टेम्केमैयुङ गाउँपालिकाको विकासका लागि राजधानीमा भेला


 


काठमाण्डौं, साउन २६
भोजपुरको टेम्केमैयुङ गाउँपालिका जन्म भइ राजधानीमा बसोबास गरिरहेकाहरुलाई आज गाउँपालिकाले काठमाण्डौंमा भेला गरेर गाउँपालिकाको दीर्घकालीन विकासका लागि रणनीति बनाउन छलफल तथा अन्तरक्रिया गरेको छ ।

गाउँलाई सम्वृद्ध बनाउने भनिएपनि स्पष्ट खाका र कार्ययोजनाको अभावमा आफूहरु अलमलमा परेको भन्दै विभिन्न क्षेत्रका विज्ञताहरुको सुझावको आधारमा गाउँपालिकाको विकासमा अघि बढ्न भेलाको आयोजना गरिएको गाउँपालिका प्रमुख धुर्वराज राईले बताए ।

‘आफू जन्मे हुर्केको ठाउँलाई सम्झेर त्यस ठाउँमा रहेका संभावनाहरुको खोजी गरि रणनीति तय गर्न सबैको महत्वपूर्ण सहयोगको आवश्यक छ ।’ प्रमुख राईले भने ।

कार्यक्रममा गत आर्थिक वर्ष २०७४७५ मा सडक, खानेपानी, विद्युत, पर्यटन लगायतका क्षेत्रमा गाउँपालिकाले गरेका काम तथा उपलब्धीहरु सार्वजनिक गरियो ।

गाउँपालिकाका प्रवक्ता सुनिल राईले भौगोलिकता, सडक संरचना, भवन तथा जनशक्ति जस्ता अभावले स्थानीय तहको काममा वाधा परिरहेको भन्दै सरोकार पक्षको ध्यानाकर्षण गराए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य मुकुन्द न्यौपानेले विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरुलाई एक ठाउँमा ल्याएर स्थानीय विकास योजनामा सल्लाह सुझाव र सहयोगको खोजी गर्नु राम्रो सुरुवात भएको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले टेम्केमैयुङमा पर्यटन, लघु जलविद्युत, कृषि, जडीबुटी लगायतको संभावनाहरु बढि रहेकाले यसैलाई केन्द्रमा राखि योजना तय गर्नुपर्ने बताए । उनीहरुले आफ्नो जन्मभुमिमा जनहितका काम गर्नु जत्तिको ठूलो धर्म अरु नरहेको बताएका छन् ।

कार्यक्रममा टेम्केमैयुङ गाउँपालिका जन्म भइ हाल काठमाण्डौं बसिरहेका पूर्व मन्त्री, सांसद, सुरक्षा निकायका पूर्व तथा वर्तमान अधिकारीहरु, वुद्धिजिवी, न्याय, कर्मचारी, निजिी क्षेत्र, राजनितीकर्मी लगायतका विशिष्ट व्यक्तिहरु उपस्थित थिए ।

प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्