उर्लाबारीमा पनि मनाईयो आदिवासी दिवस


 


उर्लाबारी, साउन २४

२४ औं विश्व आदिवासी दिवसको अवसरमा आज मोरङको उर्लाबारीमा बृहत कार्यक्रम आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति उर्लाबारीद्वारा स्थानीय पूर्वाञ्चाल बौद्ध गुम्बामा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आदिवासी जनजातिको भाषा, लिपी, संस्कार र संस्कृति संरक्षण र सम्बद्र्धनका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । आदिवासी जनजातिको संस्कृतिको प्रचार प्रसार गर्न सके पर्यटकलाई आकर्षित गरी आर्थिक बृद्धि गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालका हरेक राजनीतिक परिवर्तनमा आदिवासी जनजातिको योगदान रहेको उल्लेख गर्दैै फागोले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा आदिवासी जनजातिको पहूँच स्थापित गर्नुपर्ने बताउनुभयो । फागोले नगरपालिकाको हरेक कार्यक्रममा आदिवासी जनजाति, मधेशी, मुश्लिम, महिला, दलीत र अल्पसंख्यकको सहभागितामा जोड दिएको बताउनुभयो ।

समितिका अध्यक्ष पदम धिमाल ‘पात्रे’ को अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी–५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, किरात याक्थुङ चुम्लुङका सुर्यमान सेरेङ, नेपाल तामाङ घेदुङका रुद्रबहादुर तामाङ, धिमाल जाती विकास केन्द्रका मात्रृका धिमाल, सन्थाल समाजका बुद्धिलाल सोरेन, किरात राई यायोख्खाका रामकुमार राई, आदिवासी नेता जय पाख्रिन, सीता राईलगायतले आदिवासी जनजातिको हकअधिकारलाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । कार्यक्रममा लिम्बुको च्याबु्रङ, नेवारको लाखे र लाठी, तामाङको डम्फु, राईको चण्डी, धिमाल नाच र सन्थाल नाच समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २४ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्