प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


 


काठमाडौँ, साउन २७

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै उहाँले सरकार मर्यादित, स्वतन्त्र प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कैयौँ नेता, कार्यकर्ता सहिद भएकाले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने स्पष्ट पार्नुभयो ।

माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त रु” प्रधानमन्त्री ओलीको प्रश्न गर्नुभयो– “अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने रु”

“नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार हनन हुने कुरा कल्पनासम्म हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस्ता कुरा मिडियाले बुझ्नु पर्छ ।”

प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने उल्लेख गर्नुभयो । केही सञ्चारमाध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकामा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले लेखिएका विषय २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । रासस

प्रकाशित मिति: २७ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्