताउनुभएको छ ।

विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराउनुभयो । उहाँले नेपालले आर्थिक विकासको लागि लिएको रणनीतिको बारेमा जानकारी गराउँदै ‘‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध छ’’ भन्नुभयो ।

विश्व बैंकसँग आगामी पाँच वर्षे लगानीको ढाँचा पारित गर्न अनुरोध गर्दै अर्थमन्त्री डा खतिवडाले विश्व बैँकसँगको सहकार्यले नेपालको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच खतिवडाले विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरबीच पनि भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अङ्गीकार गरेका सङ्घीयता कार्यान्वयनका सन्दर्भमा राख्नुभएको जिज्ञासामा डा खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करीब ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभएको थियो ।

नेपालका आर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै उहाँले यसमा सरकार निजी क्षेत्रसँग मिलेर कार्य गर्न तत्पर रहेको बताउनुभयो । मन्त्री डा खतिवडाले सङ्घीयताको व्यवस्थापन र विकासको लागि आन्तरिक साधन र स्रोतमात्र पर्याप्त नहुने भएकाले विश्व बैंकसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको छ भन्नुभयो । रासस

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्