गुन्डा नाइके गणेश लामा दोषी ठहर


 


काठमाडौं, साउन २५
गुन्डागर्दीलगायत आपराधिक गतिविधिबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतले गुन्डा नाइके गणेश लामालाई दोषी ठहर गरेको छ ।

उनले आपराधिक गतिविधिबाट १ करोड ४० लाख ५० हजार बराबर अवैध सम्पत्ति कमाएको ठहर गर्दै विशेष अदालतले एक वर्ष कैद र बिगो बराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ ।

अदालतले अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहरयाइएका लामा पहिलो गुन्डा नाइके हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर वागचन्दको संयुक्त इजलासले बिहीबार लामालाई दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले गुन्डागर्दी र आपराधिक गतिविधिबाट लामाले २७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ ६० पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो । लामाले सम्पत्ति नातेदारको नाममा समेत राखेको अभियोग थियो ।

सम्पत्ति शुद्धीकरण नियमावली २०६४ लागू हुनुपूर्व लामाले आर्जन गरेको सम्पत्ति यस मुद्दामा समेट्न नमिल्ने देखिएकाले १ करोड ४० लाख ५० हजार बिगोसम्म अभियोग दाबी बमोजिमको कसुर पुष्टि भएकाले बिगोबराबर सम्पत्ति जफत हुने फैसला भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा विभागले २०७० साल जेठ ५ मा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्